डा. चिन्तामणि योगी हिन्दू विद्यापीठ नेपालका संस्थापक र प्राचार्य हुनुहुन्छ । हिन्दूत्व र आध्यात्मिक जागरणका राष्ट्रिय अन्तर्राष्ट्रिय अभियन्ताका रूपमा पनि उहाँ प्रसिद्ध हुनुहुन्छ । उहाँले हिन्दू धर्म र दर्शनका बारेमा देशविदेशमा सयौँ प्रवचनहरू दिनु भएको छ । उहाँले ज्ञानप्रहेलिका (ज्ञानसूक्ति), हिन्दूधर्म : एक चिन्तन (आध्यात्मिक ग्रन्थ), बालज्ञानमाला, (सामान्यज्ञान) बालकोपिला (बालकविता), ज्ञानगङ्गा (नैतिक चिन्तन), गोरखवाणी (धार्मिक चिन्तन), विचारबिम्ब (निबन्ध) आदि धेरै कृतिहहरू प्रकाशित गरिसक्नुभएको छ । विभिन्न पुरस्कारबाट सम्मानित उहाँले योग र प्राकृतिक चिकित्सामा विद्यावारिधि गर्नुभएको छ ।
प्रस्तुत छ, उनै बहुप्रतिभाशाली डा. चिन्तामणि योगीसँग साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले गरेको साहित्यिक संवादको सम्पादित अंश;
तपाईं संसारको विभिन्न ठाउँमा पुग्नु हुन्छ ! नेपाली भाषाको प्रचार, धर्म र देश प्रतिको बाल ब्रह्मचारी, सत्य गुरु योगी भएर नै संसारभर आफूले पढाएर, हुर्काएर सफलताको शिखरमा पुर्याएका सन्तान कति छन् छन् । यसरी सबैलाई अगाडि बढाउँदा व्यस्त अध्ययन, पुस्तक प्रकाशन र सनातन धर्मलाई कसरी समय मिलाइरहनु भएको छ ?
– जहाँसम्म अध्ययन, अनुसन्धान, प्रकाशनको कुरा छ, म मूलतः शिक्षा संस्कृति, अध्यात्म साधना र सेवाको क्षेत्रमा छु । नेपाली, सनातनी हिन्दु, स्वयंसेवी, धर्मसेवी जे जस्तो भएता पनि म त्यसमा आध्यात्मिकता, मानवता र राष्ट्रियता खोजिरहेको हुन्छु । यही ३ मूल सूत्रका आधारमा मेरो सङ्कल्प साधना र सेवा विगत ४० वर्षदेखि निरन्तर चलिरहेको छ ।
साहित्य, जीवन, दर्शन आत्मा र प्रकृतिलाई तपाईँ कसरी हेर्नुभएको छ ?
– सुन्दर प्रश्नका लागि धन्यवाद, उपनिषद्को एउटा प्रसङ्ग याद आयो मलाई – आफ्नो पुत्र श्वेतकेतुले गुरुकुलको शिक्षा पुरा गरी घर फर्केपछि पिता उद्दालक आरुवाणीले सोधेका थिए – बाबु, त्यस्तो एउटा कुरा कुन हो ? जुन कुरा जानेपछि अरू सबै कुरा आफै जानिन्छ, यज्ज्ञाते सर्वं ज्ञातम् ।
आरुणी अक्क न बक्क परेका थिए पिताजीका गहन प्रश्न सुनेर ।
पिताले भने – आत्मा एव सत्यं । ब्रह्म एव सत्यं । आत्मा खलु विश्वमूलम् आदि ।
अर्थात् यस संसारमा, ब्रह्माण्डमा आत्मतत्त्व बाहेक, चेतना बाहेक अरू केही कुरा पनि छैन । संसारका विविध रूप, अभिव्यक्ति, रङ्ग आदि उही सूक्ष्मतम सत्ताका खेल मात्रै हुन् ।
साहित्य, जीवन, दर्शन आत्मा र प्रकृतिलाई मैले पृथक् पृथक् रुपेण केही हेरिरहेको छैन, मात्रै एकै कुरा हेर्ने बुझ्ने र आत्मसात् गर्ने उद्देश्यमा साधनारत छु, उही एक आत्मातत्त्व, अलखतत्त्व – सूत्रे मणिगणा इव ।
साहित्य जीवन दर्शन आदि सबैलाई उही परम् अस्तित्वको आधारमा हेर्ने साधनामा समर्पित छु । सत्यं शिवं सुन्दरम् भनेको पनि सायद यही हो । साहित्यमा जीवन होस् र जीवनमा साहित्य होस् । साहित्य र जीवन दुबैमा दर्शन होस्, सनातन दर्शन । अनि यो दर्शन हाम्रो आत्मानुभूतिको, परा प्रकृति बोधको सबल आधार बनोस् ।
तपाईंलाई जाँगरिलो महर्षि भन्दा हुन्छ ? विभिन्न तह र तप्काका पिडामा कलम प्रवचन निरन्तर उठाइरहनु हुन्छ किन ?
