सुनसरीका कवि सुरज राना विभिन्न फुटकर कवितामार्फत चर्चामा आउने नाम हो । ‘भुइँमान्छेका आवाज’ र ‘अनुहारको भीड’ उनका प्रकाशित सयुंक्त कवितासङ्ग्रह हुन् । उनी यसपालि आफ्नो एकल कवितासङ्ग्रह सहित नेपाली काव्य जगतमा देखापरेका छन् । प्रस्तुत छ, साहित्यपोस्टका लागि `जब कविता निस्कन्छ जुलुसमा´ कवितासङ्ग्रहसँग सम्बन्धित रहेर विविध विषयमा जनक कार्कीले कवि सुरज रानासँग गरेको कुराकानी प्रस्तुत छ ।

कविज्यू, कविता जुलुसमा निस्कने तयारीमा  छ । जब कविता जुलुसमा निस्कन्छ; सम्भवत के के हुनसक्छ ?

हजुरले मेरो आउँदै गरेको कविताकृति ‘ जब कविता निस्कन्छ जुलुसमा’को नामसँग सम्बन्धित भएर यो प्रश्न गर्नु भएको हो भन्ने मैले बुझेँ । त्यसकारणले  म यसै हुन्छ भनेर  दावा गर्न सक्दिनँ । चाँडै नै पाठकहरूको हातमा पुस्तक पुग्दैछ, खास कविताको न्यायाधीश उहाँहरू नै हो । उँहाहरूबाटै आउनेछ यसको खास जवाफ ।

‘जब कविता निस्कन्छ जुलुसमा’ कवितासङ्ग्रहमा के कस्ता विषयवस्तुका कविता समेटिएका छन् ?

यस कृतिमा कविताको विषयहरू विकेन्द्रित छन् । समाज, राजनीति, दर्शन, प्रेम, कला आदि मेरा रूचिको विषय पनि भएकाले कविताहरू यिनै विषयको सेरोफेरोमा परिक्रमारत छन् भन्ने म आफूलाई लाग्छ ।

 यहाँका फुटकर रूपमा आएका धेरै कविता पाठकमाझ चर्चित बनिसकेका छन् । सङ्ग्रह निकाल्न ढिलो गर्नुको कारण ?

यो मेरो स्वभावको कारणले होला । म एकदम चुजी र मुडी किसिमको मान्छे हुँ । लेख्न बस्दा मेरो पहिलो शर्त हुन्छ कि मैले लेखेको कविताले प्रथममा मलाई सन्तुष्टि दिनै पर्छ । त्यसो हुँदा त्यहाँ एउटा दुर्घटनाको सम्भावना सधैं ज्युँदो रहन्छ । त्यो के हो भने, अध्ययन भएन भने मैले लेखेको कुरा केवल विलासिता बन्छ । त्यसैले आफ्नो विषयमा केन्द्रित रहेर म सकेसम्म बढी अध्ययन र खोज गर्छु । यस्तै उस्तै हुँदाहुँदै एक कविता र अर्को कविता लेखनको अन्तराल लामो हुँदो रहेछ । स्वभाविक रूपले सङ्ग्रह आउन ढिला हुने नै भयो । तर यसो सोच्छु – मलाई हतार पनि त छैन ।

यहाँको एउटा मार्मिक कविता छ जसमा एउटा श्रमिकले तलब आउने दिनमा आफ्ना तमाम जिम्मेवारी स्मरण गरिरहेको हुन्छ । तर, अन्त्यमा उसले आफ्ना जिम्मेवारी बिर्सेर भट्टीबाट निस्कन्छ । एउटा श्रमिक जिन्दगीभर श्रमिक बनिरहन उनीहरूकै आनीबानीले कत्तिको सहयोग गरिरहेको छ जस्तो लाग्छ ?

