कवितामा आफ्ना अस्तित्व खोज्ने, कवितामा जीवनको सौन्दर्य भेट्ने र कवितालाई फुलाउनु पर्छ भन्ने उद्देश्यका साथ काव्यिक यात्रामा निस्किएका कवि सुरज राना, उत्तम लिम्बू, सन्जित फलाना, युग सर्वनाम, मिथोच, बलिन्द्र योङहाङ र राज एकान्त मिलेर बनेको हो, `सम्भव समूह´ ।
प्रतिरोधी चेतना सहित विगतगत लामो समयदेखि कविता लेखिरहेका कविहरूको एकीकृत स्वरूपमा आएको सम्भव समूह सन् २०२२ मा स्थापना भयो । दुई वर्षको अन्तरालमा कविता ट्रेक, पुस्तक परिचर्चा तथा बहस कृति विमोचन लगायतका कार्यक्रम आयोजना गर्दै आएको छ ।
गएको हप्ता `पोएट्री कन्सर्ट २०२४´ को सफल आयोजना गरेको समूहसँग जनक कार्कीले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।
सर्वप्रथम त `सम्भव समूह´लाई बधाई छ । एउटा ऐतिहासिक कविता कन्सर्ट सम्पन्न गर्नुभएको छ । कार्यक्रमको समीक्षा कसरी गर्नुहुन्छ ?
– सर्वप्रथम हजुरले जिज्ञासा राखिदिनु भएकोमा धन्यवाद ! भर्खरै सम्भव समूहद्वारा `द पोएट्री कन्सर्ट – २०२४´ सफलताका साथ सम्पन्न भएको छ, यसमा साथ दिनुहुने तमाम हातहरूलाई पनि हामी यहीबाट धन्यवाद दिन चाहन्छौं । यो कविता कन्सर्ट धेरै कोणबाट अर्थपूर्ण रह्यो । देशको ख्याति प्राप्त पुराना कविहरूलाई युवा पुस्ताको कवितासँग साक्षात्कार हुने माहौल बन्यो । कविता प्रेमीहरूमा खट्किरहेको प्यास पनि यो कन्सर्टले निवारण गर्यो भन्ने हामीले प्रतिक्रिया पाएका छौं । नेपालका बौद्धिक जमातमा कवितासँग सम्बन्धित केही नयाँ बहसहरूको सुरुवात भएको छ । समग्रमा हामीलाई आएको प्रतिक्रिया अनुसार यो कन्सर्ट भव्य नै भयो भन्ने कुरामा हामी विश्वस्त छौं । हामी उत्साहित बनेका छौं तर कवितामा गर्नुपर्ने थुप्रै कामहरू बाँकी नै छन् ।
यहाँहरूले वाद्य यन्त्रसहित कविता वाचन गर्नुभयो । बाँसुरी, सारङ्गी र गिटारका धुनमा कविको आवाजमा शब्द मिसिंदा एकदम सुमधुर सुनिएको पनि थियो । यो कार्यक्रमको योजना कसरी बन्यो ?
– वास्तवमा हामीले कुनै एक अग्रज स्रष्टालाई मात्र संगीतसहित कविता वाचनमा उभ्याउने बारे परिकल्पना गरेका थियौं, पछि विभिन्न टेक्निकल बाधाले गर्दा युवाहरूलाई नै प्रतिनिधित्व गर्ने योजना बनायौं । फोक्टो ब्यान्डको संगीतले कार्यक्रमलाई थप उचाइमा पुर्यायो । कविता चित्रमा अनुवाद हुनसक्छ, वाचन र अभिनय या अन्य अभिव्यक्तिको माध्यममा पनि अनुवाद हुनसक्छ । हामीले कवितालाई संगीतसँग प्रस्तुत गरेर भयंकर नयाँ काम गर्यौं भन्ने ठानेका छैनौं । यो अभ्यास यसअघि पनि देखिएकै हो । गीत पनि लयात्मक कविता नै हो जो हजारौं वर्षअघि देखि संगीतसँग गाइँदै आइएको छ । कवितालाई संगीतसँग प्रस्तुत गर्न अब सामान्य लाग्दै जानेछ । यसो गर्दा कविताले नयाँ प्रेमीहरू भेट्टाउँदै जानेछन्, जुन ज्यादै सुन्दर कुरा हो ।
प्रायः साहित्यिक कार्यक्रममा निःशुल्क प्रवेशको साथमा खाजाको व्यवस्था गर्दिंदा पनि हल खालीखाली देखिन्छ, यहाँहरूले त झन् टिकटको मूल्य राख्नुभयो । यो चुनौतीपूर्ण थियो । टिकटमा कविता हेर्ने परम्परा बसाल्न के-कस्ता पहल गर्न सकिएला ?
– मुख्य त हामीले आफ्नो सिर्जनामा विश्वास गर्ने हो । हलमा एक जना मात्र कविताप्रेमी उपस्थित हुनुभएको भए पनि हामी कविता सुनाउँथ्यौं तर सबैको प्रेम र आशीर्वादको कारण सबै सीट फुल भएर केही साथीहरूलाई अप्ठ्यारोसँग ढोकामा उभिनु पर्यो । उहाँहरूसँग माफी माग्दै आगामी कन्सर्ट हामी अलि ठूलो हलमा आयोजना गर्ने वाचा गर्छौं । बाँकी रह्यो टिकटको कुरा । कुनै पनि कवि जसले कविताको लागि भनेर जिन्दगी नै समर्पण गरेको हुन्छ, त्यो कवि भोकै मरेको समाचार कति बिद्रुप होला ? त्यसो नहोस् भनेर एउटा सानो गृहकार्य जस्तो मात्र हो । कविताको त मूल्य हुँदैन तर कविता लेख्ने कविले खाने चामलको मूल्य तोकिएको हुँदोरहेछ । अबको मल्टिडाइमेन्शनल युगमा यो अभ्यास सबै तिरबाट होस् भन्ने हामी चाहन्छौं ।
`सम्भव समूह´ मा युवा कविहरूको सानो समूह छ । यसले केही फरकफरक काव्यिक कार्यक्रम गर्दै आएको देखिरहेका छौं । यो समूहको शुरूवात कसरी भयो ?