– म मात्र एक स्वयंसेवी हुँ, धर्मसेवी हुँ, सत्सङ्गी हुँ र एक अथक यात्री हुँ । आमा बुबा गुरुजनको आशीर्वादलाई स्वीकार गरेको छु; विश्व भरिकै मित्रहरूको सद्भाव र सहयोगलाई सम्मान गरेको छु । सनातन सेवाको यात्रामा सतत हिँडिरहेको छु; बस् यति मात्रै हो मेरो परिचय । वास्तवमा भन्ने हो भने व्यक्तिको परिचय पनि मूल्यहीन हुन्छ, यदि राष्ट्रको परिचय नै सङ्कटमा छ भने ।
जहाँ सम्म कलम र प्रवचनको कुरा छ, सायद मैले कलमको साधनामा गर्नुपर्ने अझै धेरै बाँकी नै छ । २०-२५ वटा ससाना पुस्तक, पुस्तिकाहरू लेखेता पनि म कलमसाधक, साहित्यकार होइन जस्तो लाग्छ । प्रवचन साधनामा भने ईश्वरीय कृपा आशीर्वाद स्विकार्दै विगत ४० वर्ष देखि साधनारत छु । बाल्यकाल देखि नै गुरुकुल र विद्यालयमा गर्दै आएको प्रवचन अहिले अक्सफोर्ड, क्याम्ब्रिज लगायत, अमेरिका, युरोप, अस्ट्रेलिया आदि देशमा पनि फैलिँदै गएको छ । हाम्रा ऋषिहरूले – स्वाध्यायप्रवचनाभ्यां न प्रमदितव्यम् भनिदिएको आदेश उपदेश अनुसार नै प्रवचन साधनामा सतत रत छु ।
साहित्य लेखन, योग शिविर सन्तुलन आहार, अध्ययन, चिन्तन र मनन सबै कुराको निरन्तरताले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?
– हो, तपाईंले ठीक भन्नु भयो, साहित्यमा, लेखनमा, अध्ययनमा, अनुसन्धानमा, हाम्रो चिन्तनमा, हाम्रो योगमा, हाम्रो व्यवहारमा हामीलाई सन्तुलन चाहिएको छ । सन्तुलन नभएको जो कोही पनि समाजका लागि र स्वयं आफ्नो जीवनका लागि पनि घातक छन् । यही सन्तुलनलाई बुद्धले सम्यक् भने; गुरु गोरखनाथले सहजै रहिबा भने; गीताले सहजं कर्म कौन्तेय भन्यो । त्यही सहज भाव, सन्तुलन नै आज हाम्रो निजी जीवनमा, पारिवारिक जीवनमा, राष्ट्रिय जीवनमा साथै हाम्रा प्रत्येक कर्ममा चाहिएको छ । यही सन्तुलनपूर्वक गरिने सहज कर्मलाई गीतामा योग भनी सम्मान गरियो – योग: कर्मसु कौशलम् ।
तपाईं साँच्चैको योगी हुनुहुन्छ ! योग प्रवचनमा र लेखनमा उत्तिकै लाग्नु भएको छ त्यसैले तपाईंलाई नेपाली समुदायले संसारका सम्पन्न राष्ट्रका तुलनामा नेपाली समाज अगाडि बढाउन के गर्नु पर्छ जस्तो लाग्छ ?
– सर्वज्ञ जी, तपाईंको प्रेमलाई म स्विकार्न, कृतज्ञता ज्ञापन गर्न सक्छु तर तपाईंको प्रेमपूर्ण प्रश्नको उत्तर कसरी दिने ? म आफै अलमलमा परेको छु । अमेरिकाको यात्रामा लिनु भएको टेलिभिजन अन्तरवार्ता, सत्सङ्ग समायोजनमा गर्नुभएको सहयोग, विभिन्न प्रकारका प्रसङ्गहरूमा अनेक रूपले मलाई उत्साहित गर्नु भएको कुरालाई म बराबर सम्झिरहेको छु । साथै तपाईं स्वयं एक वरिष्ठ साहित्यकार हुनुहुन्छ । विदेशमा बसेर पनि रात दिन स्वदेशकै गान गर्नु भएको छ । किताबहरू लेखेर समाजलाई जगाउने, जोड्ने विशिष्ट साधना गर्नु भएको छ । अब तपाईं जस्तो मान्छेले मलाई बहु प्रतिभाशाली, अथवा समाजले भन्छन् भन्दा/भनेर प्रश्न गर्दा म निरुत्तर छु । तर एउटा कुरा निश्चित छ – मेरो यात्रा मेरा लागि होइन, राष्ट्रका लागि हो, मेरो जीवन मेरो होइन, मात्र राष्ट्रका लागि हो । के बाँच्ने, के मर्ने ? के नाम, के काम ? के मान, के सम्मान ? राष्ट्र भन्दा माथि केही पनि छैन । मलाई एउटै कुरा थाहा छ – राष्ट्रदेवो भव । मेरो एउटै मन्त्र छ – मेरो धर्म महान्, मेरो राष्ट्र महान् । मेरो एउटै लक्ष्य, सङ्कल्प, साधना छ – वयं राष्ट्रे जागृयाम: ।
महाभारतमा कौरव र पाण्डवहरूको परीक्षाको बेलामा गुरु द्रोणाचार्यले अर्जुनलाई प्रश्न गर्दा अर्जुनले भनेका थिए – मैले मात्र चराको आँखो देखिरहेको छु । बस् सर्वज्ञजी, म पनि त्यही आँखो अर्थात् राष्ट्र, अर्थात् हाम्रो सनातन धर्म, अर्थात् हाम्रो सनातन पहिचान, अर्थात् सनातन हिन्दुराष्ट्र नेपाल देखिरहेको छु । यस बाहेक मैले अरू कुरा केही पनि देखिरहेको छैन ।
तपाईंले योग, ध्यान, तथा सत्कर्मको प्रेरणा को बाट पाउनु भयो ?
