तर के कवि शब्द अनुरुप अभिनय र वाचनमा उत्रिन सकेन भने कवि रहन्न त ? सवालहरु भोलि आउलान् । समस्या पनि हुनसक्ला तर समाधान  पनि छ । यत्रो कार्यक्रमका योजनाकार बिना समाधान पक्कै उत्रिनुभएको छैन।

 

डिजी शर्मा (युएई)

यतिबेला मलाई एउटै कुराले खुसी दिइरहेको छ, त्यो के भन्दा अहिले कविता र कविले चर्चा पाइरहेको छ द पोइट आइडलमार्फत । “यसमा तँ छैनस् त, कसरी खुसी भइस् ?” भन्नुहोला । सबै कुरामा आफू हुँदा मात्रै खुसी हुनु पर्छ भन्ने कहाँ छ र ? फेरि म नभए पनि, मेरो कविता नभए पनि कवितालाई प्रेम गर्ने केही प्रतिनिधि कवि र उहाँहरूका कविताले एउटा ठुलो मञ्चमा पाएको छ ।

कुनै कुरा कुन ठाउँमा छ भन्ने कुराले पनि ठुलो अर्थ र महत्त्व राख्छ । जस्तो बाटोमा भेटिने ढुङ्गा र मन्दिरमा भेटिने ढुङ्गालाई हेर्ने हाम्रो दृष्टिकोण कति फरक हुन्छ ? यो त मैले भन्न नपर्ला । बाटोमा भएको ढुङ्गाको पनि आफ्नै काम होला । आफ्नै महत्त्व होला । त्यसको उपयोगितामा प्रश्न उठाउन खोजेको होइन । तर हाम्रो दृष्टिकोण कसरी फरक पर्छ भन्ने उदाहरणका लागि मात्र हो कुरा भनेको हो ।  पोइट आउडलले कवितालाई हेर्ने आम दृष्टिकोणमा व्यापक परिवर्तन ल्यायो भनेर त म दाबी गर्दिनँ । तर ल्याउन सक्ने सम्भावना भने देखाइदिएको छ । कसरी ? भन्नुहोला, एउटा उदाहरण पेश गर्न मन लाग्यो ।

मेरो एउटा साथी छ युएईमा, जो मेरो गृह जिल्ला झापाकै हो । कुनै समय हामीले सँगै काम पनि गरियो । अहिले भने अलिक टाढा छौँ दूरीका हिसाबले ।  ७/८ वर्षको उसँगको चिनजानका आधारमा भन्नुपर्दा कवितामा खास रुची भएको मान्छे होइन ऊ । अरुको कविता मन पराउँछ, पराउँदैन म ग्यारेन्टी गर्न सक्दिनँ । तर कम्तिमा उसलाई मेरो कविता चाहिँ मन पर्दैन । अथवा भनौँ मैले कविता लेखेको उसलाई खासै मन पर्दैन । बरु उल्टो “कति कविता लेखेको के डि जि भाइ ? खुरुक्क बिहे गर के, यो कविताको ह्याङओभर आफैँ सकिन्छ, कि सन्यासी बन्ने योजना हो ?” भनेर बेलाबेला मजाक गरिरहन्थ्यो । मैले पनि उसको कुरालाई कहिल्यै सिरियस लिइन ।

मलाई कविता नलेख भन्ने त्यही साथीले अस्ति भर्खर आफ्नो फेसबुकको स्टोरीमा कवि मुनु अधिकारीको कविता सेयर गरेको देखेँ । कवि अधिकारीले पोइट आइडलको ७ औँ शृङ्खलामा वाचन गरेको “पछ्यौरी”  शीर्षकको कविताको केही अंश साथीले स्टोरीमा सेयर गरेको थियो । त्यो देखेर म दङ मात्र परिनँ, खुसी पनि लाग्यो, पोइट आइडलले कम्तिमा एउटा मान्छेलाई भए पनि कविता मन पर्ने बनायो भनेर । मैले पनि जिस्काउँदै उसको स्टोरीमै रिप्लाई गरेँ, “दाजु तपाईंलाई पनि कविता मन पर्न थालेको हो ?” ।  उसले हाँस्दै मेरो प्रश्नमा सहमति जनायो ।

