डिजी शर्मा, युएई । “नाई आमा मलाई त्यही केटी चाहिन्छ” ६० को दशकमा यो गीत नसुन्ने सायदै कोही थियो होला । २०५९ सालमा बजारमा आएको यही एउटै गीतले सुनसरीका प्रकाश पौडेललाई गायकको रुपमा नेपाली साङ्गीतिक आकाशमा चिनाउन काफी भइदियो ।

२२ वर्ष भइसक्यो यो गीत निस्किएको । तर पनि गायक प्रकाश पौडेल भन्ने बित्तिकै प्राय:लाई याद हुने भनेको यही गीत हो । यस गीतमा गायक पौडेलकै शब्द र सङ्गीत रहेको छ । हुन त उहाँले त्यसपछि पनि थुप्रै गीत गाइसक्नुभएको छ । हालसम्म ५ दर्जन बेसी गीत गाइसकेको उहाँ बताउनु हुन्छ ।

नेपालमा बसेर गीत सङ्गीतमै लागिरहे पनि त्यसमा खास भविष्य नदेखेपछि गायक पौडेल वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१० मा युएई आउनुभएको थियो ।

युएईमा बसेर रोजगारीसँगै उहाँले गीत सङ्गीतलाई पनि निरन्तरता दिइरहनुभएको थियो ।  तत्कालीन सेन्चुरी बैँकको एक्सचेन्जमा कामदारको रुपमा उहाँ युएई आउनुभएको थियो । अहिले भने उहाँ प्रभु बैङ्कको युएई कन्ट्रीहेड हुनुहुन्छ ।

गायन र प्रवासको रोजगारीमै रमाइरहनुभएका गायक पौडेलले सन् २०१७ बाट भने आफ्नो जीवनलाई नयाँ दिशामा मोड्नुभयो । भारतमा रहेको “महर्षी कलेज अफ वैदिक एस्ट्रोलोजी” मा उहाँ भर्ना हुनु भयो ज्योतिष शास्त्र पढ्नको लागि । अनलाइनबाट पनि पढ्न सकिने सुविधा भएकोले उहाँले युएईमै बसेर सो कलेजबाट न्युमेरोलोजीमा डिप्लोमा ब्याचलर हुँदै मास्टर डिग्रीसम्मको पढाइ पूरा गर्नुभयो ।

हालसालै मात्र उहाँले सोही कलजेबाट न्युमेरोलोजीमा विद्यावारिधी पूरा गर्नुभएको छ । भारतमा एस्ट्रोलोजीका लागि महर्षी कलेजलाई प्रतिष्ठित मानिन्छ । अब भने गायक पौडेल, ज्योतिषी डा. प्रकाश पौडेल हुनुभएको छ ।  मानिसको सम्पूर्ण जिन्दगी नै नम्बरमा आधारित हुने भएकोले आफूले पनि ज्योतिष शास्त्रमा यसैलाई रोजेको बताउनु भयो ।

साहित्यपोस्टसँग कुराकानी गर्दै ज्योतिषी डा. पौडेलले बाल्यकालदेखिकै  ज्योतिष शास्त्र पढ्ने आफ्नो सोखलाई पूरा गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

ज्योतिष शास्त्र पनि विज्ञानसम्मत भएकोले यसलाई सोही ढङ्गले अगाडि बढाउन जरुरी रहेको उहाँले बताउनु भयो । यसलाई अङ्गाल्नेहरुले सही ढङ्गले व्याख्या गर्न  नजान्दा ज्योतिष शास्त्र समाजमा बदनाम हुँदैगएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले त्यसलाई थोरै भए पनि सुधार गर्न आफूले यसमा अध्यन गरेको बताउनु भयो । भोलिका दिनमा यसैमा आफूलाई पूर्णरूपमा समर्पित गर्ने उहाँको योजना रहेको छ ।

उहाँंले वास्तुशास्त्र, केपी नाडी ज्योतिष, रुद्राक्ष, तथा वैदिक ज्योतिषमा पनि मास्टर डिग्रीसम्मको पढाइ पूरा गर्नुभएको छ । अहिले पनि उहाँले “एस्ट्रो वास्तु” मा रिसर्च गरिरहनुभएको छ । सन् २०२६ सम्ममा यसलाई पनि सकेर नेपाल फर्किने योजना रहेको उहाँले सुनाउनु भयो । ज्योतिष शास्त्रको अध्यनमा लागेपछि उहाँले आफ्नो गायन यात्रालाई भने बिट मार्नुभएको छ ।

उहाँ  वर्ल्ड एस्ट्रो फेडेरेशनको सदस्य तथा दक्षिण एसियाली महासंघको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । साथै उहाँ इन्टरनेशन एस्ट्रोलोजी फेडेरेशनबाट  वास्तुशास्त्रमा सम्मानित पनि हुनुभएको छ ।

ज्योतिषीले कसैको भविष्य बनाउने नभई सही मार्ग दर्शन मात्रै गर्ने उहाँको भनाइ छ । ज्योतिष शास्त्रले समस्या पत्ता लगाउनुका साथै यसको समाधानमा  सुझाब दिन सक्ने उहाँ बताउनु हुन्छ । तर कसैको भविष्य बनाउने जिम्मा भने ज्योतिषीहरुको नभएको उहाँको धारणा छ ।

“ज्योतिषले पानी पर्छ भन्न सक्छ, पानी रोक्न सक्दैन ।  तर छाता ओढ्न  सुझाब दिन सक्छ । ग्रह शान्ति गर्नुपर्छ भन्दै मुनि पुजा गरेर आकाशको ग्रह एक इन्च पनि सर्दैन । उनीहरु आफ्नै गतिमा दौडन्छन् । तर त्यहाँबाट हामीले पोजेटिभ इनर्जी लिन सकिन्छ ।” उहाँ भन्नुहुन्छ ।