– यो ईश्वरीय कृपा नै हो । तर फेरि प्रश्न छ, ईश्वरीय कृपा कसरी प्राप्त हुन्छ त ? त्यो हो गुरु माध्यमद्वारा, मातापिताको माध्यमद्वारा र केही सहृदयी मित्रहरूको माध्यमद्वारा । इमानदारीताका साथ भन्नु पर्छ, हो, मैले पनि ईश्वरीय कृपा केही न केही पाएको छु ।
मैले दाङ जिल्ला पर्साको सानो किसान परिवारमा जन्म लिए पनि, आमाबाट भक्तियोग र बुबाबाट ज्ञान योगको महान् शिक्षा पाएको छु । भोला दाजु लगायत परिवारका सम्पूर्ण सदस्यहरूबाट प्रशस्त सहयोग पाएको छु । म निजी रूपमा अविवाहित छु, सारा जीवन समाजका लागि समर्पित गरेको छु तर परिवारले मलाई प्रेम गरेको छ, सहयोग गरेको छ र मैले परिवारको प्रेमलाई निसर्त स्वीकार गरेको छु ।
एवम् मेरा केही मित्रहरू र गुरुजनलाई सम्मान गर्दै सम्झन चाहन्छु – राष्ट्रगुरु योगी नरहरिनाथ, सम्माननीय डा. स्वामी प्रपन्नाचार्य, श्रद्धेय डा. स्वामी रामानन्द गिरी, कर्मयोगी बद्रीविक्रम थापा, डा. बिहारीलाल श्रेष्ठ आदि । यसैगरी अरू धेरै स्वदेशी, विदेशी मित्रहरूको माया प्रेरणा र सहयोग पाएको छु । आश्चर्यचकित छु, भावविभोर छु, आनन्दमग्न छु र कृतकृत्य छु ।
अझ भन्ने हो भने त सर्वज्ञजी, प्रेरणा कै कुरा गर्दा त मेरा केही असहयोगीहरूले पनि, कुभलो चिताउनेहरूले पनि, कुरा काट्ने, बाटो काट्नेवालाहरूले पनि प्रकारान्तरले प्रेरणा दिएका छन् – अझ सावधान बन, अझ संयमी बन, अझ सकारात्मक बन, अझ साहसी, सङ्कल्पशील सङ्घर्षशील र कर्मशील बन ।
प्रेरणा लिन चाहने हो भने फूलबाट भन्दा काँडाबाट बढी लिन सकिँदो रहेछ । सुखबाट भन्दा पनि बढी दु:खबाट मिल्दो रहेछ । प्रेरणा त माला लगाइदिने मानिसहरूबाट भन्दा पनि गाली दिनेवालाहरूबाट मिल्दो रहेछ । जे होस्, सबै प्रकारको प्रेरणा प्रेम पाएर यो जीवन यात्रा आनन्दले चलाइरहेको छु ।
तपाईंलाई जाँगरिलो विचारक भन्दा हुन्छ ?
– हो, तपाईंले भन्नु भएको जस्तै जाँगरिलो विचारक बन्ने रहर छ, साधना छ र सङ्कल्प पनि छ । सबैले बन्नुपर्छ, सबैले आफू भित्रको अनन्त सम्भावनाको खोजी गर्नुपर्छ; जाति समुदाय सम्प्रदाय वर्ग क्षेत्र आदि यसमा कदापि बाधक बन्न हुँदैन ।
मैले पनि सात वर्षकै उमेरमा एक प्रकारले गृह त्याग गरें, दाङबाट दिल्ली पुगें गुरुकुलमा पढ्नका लागि । अनि मोटामोटी २१ वर्षको उमेरमा प्रथम श्रेणीमा आचार्य पूरा गरेर सबै कुरा त्याग गरिदिएँ र जीवन समर्पण गरिदिएँ सेवाका लागि । मातृभूमि सेवक सङ्घमा स्वयंसेवीको रूपमा एवं हिन्दु विद्यापीठ नेपालको संस्थापक प्रधानाचार्यको रूपमा आजीवन स्वयं सेवी भएर निस्वार्थ रूपमा सेवा गर्दै जाँदा अहिले २०-२५ ओटा संस्थाहरूका माध्यमबाट सेवा कार्य चलिरहेको छ – गुरुकुल, आश्रम, अनाथालय, वृद्धाश्रम, नारी केन्द्र, दलित केन्द्र लगायत विश्व ओमकार एकता महाभियान, विश्व हिन्दु महासंघ आदि ।
साथै अमेरिका, युरोप, अस्ट्रेलिया, भारत, बर्मा, थाइल्यान्ड आदिका कैयौं अन्तर्राष्ट्रिय संस्थाहरूको माध्यमबाट पनि कतै संरक्षकरुपेण, कतै सल्लाहकाररुपेण, कतै संस्थापकरुपेण, कतै कोर्डिनेटर रुपेण अनेक प्रकारले सेवा कार्य चलिरहेका छन् । उमेरका हिसाबले ६० पूरा गर्न लागेको छु तथापि कतै कुनै थकान छैन, निरासा छैन, खिन्नता, स्वार्थीपन, अल्छीपन कतै कुनै सङ्केत पनि छैन । संस्थाहरू मेरा लागि माध्यम मात्रै हुन् । कतै कुनै बन्धन छैन । जाति समुदाय सम्प्रदायका नाममा सिमाङ्कन छैन । म नेपालको, समग्र सनातन हिन्दु धर्मको समुन्नतिको यात्रामा छु ।
नेपाली योग तथा संस्कारलाई विश्वको तुलनामा पुर्याउन सरकार तथा निकाय र अब हुर्कँदै गरेको पिँडीले के गर्नु पर्ला ?