यसको मतलब अब ऊ पनि कविता प्रेमी भएको छ । मेरो कविता उसलाई मन पर्ला नपर्ला त्यो आफ्नो ठाउँमा छ । तर कम्तिमा अब उसले मलाई कविता लेखेकोमा गाली गर्ने छैन । मेरो लागि खुसीको कुरा यही हुनेछ । किनभने मलाई नजिकबाट चिन्नेहरुले मैले कविता लेखेको खासै मन पराउँदैनन्  । मेरो कविता कसैले मन पराइदिओस् भन्दा पनि कविता लेखेकोमा मलाई कसैले गाली नगरिदिए हुन्थ्यो जस्तो लाग्छ । तर अब मलाई हेर्ने  उनीहरूको दृष्टिकोणमा पोइट आइडलले थोरै भए पनि परिवर्तन गरिदिनेछ भन्ने मेरो विश्वास हो । यत्ति भए पुग्छ ।

अहिलेको समयमा कविता लेखेर मात्र पुग्दैन, आम पठाकमाझ पुर्याउन त्यसलाई सुन्दर ढङ्गले वाचन अथवा प्रस्तुत पनि गर्नु अवश्य छ  भन्ने कुरा त कवि नवराज पराजुलीसहित केही कविहरुले प्रमाणित गरिसक्नु भएको छ । यो प्रमाणलाई थप मलजल गर्ने काम पोइट आइडलले गरिरहेको छ। यत्ति  चाहिँ भन्न सकिन्छ । यत्ति भन्दा पाप नलाग्ला पक्कै।  यो कुरा त मैले पहिले पनि भनिसकेको थिएँ कि क्या हो ? फेरि पनि केही छैन । राम्रो कुरा भनिरहनु पर्छ । जसरी प्रेमिकालाई “तिमी राम्री छौ” भन्ने कुरा बारबार आभास दिलाइरहनु पर्छ । नत्र मायामा शंका गर्न थाल्छे ।

नेपालको सुदूरपश्चिमदेखि सुदूरपूर्व, उता भारतको दार्जीलिङ र सिक्किमसम्मका कविहरुलाई एउटै मञ्चमा देख्न पाउनु आइडलको सुन्दर पक्ष हो । यसले कविता लेखन र प्रस्तुतिको फरक फरक स्वाद चखाइरहेको छ । हिजोका दिनमा पोइट आइडलप्रति सामाजिक सञ्जालमा जुन किसिमका नकारात्मक टिप्पणीहरु आउने गर्थे, त्यो अलिक कम भएको हो कि ? भन्ने लागिरहेको छ । आलोचना नै आए पनि अलिक घुमाउरो पारामा आएको देखिन्छ । त्यति मात्र होइन, आलोचना गर्ने विषयमा पनि केही फरक आएको हो कि भन्ने लाग्छ ।

हिजोका दिनमा कविताको गुणस्तरलाई लिएर आलोचना देखिएका थिए भने अहिले आएर यसको प्राविधिक पक्षमाथि प्रश्न उठाएको देखियो । रमाइलो कुरा त के छ भने आइडलको खरो रुपमा आलोचना गर्नेहरुले पनि अहिले आइडलको प्रतिस्पर्धामा रहेका आफ्ना साथीलाई भोट गरेर जिताइ दिन अनुरोध गर्दै सामाजिक सञ्जालमा अपिल गरेको देखियो  । त्यसमा पनि केहीले त फलानोलाई भोट गरेँ भनेर सार्वजनिक रुपमै भन्न भ्याएका छन । विरोधका बाबजुद पनि आइडलको भोटिङ सिस्टममा सहभागी हुनु आफैँमा रमाइलो कुरा हो । यसलाई सकारात्मक रुपमै लिन पर्छ ।  विरोधका लागि विरोध मात्र गर्नेहरूले सधैँ विरोध गरिरहन पनि कहाँ सक्छन र ?