– हामी खास कुनै विचार, मुद्दा या सिद्धान्त बोकेर हिंडेका छैनौं । कविता राम्रो लेखौं र कविता मै केही राम्रो गरौं भन्ने मात्र हो हाम्रो उद्देश्य, जुन एक्लाएक्लै बसेर पनि गर्न सकिन्थ्यो । तर सामूहिक आवाज अलि ठूलो सुनिने भएकोले करिब २ वर्षअघि हामी सम्भव समूहमा आबद्ध भयौं । आबद्ध सदस्यहरू हामी कविता लेखिरहेका साथीहरू नै हौं ।
आउने दिन `सम्भव समूह´ले के-के गर्ने योजना बनाएको छ ?
– हामीले खास योजना बनाएर समूह निर्माण गरेका थिएनौं । हामीसँग ठोस योजनाहरू पनि छैनन् । मुख्य त कविता लेख्नु नै हो । हामी आ-आफ्नो तर्फबाट निरन्तर लेखिरहनेछौं । कार्यक्रमहरू चाहिं समय र परिस्थिति अनुसार कोरियोग्राफ हुँदै जानेछ ।
तपाईंहरू केन्द्रमा मात्र सीमित हुने हो कि मोफसलमा पनि पुग्ने योजना छ ?
– केन्द्र, मोफसल, डायस्पोरा, लेबर डायस्पोरा र अन्य केके भन्छन् यसले सोझै भौगोलिकतासँग सम्बन्ध राख्छ । व्यक्तिगत रूपमा म चाहिं बुझ्दिनँ, साहित्यमा यो कसरी प्रतिपादन भयो । मैले बुझेको साहित्य कि प्रगतिशील हुन्छ या शून्यवादी हुन्छ ।
जसले जहाँ बसेर लेखे पनि स्थान गौण विषय हो । मूलभूत विषय भनेको लेखकले के लेख्यो र कसरी लेख्यो भन्ने नै हो । जस्तो कि काठमाडौंमा बसेर कविता लेख्दैमा या कार्यक्रम गर्दैमा कवि राम्रो भै हाल्ने र काठमाडौंबाहिर बसेर लेख्दैमा कवि नराम्रो भै हाल्ने भन्ने त पक्कै हुँदैन । अथवा विदेशमा बसेर लेख्दैमा कवि राम्रो या नराम्रो भन्ने पनि त हुँदैन । खास अर्थ कविले सिर्जना गरेको कविताले राख्छ । मलाई यत्ति विश्वास छ कविलाई कथित केन्द्र, मोफसल, डायस्पोरा आदिले निर्धारण गर्दैन । असल कविलाई इतिहास र समयले सम्झनेछ ।
हामी नेपाली कविलाई आरोप लाग्ने गर्छ कि `गुट´ बनायो भनेर, `सम्भव समूह´ लाई गुटबन्दीबाट जोगाउन के कस्तो नीति बनाउनुभएको छ ?
– गुट भनेको अर्को अर्थमा समूह नै हो । यो कोणबाट हेर्दा हामी पनि एउटा गुट नै हौं । गुट त्यत्तिकै बन्दैन । आफ्नो अस्तित्व रक्षाको निम्ति गुट बन्छ भने त्यो त राम्रै कुरा हो जस्तो लाग्छ । तर सत्य के हो भने गुटले पनि कविलाई निर्धारण गर्न सक्दैन । अन्ततः कविलाई बचाउने उसको काव्यिक क्षमताले नै हो । कवि हुनु भनेको सत्यको नजिक पुग्नु हो, तपस्या र साधना गर्नु जस्तो हो, निर्वाण तर्फको यात्रा हो एकदम होस र चेतना सहित ।
कार्यक्रम आयोजना गर्दा सबैभन्दा अप्ठ्यारो के कुराले गर्दो रहेछ ?
– कार्यक्रम आयोजना गर्नु बिल्कुल प्राविधिक कुरा हो, आर्किटेक्टले नक्सा बनाए जस्तो । एउटा मात्र कुराको कमीले सबै खत्तम । जस्तो कि हाम्रो अनुभवमा रिहर्सलको निम्ति स्थान नपाउनु, सबै कविलाई रिहर्सलको निम्ति एउटै समय पायक नपर्नु, त्यसमाथि वाध्यवाधकहरूका समयको क्राइटएरिया हुनु, आफैं आयोजक र प्रस्तोता पनि भएकोले अन्य म्यानेजमेन्टको कुराले पनि प्रेसर हुनु इत्यादि जस्ता अप्ठ्याराहरू भोग्यौं । खैर सबैको सामूहिक प्रयास र पाठक, दर्शक, श्रोताहरूको प्रेमले कार्यक्रम सफल भइसकेको छ । हामी सबैसँग सधैं नै आभारी हुनेछौं ।
अन्त्यमा केही भए ..
– अन्त्यमा जनक जी आफै पनि राम्रो कवि हुनुहुन्छ । हिजो हामीसँगै नै थियौं, निःसन्देह भोलि पनि सँगै भइनेछ । पोइट्री कन्सर्टको बारेमा जिज्ञासा राखेर हाम्रो केही अभिव्यक्ति सम्प्रेषण गर्ने अवसर दिनु भएकोमा हार्दिक धन्यवाद !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