– हेर्नुहोस् के छ भने अब संसारमा नयाँ परिवर्तन, नयाँ क्रान्ति नयाँ चिन्तनको तीव्र रूपमा खोजी भैरहेको छ। विश्वमा जति जति भौतिकताको, यान्त्रिकताको विकास हुँदै गयो, उति उति मानव जीवन झन् बढी असन्तुलित हुँदै गयो । असुरक्षा बढ्यो, आत्महत्या बढ्यो, हिंसा अपराध बढ्यो, परिवार विखण्डन भयो, समाज विद्वेषमा फस्यो, जातीय साम्प्रदायिक हिंसा बढ्यो, डिप्रेसन, फस्ट्रेसन बढ्यो, एन्जाइटि, मेन्टल डिसअडर जस्ता समस्या बढे । समग्रमा भन्ने हो भने प्रगतिको नाममा झन् बढी अवगति भयो ।
भौतिकवादी चमकले अनेकौ प्रकारका द्वन्द्वहरूलाई निम्ताउने काम गर्यो, व्यक्तिगत, पारिवारिक, सामाजिक, राष्ट्रिय तथा वैश्विक स्तरमा । त्यसले गर्दा एउटा सुरक्षित सन्तुलित विकल्पको खोजी गर्ने विश्वव्यापी प्रयास तीव्रतम गतिले अघि बढिरहेको छ । पश्चिमी मुलुकका विद्वानहरू, चिन्तकहरू अब योगको, अध्यात्मको, प्राकृतिक जीवनको, सनातन ज्ञान विज्ञानको खोजीमा पागल जस्तै लागिपरेका छन् । वैकल्पिक चिकित्सा पद्धति, शिक्षाप्रणाली, अर्थव्यवस्था आदि भनेर अनेकौं प्रकारका नयाँ नयाँ विकल्पको खोजी गर्न लागिरहेका छन् ।
यस सन्दर्भमा भन्नु पर्दा नेपाल विश्वगुरु हो, आदि गुरु हो, अखण्ड हिन्दुराष्ट्र हो । हजारौं वर्षको इतिहास, संस्कृति, सभ्यताको समुन्नत भूमि हो, देवभूमि, आर्षभूमि, तपोभूमि, वेदभूमि, बुद्धभूमि, मुन्धुम भूमि तथा गोरखभूमि हो ।
यहाँको समन्वयात्मक सद्भावपूर्ण संस्कृति विश्वकै लागि एक नमुना हो । यहाँ राजपाठ त्याग्ने बुद्धको पनि पूजा हुन्छ, राजपाठ सहित राज्य गर्ने राजर्षी जनकको पनि पूजा हुन्छ, यहाँ राजालाई आशीर्वाद दिएर राज्य एकीकरण गर भन्ने गोरखनाथको पनि पूजा हुन्छ, राज्य त्याग गरेर रत्ननाथ बन्ने सिद्धको पनि पूजा हुन्छ । यहाँ शिव र शक्तिको समन्वयात्मक पूजा हुन्छ, यहाँ शैव दर्शन, जैन दर्शन, जनक दर्शन आदिको समान सम्मान हुन्छ । गोपाल वंश, महिषपाल वंश, किरात वंश लगायत मल्ल, लिच्छवी र शाह वंशका कालखण्डका सुन्दर ऐतिहासिक पक्षहरूको अत्यधिक सम्मान र अभ्यास हुन्छ ।
यहाँ गैर धर्मीहरूलाई पनि आफ्नो आफ्नो तरिकाले आफ्नो संस्कृतिको अभ्यास गर भनी सहज अवसर प्रदान गरिन्छ । यहाँ ढुङ्गामा, पशुपन्छीमा, पानीमा, वनस्पतिमा, माटोमा देवत्वको खोजी हुन्छ । यो देश ज्ञानी विज्ञानीहरूको देश हो, आफ्नो पेटमा पटुका बाँधेर पनि अर्काको पेट भर्ने संस्कृति भएको देश हो; कुनै घरमा पाहुना आए भने सिङ्गो गाउँ नै अतिथि देवो भव भनेर स्वीकार र सहयोग गर्ने देश हो । भ्यागुताको समेत क्षमा पूजा गरेर अहिंसाको आफ्नै प्रकारले साधना गर्ने देश हो ।
त्यसकारण यहाँको सरकार, शासक, प्रशासक, प्राध्यापक, चिन्तक, लेखक, साहित्यकार, अन्वेषक सबैले यस गरिमामय ऐतिहासिक तथ्यलाई कदापि भुल्नु हुँदैन । नयाँ पुस्ताले पनि यही ऐतिहासिक पक्षहरूलाई अवलम्बन र सम्मान गर्दै विश्वमा आफूलाई चिन्न सक्नुपर्छ । विश्वमा नेपाललाई एक विशिष्ट सनातन हिन्दूराष्ट्रका रूपमा, गोरक्षराष्ट्रका रूपमा, ओमकार राष्ट्रका रूपमा चिनाउन सक्नुपर्छ । हाम्रो नयाँ पिँढीले विश्वसँग हातेमालो गर्नुपर्छ – संगच्छध्वं संवदध्वं … । तर कदापि कसैका सामु घुँडा टेक्नु हुँदैन । केवल आर्थिक कमजोरीका आधारमा कुनै आत्मग्लानि पालेर दुनियाँको सामु शिर निहुराउन हुँदैन, हामीसँग जे छ त्यसलाई चिन्दै र जुन हुन सकेको छैन त्यसलाई खोज्दै समेट्दै अबको नयाँ पुस्ता अघि बढ्नु पर्छ – आत्मभावेन, दिव्यभावेन, प्रेमभावेन, श्रद्धाभावेन, राष्ट्रभावेन ।
खाली समय कसरी बिताउनु हुन्छ ?