यो आलेख तयार पार्दासम्म पोइट आइडलको १० औँ एपिसोड सम्पन्न भइसकेको छ  । नक-आउट चरण सुरु भएसँगै रोल्पाका कवि युग सर्वनाम आइडलबाट बाहिरिनु भएको छ । योसँगै यो सिजनका लागि उहाँको यात्रा टुङ्गिएको छ आइडलमा । “अर्को सिजन पनि आउँछ र ?” भन्नुहोला । के थाहा ? आउँदैन भनेर ठोकिवा पनि त गर्न सकिन्न । गत बिहीबार ९ औँ एपिसोड प्रसारण भएसँगै आइडलको भोटिङ राउण्डबाट बाहिरिने उहाँ पहिलो कवि बन्नुभएको छ । कवि सर्वनाम समूह A मा हुनुहुन्थ्यो । तर बुधबार उहाँले फेसबुकमा राखेको एउटा स्टाटसले  उहाँ आइडलबाट बाहिरिनु हुँदैछ भन्ने सङ्केत मैले पाइसकेको थिएँ ।

टेलिभिजनमा कार्यक्रम प्रसारण हुनुभन्दा एक दिनअघि नै आफ्नो फोटोसहित राखिएको उहाँको उक्त स्टाटसले यही सङ्केत गरिरहेको थियो । कम्तिमा मलाई त्यो लाग्यो । “भिड कम देख्नु हुन्छ, जब तपाईं भिडभन्दा टाढा हुनुहुन्छ । भिड हेर्न भिडमै आउनुस्, अनि बल्ल महसुस हुन्छ – भिड कति भयङ्कर रहेछ ।” उहाँको स्टाटस यही हो ।  त्यसकारण आगामी दिनमा प्रतिस्पर्धामा रहनु भएका कविहरुले यो कुरामा ध्यान दिने पो हो कि ? भन्ने लाग्छ । यसरी सार्वजनिक रुपमा रहस्य खोल्ने काम गर्दा दर्शकको कार्यक्रमप्रतिको उत्सुकतामा कमि आउन सक्छ भन्ने मेरो बुझाइ छ । किन भने आइडलको ०९ औँ शृङ्खला प्रसारण हुँदै गर्दा कवि युग सर्वनाम आउट हुँदैछन भन्ने कुरा अनुमान लाउन मलाई गाह्रो परेन । किन भने अघिल्लो दिन मैले उहाँको उक्त स्टाटस पढिसकेको थिएँ । यो मेरो सुझाव मात्र हो है फेरि ।

अब हरेक हप्ता आइडलको मञ्चबाट बाहिरिने कविलाई साहित्यपोस्टको तर्फबाट केही पुस्तक उपहार स्वरुप प्रदान गरिनेछ । कवि सर्वनामलाई साहित्यपोस्टको तर्फबाट ५० ओटा पुस्तक प्रदान गरिएको थियो । त्यसमा किताब यात्रा डटकमको तर्फबाट पनि उपहार प्रदान गरिएको थियो ।

यसका साथै आइडलबाट बाहिरिने कविसँग साहित्यपोस्टले काठमाडौँबाट विशेष अन्तर्वार्ता लिनेछ । साथै यता युएईबाट पनि  साहित्यपोस्टको  फेसबुक पेजमार्फत हरेक आइतबार नेपाली समय राती ८ बजेदेखि बेसीमा एक घण्टा “द पोइट आइडल” विशेष लाइभ कार्यक्रम प्रसारण गरिने कार्यक्रम संयोजक तथा कवि/चित्रकार जीवित खड्का मगरले बताउनु भयो । जसमा कार्यक्रमबाट बाहिरिनु भएका तिनै कविसँग कुराकानी गरिनेछ । साथै उहाँका कविताहरु पनि  सुन्नेछौँ ।