पुँजीवादी समाजमा एउटा कारिन्दाले महिनौंसम्म कठोर संघर्ष गरेपछि उसले प्राप्त गर्ने अन्यायिक तलबले जिन्दगी चलाउन कति कष्टकर  हुन्छ भन्ने व्यङ्गात्मक कोणबाट मैले लेखेको हुँ, त्यो कविता । हजुरको प्रश्नको कोणमा आऔं, एउटा श्रमिक जिन्दगीभर श्रमिक बनिरहन उनीहरूकै आनीबानीले केही सहयोग पक्कै गरेको हुन्छ । तर एउटा प्रतिप्रश्न राखेर हेरौं – के श्रमिकहरूको आनीबानी सबै ठीकठाक हुँदा चैं श्रमिकहरू मालिक बन्लान त ?, पक्कै पनि बन्दैनन् । श्रमिकहरूको भन्दा बढी  मालिक वर्गकै आनीबानी खराब हुन्छ । त्यसकारण यो आनीबानीको कुरा भन्दा पनि श्रमिक र मालिकबीचमा जुन खाडल छ त्यो ज्याँदै असन्तुलित छ र राज्यको संरचना पनि मालिक वर्गकै हितमा निर्मित छ । मैले श्रमिकको आँखाबाट त्यो कविता लेखेको हुँ ।

यहाँको अर्को एउटा कविताको पनि कुरा गरिहालौं – इतिहासको वृत्तसभा, यस कवितामा यहाँले आजको मानव सभ्यतामा महापुरुष मानिएका सम्पूर्ण व्यक्तित्वको सभामा पुगेको प्रसंग छ । सबैको आआफ्नै फरक विचारधाराको प्रवचन सुनेपछि अन्त्यमा उक्त पात्रले आफू भोको भएको कारण महावाणीलाई भुलेर खानाको खोजीमा निस्कन्छ । यो कविताबाट यहाँले पक्कै पनि हामीलाई ठुल्ठूला ज्ञान, दर्शन, शास्त्रभन्दा भोक हटाउनु जरूरी छ भन्ने सङ्केत गर्न खोज्नुभएको होला । के यो समाज यहाँको यो कविता जस्तै `काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भइरहेको हो ?

ठ्याक्कै हो नि । तर के गर्नु, समाज भनेको पनि हामी नै त रै’छौं ।

आजको युग यहाँको कविता जस्तै अक्षरहरूको युद्धमा होमिएको छ । अक्षर धार्मिक भएको छ, अक्षर वाद बनेको छ । अक्षरकै प्रयोगले मानिस मानिसमा विभेद छ, असमानता छ, युद्ध छ अनि प्रतिशोध पनि छ । अक्षरको दुरूपयोग भइरहेको  यो समयमा कविता पनि चोखो रहनसकेको छैन । कविता मेरो समूहको, मेरो वादको, मेरो विचारको भन्दा माथि उठेर युनिभर्सल र विशुद्ध मानवकल्याणकारी बन्न के गर्नुपर्छ ?

हामीले राजनीतिलाई टाढा राखेर कवितालाई  बुझ्ने प्रयास गर्यौं भने सधैं अधुरो रहन्छ । कवि प्रथम त मान्छे हो, उसले आफ्नै अनुभव र विचार लेख्छ । ऊ उत्पीडित छ भने उसले उत्पीडनकै कविता लेख्छ । उसले आफ्नो मुक्ति कुनै वादमा देख्छ भने ऊ त्यही वादको पक्षमा उभिएर कविता लेख्न थाल्छ । हामी देख्न सक्छौं, इजरायली कविहरूले युद्धको बारेमा बढी कविता लेख्छन् र स्पेनिस कविहरूले रोमान्सको बारेमा लेख्छन् । जसले जे बढी देख्यो र भोग्यो त्यही नै लेख्ने हो । अझ नेपाल जस्तो बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा त कविहरूले आफ्नै भिन्न दर्शन, आस्था र मान्यताका कविताहरू लेख्छन् । अब यहाँ एउटा प्रश्न उठाउन सकिन्छ – यहाँका ती रैथाने दर्शनहरूलाई हामीले युनिभर्सल भन्ने कि नभन्ने ? कि रुमी, गुल्जार, गालिब र अङ्ग्रेजीमा स्थापित कवितालाई मात्र युनिभर्सल मान्ने ?