खालि समय त कसरी पो हुन्छ र ! दर्शनका हिसाबले समय खालि पो कहाँ हुन्छ र ? समय खालि हुन्छ वा हामी खालि हन्छौँ ? समय हाम्रा लागि हो वा हामी समयका लागि हौं ? समयलाई जित्न सक्नु साधना हो वा समयसँग हिंड्न सक्नु साधना हो ? समयातीत हुन सक्नु सफलता हो वा जुन समय अहिले बर्तमानमा छ त्यसमा रम्न सक्नु सफलता हो ? यस्ता केही दार्शनिक चिन्तन पनि छन्, हामीले चिन्तन गर्नैपर्छ ।
कहिलेकाहीँ भन्न मन लाग्छ, मात्र २४ घण्टा किन बन्यो होला भनेर ! तर प्रकृतिको नियमअनुसार बनेको यही २४ घण्टालाई बुझ्ने, व्यवस्थापन गर्ने, सम्मानपूर्वक सदुपयोग गर्ने । त्यसकारण खाली समय छैन । ‘काव्यशास्त्रविनोदेन कालो गच्छति धीमताम्’ भने जस्तै, म पनि निरन्तर स्वाध्याय, साधना, सत्सङ्ग, सेवा र सदाचारको यात्रामा निरन्तर समर्पित छु ।
नेपालको साहित्यिक तथा धार्मिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?
– धन्यवाद ! मलाई जहाँसम्म लाग्छ, नेपालको साहित्यिक क्षेत्रमा हिजोको तुलनामा आज सायद राम्रो प्रगति भइरहेको छ । कथा, कविता, निबन्ध, समालोचना, मुक्तक, गजल आदि अनेकौँ साहित्यिक क्षेत्रमा अनेकौँ प्रकारका सुन्दर कार्यहरू भइरहेका छन् । विश्वविद्यालयदेखि लिएर विभिन्न शैक्षिक, सामाजिक, साहित्यिक संस्थाहरूमा अनेकौँ प्रकारका लेखन, अनुसन्धान, प्रकाशन, सम्मान आदिका कार्यक्रम निरन्तर चलिरहेका छन् । मिडिया आदिका माध्यमबाट पनि व्यापक साहित्य प्रवाह भइरहेका छन् । कैयौँ मेरा मित्रहरूलाई भ्याइ-नभ्याई भएको छ । उनीहरूको रात दिनको भागदौड हेर्दा आधुनिक तपस्वी हुन् भनी भन्न मन लाग्छ ।
तर जहाँसम्म धार्मिक पत्रकारिता, धार्मिक साहित्य र लेखन आदिका कुरा छन्, त्यसमा भने अझै पनि केही कुरा गर्न बाँकी नै छ । धर्मप्राण मुलुक नेपालमा अझै पनि धर्म मूलधारको विषय बन्न सकेको छैन । व्यक्तिगत रूपले भित्र-भित्रै कुनै प्रकारको धार्मिक आस्था र आचरण भएता पनि सामूहिक शक्तिका रूपमा धार्मिक क्षेत्रले अझै पनि पहिचान र सम्मान पाएको छैन । अतः धार्मिक पत्रकारिताको विकास कसरी गर्ने ? धार्मिक मिडियाको विकास र व्यवस्था कसरी गर्ने ? धार्मिक क्षेत्रमा पुरस्कार, सम्मान आदिको व्यवस्था कसरी गर्ने ? धार्मिक लेखन र अनुसन्धानलाई अझ कसरी बढाउने ? धार्मिक साहित्यलाई नयाँ पुस्तामा सजिलोसँग कसरी पुर्याउने ? आदि विषयमा हामी गम्भीर बन्नै पर्छ ।
कस्तो साहित्यिक तथा धार्मिक पुस्तक पढ्न मन पराउनु हुन्छ ?