हरेक कुरालाई हेर्ने सबैको नजरीया एउटै हुँदैन । त्यसकारण पनि हामीले पोइट आइडलका बारेमा विभिन्न कोणबाट रिपोर्टिङ गरिरहेका छौँ । आखिर कस-कसले कसरी यसलाई हेरिरहेका छन् त ? भन्ने जिज्ञासा हामीलाई लाग्नु स्वभाविक हो । त्यसैले यो पटक हामीले केही गजलकारहरुको धारणा बुझ्ने कोसिस गरेका छौँ । मेरो चिनजानमा रहनु भएका र मेरो अनुरोध खेर जाँदैन भनेर मैले विश्वास गरेका ७ जना गजलकारहरुलाई आजको आलेखमा समेट्ने कोसिस गरेको छु । जसमा नेपालमा पहिलो पटक गजलमै विद्यावारिधी अर्था पिएचडी गर्ने पहिलो व्यक्ति डा. घनश्याम परिश्रमीदेखि अहिले चर्चाको शिखरमा रहन सफल गजलकार प्रदीप रोदनसम्म हुनुहुन्छ ।

यहाँ आएका प्रतिक्रिया उहाँहरूको हो । सबै सकारात्मक मात्र आउँछन् भन्ने छैन र नकारात्मकलाई समावेश गर्नुहुन्न भन्ने पनि होइन । त्यसो हुँदा पालैपालो म उहाँहरूको प्रतिक्रिया पस्किँदै जानेछु ।

१) डा. घनश्याम परिश्रमी (नवलपरासी)

डा. घनश्याम परिश्रमी

– मैले द पोइट आइडललाई खासै महत्त्वका साथ हेरेको छैन । संयाेगवश एक दुई पटक अचानक हेरेको छु । म यसबाट खासै प्रभावित हुन सकिनँ । कविताकाे उपहास गरेको जस्तो पाे लाग्यो । कवितालाई सस्तो बनाउनु हुँदैन भन्ने मेरो धारणा छ । साँच्चिकै कवितामा प्रतिस्पर्धात्मकता सिर्जना हुने खालका कार्यक्रम हुनुपर्छ भन्ने मेरो आग्रह छ ।

२) शीतल कादम्बिनी (काठमाडौँ)
शीतल कादम्बिनी

शीतल कादम्बिनी

– वास्तवमा  मलाई  पोएट आइडल हेर्ने साइत जुरेकै छैन । जति हेरेको छु राम्रो लागेको छ। उत्पला क्याफेमा गएर सहभागी भाइ बहिनीहरुसँग भेटघाट गरी  आफ्ना कुरा राख्ने  र आफूले  जानेका केही  सैद्धान्तिक  कुराहरू उनीहरूलाई सिकाउने  अवसर प्राप्त भयो । त्यसको लागि  आयोजक टिम र आदरणीय कवि विप्लव प्रतीकप्रति हार्दिक आभार प्रकट गर्दछु । यो एकदम राम्रो सुरुवात हो । यो अभियानबाट  धेरै भन्दा धेरै कविहरु जन्मिनेछन भन्ने सोचेको छु।  यो अभीष्ट  कार्यका लागि  पोएट आइडलका आयोजकलाई धन्यवाद । कविताहरु सुन झैँ खारिएर आउने छ्न्। कविता लेख्ने संस्कारको विकासमा ठुलो टेवा पुग्ने छ।

 

३) जे. सागर (युएई)

जे. सागर (युएई)

– सबै शृङ्खला हेर्न नपाए पनि ‘द पोएट आइडल’का केही भाग हेरेको छु । त्यसो त एकाथरिले साहित्य या सिर्जनाको कुनै प्रतिस्पर्धा र प्रतियोगिता हुनु हुँदैन भनेर यदाकदा विरोधका आवाज पनि  नउठाएका हैनन् । यद्यपि म भने यस प्रकारका प्रतिस्पर्धाको विपक्षमा छैन र यसलाई नराम्रो मान्दिन । म हरेक कुरा परिवर्तनशील छ र हुनुपर्छ भन्ने मान्यता राख्छु । साहित्यको प्रतिस्पर्धा हुनु हुँदैन भने सङ्गीत र कलाको पनि हुनु हुँदैनथ्यो । किन कि साहित्य, सङ्गीत, कला सबै सिर्जना नै हुन् । हरेक सर्जकलाई आफ्नो सिर्जना आफूलाई प्रिय लाग्नु स्वभाविक हो । तर यसलाई समाजको नजरबाट तौलिन नै  हुँदैन भन्नू चाहिँ सिर्जनाप्रति विश्वास नहुनु हो ।

