काठमाडौं । सम्भव समूहको आयोजनामा ‘पोएट्री कन्सर्ट – २०२४’ आयोजना सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा शनिबार आयोजित कार्यक्रममा दश कविहरूले कवितात्मक प्रस्तुति दिंदै पोएट्री कन्सर्ट सम्पन्न भएको हो ।

फोक्टो ब्यान्डको पार्श्वसङ्गीत रहेको कवितावाचनमा अनिता न्यौपाने, शकुन आँसु र अस्मिता वादी अतिथि कविको रूपमा उपस्थित थिए । सम्भव समूहका तर्फबाट उत्तम तुम्सा लिम्बू, युग सर्वनाम, सन्जित फलाना र सुरज रानाले कविता वाचन गरेका थिए भने कविहरू स्वप्निल स्मृति, रिमा केसी र सीता तुम्खेवाले सम्भव समूहका तीन अनुपस्थित कविहरूको प्रतिनिधि कविता वाचन गरेका थिए ।

अनिता न्यौपानेले ‘आफ्नै पाइतला टेकेर’ र ‘यो देश देखेर मलाई असाध्यै डर लागिरहेछ’, शकुन आँसुले ‘नवयुगकी सुम्निमा’ र ‘पाठशाला’, अस्मिता वादीले ‘के बाँच्नु भनेको सास फेर्नुमात्र हो ?’ र ‘लास बोक्ने खुट्टाहरू’ शीर्षकमा दुई-दुईवटा कवितावाचन गरेका थिए । त्यस्तै, उत्तम तुम्सा लिम्बूले ‘एउटा प्रश्न सोध्नु थियो’, ‘ठूलीले जाँड बेच्न छाडिन्’ र ‘मुलुक कैले फर्किन्छस् ठूले ?’, युग सर्वनामले ‘रगतको पैदलयात्रा’ र ‘म मर्छु होला’, सन्जित फलानाले ‘चौतारी’, ‘आम्बो’ र ‘उचाइ’ तथा सुरज रानाले ‘अक्षरहरू’, ‘सास फेर्ने मूर्ति’ र ‘प्रहरी चौकीमा सोल्टा’ शीर्षकमा कविता वाचन गरेका थिए ।

स्वप्निल स्मृतिले मिथोचको कविता ‘ऐँठन’, रिमा केसीले राज एकान्तको कविता ‘छापामारको सन्देश’ र सीता तुम्खेवाले बलिन्द्र योङहाङको कविता ‘मोनालिसा’ वाचन गरेका थिए ।

फोक्टो ब्यान्डका संस्थापक अनुप तिमिल्सिनाले गीटार, अच्युत थापामगरले बाँसुरी र अनिल गन्धर्भले सारङ्गीमार्फत सङ्गीत दिएका थिए ।

कार्यक्रममा डा. विप्लव ढकाल, चन्द्रवीर तुम्बापो, लक्ष्मी रुम्बा, करण राई, देवेश राई, यासेली योङ्हाङ, विमला तुम्खेवा, कुमारी लामा, प्रगति राई, हेमन यात्री, सञ्जीव राई, उमेश अकिञ्चन, गणेश खनियाँ, सोझो गाउँले, प्रकाश रम्घाली, मनोज थापामगर, अनिल सुब्बा, जेडी तमु, अप्सरा लावती, नरेश लावती, विशाल सेनेहाङ, प्रज्वल अधिकारी, असिम सागर, गीलु रातोसलगायत सय बढी स्रष्टाहरूको उपस्थिति थियो ।