– जीवनपरक, राष्ट्रपरक, आत्मपरक र दीन दुःखीको भावलाई व्यक्त गर्ने खालका कविताहरूले मलाई बढी द्रवित बनाउँछन् । गीत, भजन आदि गुनगुनाउँदै रमाउने र हराउने हिसाबले पनि होला, मलाई माधव घिमिरेका, लेखनाथ पौड्यालका, महाकवि देवकोटाका, भानुभक्तका कविताहरूले साँच्चिकै द्रवित बनाउँछन् । साँच्चिकै कवि कवि मात्रै होइन ऋषि नै हो भनेर कोटी कोटी प्रणाम गर्न मन लाग्छ । कविर्मनीषिपरिभू: स्वयम्भू: भनेर हाम्रा शास्त्रहरूले कविको सम्मान गरेका छन् । ‘जहाँ न पहुंचे रवि वहाँ पहुंचे कवि’ भनेर कविको उच्च उडान, उच्चतम् चिन्तनका बारेमा मुक्त कण्ठले गान गरेका छन् । तसर्थ, म पनि यस्ता राष्ट्रभक्त, अध्यात्मनिष्ठ, मानवतावादी कविहरूलाई ऋषिरुपेण नै स्वीकार गर्दछु ।
अझ स्पष्ट भन्ने हो भने मेरो अध्ययनको विषय धार्मिक ग्रन्थहरू नै हुन् । बाल्यकाल देखिनै आमाबुबाकै काखमा रामायण पढ्दै आएको कुराले मलाई ऐले पनि भावुक बनाउँछ । हाम्रो घरमा विशेष रूपमा सबै परिवारजन् मिलेर राधेश्याम, रामायण पढ्ने गरेको, दैनिक साँझका बेलामा सत्सङ्ग गर्ने गरेको, आमाले बुबाले घर-गृहस्थीका सम्पूर्ण कार्यहरू सम्हाल्दै जाँदा पनि निरन्तर भजन कीर्तन गर्नुभएको आदि सबै कुराले मेरो समग्र संस्कार र स्वभाव त्यही धार्मिक ग्रन्थहरूको अध्ययनमा, अनुसन्धानमा र चिन्तनमा छ । वेद, उपनिषद्, रामायण, गीता, गोरखवाणीहरू, बुद्धवाणीहरू, आगमवाणीहरू, गुरुवाणीहरू पढ्दा म आफ्नो जीवन धन्य भएको ठान्छु ।
साथै, यहाँ एउटा निवेदन पनि गर्न चाहन्छु; पढ्ने, लेख्ने र बोल्नेहरू धेरै भए, तर त्यसलाई आत्मसात् गर्नेहरू थोरै भए । गीतापाठ गर्नेहरू धेरै भए, गीतापान गर्नेहरू थोरै भए । वेदाध्ययन गरेर सुवेदी, दुवेदी, त्रिवेदी, चतुर्वेदी बन्नेहरू धेरै भए, तर वेदानुभूति गरेर सूक्ष्मवेदी बन्नेहरू थोरै भए । त्यसकारण हामीले अध्ययन किन गर्ने भन्ने प्रश्नलाई पनि स्पष्ट पार्न सक्नुपर्छ ।
एउटा विद्वान तथा योगीको नाताले तपाई नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?
– नेपालको राजनीतिक जगतलाई हेर्न सजिलो छ, तर बुझ्न गाह्रो छ । मलाई त लाग्छ, हाम्रो नेपाल अ त को कब्जामा छ । अर्थात्, अदृश्य, अधार्मिक, अराष्ट्रिय, अराजक, अपराधी तत्त्व । सिङ्गो देश कसैको चङ्गुलमा छ । हाम्रो देशको राजनीतिमा धर्मनीति भएन । धर्म नीति विनाको राजनीति विदेशीहरूको गुलामी मात्रै हो । देश प्रतिको बेइमानी मात्रै हो । सायद अहिले हामीले गुमाएको केही वर्षहरूमा सबै भन्दा ठूलो कुरा भनेको यही राजनीतिक दर्शन नै हो । पार्टी धेरै भए, नेता धेरै भए, कार्यकर्ताहरू पनि धेरै भए, आन्दोलनहरू पनि धेरै भए । तथापि देश झन्-झन् कमजोर बन्दै गयो । आज नेपालको पहिलो, दोस्रो र तेस्रो समस्या के भनेर सूची बनाउन पर्यो भने उत्तरमा मात्र राजनीति आउँछ ।
हामीले हाम्रो नेपालको राजनीतिक दर्शनलाई नेपाली माटोमा खोज्न सकेनौँ । अङ्ग्रेजहरूले सारा विश्वलाई गुलाम बनाएको बेलामा पृथ्वीनारायण शाहले गरेको एकीकरण के राजनीति होइन र ? आफ्ना प्रजाहरू भोकै मरिरहेको बेलामा, पानी नपरिरहेको बेलामा, राजर्षि जनकले हलो जोत्नु के राजनीति होइन र ? बुद्धले बहुजन, बहुजनसुखाय राजपाठ समेत त्याग गरिदिनु के राजनीति होइन र ? राजा महेन्द्र मल्लले सबैको घरबाट धूवाँ पुत्ताएको छ कि छैन भनेर परीक्षण गरेपछि मात्रै भोजन गर्नु के राजनीति होइन र ? राजनीति पद, प्रतिष्ठा, पैसा मात्रै हो र ? राजनीति सेवा, त्याग, तपस्या होइन र ? राजनीतिले देशलाई बलियो बनाउने हो वा देशलाई गुलाम बनाउने हो ? यसबारेमा हामीले सोच्न नसक्नु के हामीहरूको मूर्खता र अपराध होइन र ? अहिले देशको यही राजनीति बिग्रेको हुनाले गर्दा आज यति सुन्दर, शान्त, विशाल नेपाल भोलि के हुने हो भन्ने अवस्थामा पुगेको छ ।
अहिलेको साहित्यमा धर्म, संस्कार र विचार युग चेतना विश्व परिवेश कसरी अभिव्यक्त भएको पाउनु हुन्छ ?