काँचको पर्दामा कवितालाई अभिनयसहित प्रस्तुत गर्ने प्रयोग नेपालको हकमा नयाँ होला तर साहित्यको प्रतिस्पर्धा नै पहिलो पटक भएको भने पक्कै हैन । नेपालमा सयौँ साहित्यिक पुरस्कार कोष/गुठीले दिने पुरस्कार पनि प्रतिस्पर्धाकै माध्यमबाट छनोट गर्ने हो । द पोएट आइडलको विरोध गर्ने सर्जकहरु स्वयं विगतमा कुनै पुरस्कार दिने संस्थाको ढोकामा पुगेको पनि हामीले नदेखेका हैनौँ । फेरि यो प्रचलन नेपालमा मात्रै हैन । सबैभन्दा ठुलो पुरस्कार मानिने नोबेल साहित्य पुरस्कार पनि प्रतिस्पर्धा बाटै छनोट हुने हो । समग्रमा म सिर्जनाको प्रतिस्पर्धा हुनै हुन्न भन्ने मान्यता राख्दिन ।
द पोएट आइडलको हकमा मैले जे जति भाग हेरें सानातिना कमजोरी बाहेक त्यस्तो खोट लगाउनै पर्ने कुनै कमजोरी पाएको छैन । खड्किएको एउटा अभाव भनेको निर्णायक मण्डलमा छन्द कविताको रस र गहिराइ बुझ्ने पनि एक जना राखेको भए हुन्थ्यो भन्ने हो । रह्यो प्रस्तुतिका कुरा ,अवधारणा नै प्रतिस्पर्धाको भएपछि हरेकलाई अरुभन्दा पृथक देखिनुछ ,अब्बल देखिनुछ त्यसैले अलिकति नाटकीय रूप दिनु साह्रै अस्वाभाविक लाग्दैन ।
मलाई यो कार्यक्रममा मात्रै हैन जुनसुकै रियालिटी शो भनिने कार्यक्रमहरुमा मन नपर्ने एउटै कुरा भनेको पब्लिक भोटिङको खरिदबिक्री हो । यसले चाहिँ असली सर्जक/कलाकारलाई अन्याय हुन जान्छ यदी ऊसँग भोट खरिद गर्ने अर्थ छैन भने । प्रतिस्पर्धा हुनु नराम्रो हैन तर उत्कृष्टको चयन सम्बन्धित क्षेत्रका विज्ञले मुल्यांकन गरेर हुनुपर्छ भन्ने मेरो मान्यता हो । न कि घरबास उठाउने गरी पैसा खर्चेर या दुनियाँ हारगुहार गरेर भोट मागेर । खैर, आजको यो वैश्य युगमा म/हामी एकाधले भनेर र मन नपराएर पनि यो प्रचलन बन्द हुने हैन ।

त्यसबाहेक द पोएट आइडलसँग अन्य खासै केही गुनासो छैन र त्यति धेरै उत्साहित पनि छैन । उत्साहित यस अर्थमा छैन कि यसले नेपाली साहित्य जगतमा ठुलै हलचल मच्चाउला, यही कार्यक्रमकै कारणले नसोचेको उत्कृष्ट कवि/कविता जन्मिएलान् भन्ने मलाई लाग्दैन । यत्ति चाहिँ हुन्छ कि त्यो कार्यक्रमको आँगनसम्म पुगेर काँचको पर्दामा अनुहार देखाएका मध्ये केही थान अनुहारलाई अलि धेरैले चिन्छन् । केही मोटो रकम पुरस्कार पाउँछन् । अहिलेको चलचल्तिको भाषामा भाइरल या सेलिब्रेटी हुन्छन् । हुने यत्ति नै हो । यसले नेपाली साहित्यको इतिहासमै नयाँ शीराबाट नाम लेख्ला जस्तो लाग्दैन । तैपनि सधैं उपेक्षित र अनुत्पादक जस्तो मानिने नेपाली साहित्यको क्षेत्रमा केही फरक प्रयोग हुनु र केही हुँदै नहुनु भन्दा केही त हुनु मलाई सकारात्मक नै लागेको छ ।

 

४) लोकेन्द्र बञ्जारा (झापा)

लाेकेन्द्र बञ्जारा

– पोएट आइडल भनिएको छ, खासमा  यो  कविता आइडल मात्र  भनिएको होला भन्ने लाग्छ छ ।  गजल  आइडल  त  नहोला यो । कवितामा सामान्य दिलचस्पी मात्र रहेको र आफूलाई कविता लेख्न नआउने  हुँदा मैले पोएट आइडललाई खासै महत्त्व  दिएको छैन ।  यसको  अर्थ  हेर्दिनँ, हेर्ने नै छुइन पनि होइन ।  पोजेटिभ नै  छु । गायन  तथा  अन्य  अनेक प्रतिभाको  आइडल  हुँदा  काव्यको पनि  गरिएको होला भन्ने लाग्छ । त्यसो हुँदा म त  जहिल्यै  सकारात्मक छु र अरु पनि भइरहुन् ।  सबैले  जितुन् । आयोजकले  त्यता पनि   सोचेका होलान्, कविता लेखेर पनि  रुन कसैले  नपरोस् ।

 

५) प्रदीप रोदन (गोरखा)

प्रदीप रोदन

सुरुमा म अलमलिएको थिएँ या पोइट आइडल ? थाहा भएन तर अहिले लाग्छ म अलमलिएको रहेछु। हेरिराखेको छु । म भित्रको साहित्य अनुरागले हेर्न खोज्नु स्वाभाविक नै भयो। हिजो के लाग्यो त्यो छोडेँ, आज भने खुसी र उत्सुकता दुबै लागिरहेको छ । अहो ! कविताको पनि  यति ठुलो शो ? कति विशाल हृदय होला, जसले यो परिकल्पना मात्र गरेन व्यबहारमा खतरा मोलेर उत्रियो।  सुरुमा मलाई पनि लाग्यो के यो कविताकै स्टेज हो त? लागेको कुरा लागिरहन्छ भन्ने हुँदैन । हिजो होइन लागेको थियो, आज हो लाग्दैछ, हेरौँ भोलि के लाग्छ । अनि एउटा डर पनि लागेको थियो सुरुमा, म त्यति कविता त जान्दिन तर मान्छु । एकजना साथीसँग कुरा पनि गरेको थिएँ । यत्रो अवसरलाई कवि तथा साहित्य प्रेमीहरुले जति सपोर्ट गर्नु पर्ने थियो गरिराखेका छैनन् कि ? यसो हो भने यो कार्यक्रम सदाका लागि सकिन्छ । यो सकिनु हुँदैन । साथी पनि म जस्तै नै यो  कार्यक्रमको पक्षमा र नैतिक समर्थनमा उभिनु भयो।

कविताको लागि, साहित्यको लागि र साहित्य प्रेमीको लागि नयाँपन सधैँ चुनौती हुन्छ । यो चुनौती थियो । कवितामा अभिनय र शब्दको भौतिक स्वरुप पनि दुबै यसमा मिसिनु कविताको लागि चुनौती र अवसर दुबै हुन सक्छ । तर अब त यसलाई अवसर नै हो भन्न सक्नु पर्छ । कुनै पनि विधा जनमानसमा पुग्न पाउनु पर्छ । मलाई अहिले गज्जब लागेको कुरा चाहिँ के भने सुन्दा नबुझ्नेले कविता बुझ्न नै नसक्ने समय सकियो नेपाली कविताको लागि । सुन्दा नबुझ्नेले हेरेर पनि केही बुझ्न सक्ने भए । हेरेर नबुझ्नेले सुनेर बुझ्ने भए । नबुझ्नेले पनि बुझ्ने गरि गरिएको (शब्द नबुझ्नेलाई म्युजिकले भाव बोध गराउने भयो । अभिनयले भाव बुझाउने भयो ) कवितालाई बुझाउन गरिएको यो प्रयोगलाई सम्मान गर्छु म ।