– अहिलेको साहित्यमा पहिलेको तुलनामा धेरै मात्रामा विकास भएको छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्छ र गौरव गर्नुपर्छ । साहित्यका सबै आयाममा कलम चलाउने साधकहरू, कलमजीवीहरू, बुद्धिजीवीहरूको सङ्ख्या दिनानुदिन अनेक रूपले बढ्दो छ, जो हाम्रा लागि अत्यन्तै आशाजनक र उत्साहप्रद विषय हो ।
तथापि धर्म संस्कार र युग-चेतना आदिको जुन कुरा छ, विश्व परिवेशको कुरा छ, त्यो हिसाबले भन्नु पर्दा कलम साधकहरूले अझ बढी गम्भीर हुनुपर्ने, साधनामा अझ बढी पवित्रता ल्याउनु पर्ने आवश्यक देखिन्छ । गीतामा एउटा सूत्र छ, ‘अकर्ता’ न+कर्ता+इति- अकर्ता, अर्थात् अकर्ताभावेन, मैले लेखेको होइन, मैले बोलेको होइन, मैले गरेको होइन, भन्ने उदार भावका साथ कृत-कृत्य भएर, शरणागत वा समर्पित भएर साधकहरूले साधना गर्न थाले भने त्यसको प्रभाव युगातित हुन्छ । कालातीत हुन्छ । यस सन्दर्भमा भन्नुपर्दा अहिले पनि महाकवि देवकोटाको कविताको सानो अंश ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ आफैँमा एक अनौठो सन्देश हो । यसै गरी ‘जित्या तिनै इन्द्रिय मित्र मान्नु’ भानुभक्तको कविता; ‘गुणको वैरी मानुष जाति’ लेखनाथ पौड्यालको कविता; ‘जता हेर्यो उतै मान्छे, मान्छे छैन कतै पनि’ माधव घिमिरेको कविता, आदि अहिले पनि हाम्रा लागि अव्याख्येय साहित्यनिधिका रूपमा रहेका छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ ।
डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?
– डायस्पोरिक साहित्यका क्षेत्रमा ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले’ गरेको योगदानलाई सबैले स्वीकार गर्नुपर्छ । एनआरएनका माध्यमबाट नेपाली समाज जुट्दै गएकोमा पनि हामीले आशा गर्नुपर्छ । ठाउँ-ठाउँमा चलिरहेका नेपालीहरूको पाठशाला, नेपालीहरूका मन्दिरहरू र सामुदायिक केन्द्रहरू आदिले पनि नेपाली समाजलाई जोड्दै छ, जगाउँदै छ र साहित्य सृजना तर्फ पनि प्रेरित गर्दै छ भन्ने कुराले हामी सबैलाई उत्साह प्रदान गरेकै छ । सोसियल नेटवर्कका माध्यमबाट पनि अनेकौँ प्रकारका साहित्य साधनाका चौतारी बनेका छन् । हामीले एक-अर्कालाई भौतिक रुपेण नचिनेता पनि वैचारिक रुपेण नेपालीका नाताले, साहित्य साधकका नाताले, चिन्तकका नाताले हामी एक-अर्कासँग निकट भएका छौँ । सुख दुःख बाँडिरहेका छौँ । यो ज्यादै खुशीको कुरा हो ।
तपाईंका रचनाहरूले पनि डायस्पोरिक क्षेत्रमा साहित्यको एक नयाँ उडान कायम गरेको छ । तपाईंलाई पनि मेरो धेरै-धेरै हार्दिक धन्यवाद छ । तर साथै सबै साहित्य साधक मित्रहरूलाई मेरो निवेदन छ – साहित्य केवल लेखनको विषय होइन, लेखन सहित इमानदारिता, पवित्रता र आध्यात्मिकताको पनि साधना हुनु आवश्यक छ है । नेताले जे बोल्छ त्यसरी बाँचिदियो भने नेपालको परिवर्तन असम्भव छ र ? लेखकहरूले, वक्ताहरूले, साहित्यकारहरूले, साधकहरूले, गुरुहरूले जे बोल्छन् र लेख्छन् तदनुसारको जीवन बाँचिदिए भने साँच्चिकै यहाँ केही असम्भव छ र ? भन्ने कुरामा पनि म सबैलाई निवेदन गर्न चाहन्छु । त्यसकारण हामी कलमजीवी त बन्ने तर कस्तो कलमजीवी ? कलमलाई चलाएर जीविका चलाउने ‘जीवी’ वा कलमअनुसार जीवन बाँच्ने ‘जीवी’ ? कलमजीवी शब्दको गहिरो अर्थ के होला ? यो जीविकापरक शब्द हो वा जीवनपरक शब्द हो ? यसमा सबै साहित्यकारहरू अत्यन्तै सावधान बन्नु अति आवश्यक छ ।
एक निष्पक्ष लेखक तथा योगीको नाताले तपाईंको भर्खरै निस्केका पुस्तक किन पढ्ने र गीत सङ्गीत र विचार योग किन सुन्ने ? संक्षेपमा भन्नु हुन्छ कि ?