तर के कवि शब्द अनुरुप अभिनय र वाचनमा उत्रिन सकेन भने कवि रहन्न त ? सवालहरु भोलि आउलान् । समस्या पनि हुनसक्ला तर समाधान  पनि छ । यत्रो कार्यक्रमका योजनाकार बिना समाधान पक्कै उत्रिनुभएको छैन। युग चलोस् यो कार्यक्रम शुभकामना मेरो हृदयको । बाँच्दा लेखिने कवितामा लेखेर बाँच्ने परिपाटीको एक नयाँ सुरुवात भएको छ । बिस्तारै मन जित्दै गएको छ । यत्ति हो कविता र कवि दुबैलाई नै बचाउन सकियोस्। पोइट आइडलको सम्पूर्ण टिमलाई आभार । यस्ता कार्यक्रम र अवसर हुनुपर्छ । कमजोरीहरु होलान्, हुन्छन् सुधार्दै जाने हो ।  अर्को सिजन चल्यो भने यो कार्यक्रम नेपालको सबै भन्दा सुन्दर टेलिभिजन कार्यक्रम बन्नेछ र बनोस् शुभकामना ।

६) सङ्गीता थापा (मकवानपुर)

सङ्गीता थापा

– द पोइट आइडल अडिसन राउण्डदेखि नै भ्याएसम्म हेर्दै आइरहेको छु । मैले चिनेका धेरै कविहरु हुनुहुन्छ र नचिनेका र सुन्न नपाएका कविहरुलाई सुन्ने र बुझ्ने मौका पाएँ । समग्रमा कार्यक्रम राम्रो छ  ठिकै नै छ । कार्यक्रमले कविता लेखन र वाचन शैलीलाई भन्दा बढी पछिल्लो एपिसोडहरुमा अलिक अभिनयलाई जोड दिएको हो कि भन्ने लागेको हो । पर्फम त गर्ने नै हो तर कवितालाई ओझेलमा नपारीकन गर्दा राम्रो हुन्थ्यो कि ? सबैको होइन, केही कविहरुको पर्फम त्यस्तो देखिएको हो । मलाई मात्र त्यस्तो लागेको हुन पनि सक्छ ।  नेपाली साहित्यमा वा कविताको क्षेत्रमा यो कार्यक्रमले एक खालको तरङ्ग त ल्याई नै सकिसकेकोछ । तर अलिक काव्यिक भन्दा पनि कमर्सियल बजारमुखी मात्रै पो हुने हो कि ? भन्ने आशंका चाहिँ गर्ने ठाउँ छ । समग्रमा द पोएट आइडललाई एउटा सुन्दर प्ल्याटफर्मको रुपमा हेरेको छु ।

 

७) सुनिता तामाङ (झापा)

सुनिता तामाङ

– केही सेलेक्टेड कविहरुकाे प्रस्तुति र कविता सुन्न र हेर्नका लागि भएपनि “पाेइट आईडल ” हेर्दैछु बेला माैकामा ।
मेराे पहिलाे कुरा यही हाे भावना र विचारकाे प्रतिस्पर्धा हुँदैन । तर यसाे भनिरहँदा “द पाेइट आईडल” ले कविता लेखन र नेपाली साहित्यकाे ब्रान्डिङ गर्ने काम गरेकाे छ । ब्रान्डिङ यस अर्थमा कि कविकाे कविता सुन्ने र बुझ्ने कवि मात्र रहेनन्,  अब कविता सिङ्गाे समाजले सुन्छ र बुझ्छ । त्याे सहज बाटाे “द पाइट आइडल “ले अवलम्बन गरेकाे छ ।

हुन त याे एउटा अभ्यास हाे । एकदमै नाैलाे प्रयास भएकोले यसमा सहभागी कवि  र आयाेजकलाई एक खाले गम्भीर चुनाैति पनि छ । नयाँ पुस्ता नेपाली साहित्यमा आकर्षित हुने र कविता कर्मलाई पनि आफ्नाे रुचीमा समावेश गर्ने उत्साह विकास हुन्छ हाेला जस्ताे लाग्छ मलाई । कविताको ब्रान्डिङ र व्यावसायीकरणकाे हाेडमा कविता र कवित्वकाे आत्मा नमराेस् । सहभागीहरु प्रतिस्पर्धीकाे रुपमा भन्दा पनि कवि मात्र हुन र उनीहरुकाे कवित्वकाे कुशल मुल्यांकन हाेस् । सबैमा शुभकामना ।