मैले माथि नै भनिसकेँ सर्वज्ञजी । म सायद लेखक भन्दा पनि वक्ता हुँ । वक्ता भन्दा पनि साधक हुँ, स्वयं सेवक हुँ । स्वयं सेवक भन्दा पनि साधक हुँ र सायद साधक भन्दा पनि अध्यात्म चिन्तक हुँ । तथापि यसमा यो छ, यो छैन, यो पुग्यो यो पुगेन भनेर मूल्याङ्कन गर्ने कुरा त्यस्तो केही पनि छैन । यो तपाईंको प्रेम हो, तपाईंले यति राम्रा प्रश्न गर्नुभयो ।
मेरा २०-२५ वटा किताबहरू मध्येमा दुईचार ओटा किताबहरूले मलाइ पनि आफूलाई अलिकति सन्तुष्टि प्रदान गरेको जस्तो लाग्छ । सायद एउटा किताब ‘म्यान्माको माया’ भन्ने किताब हो । यो धेरै मित्रहरूले मन पराउनु भएको छ । विशेष रूपमा म्यान्माको यात्रामा जाने साथीहरूले, हरेक स्तरका विद्वानहरूले म्यान्मा जानु भन्दा पहिले पढ्नुहुन्छ रे भन्ने मैले सुनेको छु । त्यो ‘म्यान्माको मायाँ’ भन्ने किताबको मध्यमबाट मैले प्रवासमा रहेका हाम्रा नेपाली बन्धुहरूले कसरी आफ्नो धर्म, संस्कृति, साहित्य, संस्कृत, समाज, सत्सङ्ग आदि हाम्रा पुरातन, सनातन प्रक्रियाको संरक्षण, संवर्द्धन गरिरहेका छन् ? आदि बारेमा आफ्नो अनुभूतिपरक केही विचारहरू राखेको छु नियात्राको रूपमा ।
मलाई त लाग्छ देश विदेशमा बस्ने हरेक नेपालीले एक पटक म्यान्माको भ्रमण गर्नै पर्छ, साँच्चिकै हाम्रा पुर्खाहरूको संस्कृति के हो भन्ने बुझ्नका लागि ।
यसै गरी मेरो भर्खरै प्रकाशित किताब छ ‘गोरखवाणी’ जसमा विद्वान् साहित्यकार, गोरखा पत्रका पूर्व सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ जीले विशेष भूमिका निर्वाह गर्नु भएको छ, मार्ग दर्शन गर्नु भएको छ । साथै मेरा अनन्य मित्र राजन लोहनीजीले त्यसको प्रकाशन सन्दर्भमा लेख्ने, सार्ने, उतार्ने, टाइप गरिदिने आदि सबै पक्षमा मलाई अत्यन्तै इमानदारीपूर्वकता, श्रद्धापूर्वक सहयोग गर्नु भएको छ । सायद त्यो गोरखवाणी किताब पनि मेरो एउटा अर्को प्रिय किताब हो । त्यसमा केही गोरक्ष दर्शनका कुरा छन् । केही नेपालको इतिहास, धर्म, संस्कार र संस्कृतिका कुरा छन् । केही हाम्रो जीवन रूपान्तरणका कुरा छन् । केही योग विज्ञान र दर्शनका कुरा छन् । केही सामाजिक, साम्प्रदायिक, सद्भावका कुरा छन् । केही वेद, उपनिषद् लगायत विभिन्न योगपरक ग्रन्थहरूका सार सन्देशका कुरा छन् । मूलतः जीवनमा ‘सत्यम् शिवम् सुन्दरम्’ को सहज जीवन र सहज यात्राका कुरा छन् ।
अब म लेखक पनि होइन, साहित्यकार पनि होइन, अरूलाई मन पर्छ वा पर्दैन । किनकि म मार्केटको हिसाबले लेख्दिन, म स्वान्त: सुखाय, स्वान्त: बोधाय, स्वधर्मस्वराष्ट्रस्वसंस्कृतिरक्षणाय लेख्ने गर्दछु ।
अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?
सर्वज्ञजी, तपाईंले अमेरिका बसेर पनि यसरी मलाई फोनबाटै यति समय लिएर फोन गर्नुभयो, यति गहकिला प्रश्न राखेर मलाई पनि मैसँग संवाद गर्ने साक्षात्कार गर्ने प्रेरणा दिनुभयो, धन्यवाद छ ।
अहिले सबै मान्छे व्यस्त छन् । तर व्यस्त हुँदा हुँदै पनि हाम्रो फोकस के हो ? कहाँ हुनु पर्छ ? भन्ने बारेमा कता कता अलमलिएका पनि छन् । तर मलाई लाग्छ, तपाईंको आफ्नो फोकस क्लियर छ, सायद त्यसैले तपाईंले अमेरिकाबाट समेत फोन गरेर मलाई उत्प्रेरित गर्नुभयो ।
हामी कहाँ बस्छौं, त्यो महत्त्वपूर्ण छैन । तर जहाँ जसरी बसेता पनि हामी किन बसिरहेका छौँ ? किन बाँचिरहेका छौँ ? भन्ने प्रश्नलाई भने बार-बार स्मरण गर्नुपर्छ । मलाई त लाग्छ, अन्त्यमा गएर यहाँसम्म प्रश्न गहिरिनु पर्छ । मैले श्वास किन फेर्दै छु हँ ? भनेर ! आफ्नै श्वासलाई पनि किन भनेर सकारात्मक चुनौती दिन सक्ने विवेक र साहस हामीलाई चाहिन्छ । अनि बल्ल जीवन सद्गमय तर्फ, ज्योतिर्गमय तर्फ, अमृतंगमय तर्फ प्रेरित हुन्छ । अनि बल्ल जीवन धन्य बन्छ ।
सत्सङ्ग यात्रा, सेवा यात्रा र चेतना यात्राको त्रिवेणी मै जीवन यात्रा छ । त्यसका लागि हामी तपाईं सबै सकारात्मक बनौँ, श्रद्धावान् बनौँ । सद्विवेकी र साहसी बनौँ । जसले जहाँबाट जे सक्छ, नेपाल आमाको चरणारविन्दमा केही पुष्प समर्पण गरौँ । ‘जसमा जति जे छ लिएर आओ, नेपालकै काख विषे चढाओ’ भने जस्तै समर्पण गर्दै जाऔं । हरेक दिन जीवन स्वयं पुष्प बन्नेछ र समग्र जीवन नै नेपाल आमाको चरणारविन्दमा समर्पित गर्दा हामीलाई गौरव हुनेछ ।
जय नेपाल । जय नेपाली । जय वीर गोर्खाली । जय आदिगुरु गोरक्षराष्ट्र नेपाल । जय जय जय ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।