म पुन: हजुरको प्रश्नको मुल मुद्दामा आउन चाहन्छु । हामीले बुझेको जुन युनिभर्सल या मानवकल्याणकारी कविता छ त्यस्तो कविताहरू लेख्न पहिले समाज समृद्ध हुनुपर्छ । समाज समृद्ध हुन राजनीति राम्रो हुनुपर्छ । राजनीति राम्रो हुन तमाम नागरिक सचेत हुनुपर्छ । नागरिक सचेत हुन फेरि विद्रोह नै हुनुपर्छ । त्यसका लागि फेरि कवितामा कुनै न कुनै वाद आई नै हाल्छन् । हुन त समाज या राजनीतिमा स्थापित वादहरू सबै मानवहितकै उदेश्यका देखिन्छन्  ।

अचेल त कविता पनि कुन पार्टीको, कुन धर्मको, कुन गुटको भनेर व्यङ्ग्य गरिन्छ, तपाईंले जुलुसमा निकालेको कविताले कसको प्रतिनिधित्व गर्छ ?

मेरा कविताहरूले विशुद्ध मेरो चेतनाको प्रतिनिधित्व गर्छ । कविता लेख्दा मैले कुनै पार्टी, धर्म या गुटको पक्ष अथवा विपक्षमा भएर लेखेको छैन । आफू आम मानिस भएकाले आम दृष्टिकोणबाटै कविताहरू आएका छन् भन्ने लाग्छ ।

यहाँको कवितासँग भेट कसरी भयो ? कविता लेखन यात्रा कसरी शुरुवात भयो ?

म सानैदेखि कविता पढ्थें । भूपी शेरचन, श्रवण मुकारुङ्ग, विक्रम सुब्बाहरूको कविता मैले १३-१४ वर्षको उमेरमै दोहोर्याइतेहेर्याइ पढेको याद छ । कविता लेख्छु नै भन्ने चाहिँ सोचेको थिइनँ । हाम्रो इटहरी शहर एकदम साहित्यिक र साङ्गीतिक छ । त्यहाँ मनु मन्जिल, हेमन यात्री, बद्री भिखारी, उपेन्द्र पागल, टीका आत्रेयलगायत थुप्रै राम्रा कविहरूसँग विभिन्न साहित्यिक गोष्ठीहरूमा भेट भैरहन्थ्यो । साहित्यिक गोष्ठी र सम्मेलनमा देशकै लोकप्रिय अन्य कवि र कलाकारहरूको उपस्थिति पनि भैरहन्थ्यो । मभित्र एउटा भ्रुण-कवि थियो होला सायद, जसलाई इटहरिको साहित्यिक वातावरणले जन्माइदियो ।

तपाईंले कविता लेख्ने प्रक्रिया के कस्तो हुन्छ ?

कविता लेख्न म आफूलाई कहिल्यै कर गर्दिनँ । कुनै कुरा मेरो मनमा लाग्यो भन्दैमा लेख्न बसिहाल्दिनँ । कुनै पनि विषय विकास भएर या भावना मनमा उम्रेर, पाकेर, बिथोलिएर त्यसले अत्यन्तै धेरै पिरोलेर धेरै नै छट्पटी भएपछि मात्र लेख्न बस्छु । मलाई त्यसरी छट्पटाउनुमा मज्जा आउँछ । सबै कुरा मनमा तयार भएपछि लेख्छु । कुनै विषयमा लेखिसकेपछि सकेसम्म म फेरि त्यही विषयमा लेख्दिँन । नयाँ विषयको हन्टिङ्गतिर लाग्छु ।

सबैभन्दा पहिला त कविता लेख्नु आफैंमा एउटा गाह्रो काम हो । लेखेपछि प्रकाशन गर्न अझै तनावपूर्ण छ । छापिएपछि पाठकको हातहातमा पुर्‍याउन झन् महाभारत छ । यहाँले यस्ता प्राविधिक झन्झट कत्तिको सहनुपर्‍यो ?

मलाई लाग्छ, कविता लेख्नु नै कविको धर्म हो । कवि आफूले लेखेको कवितामा कन्फिडेन्ट हुनुपर्छ र उत्तरदायी पनि । त्यसपछि प्रकाशन गर्ने र पाठकको हातमा पुर्‍याउने भूमिका प्रकाशन गृहको हो । पक्कै पनि त्यो काम सजिलो हुँदैन र कवि एक्लैले त त्यो भार थाम्नै सक्दैन । मेरो हकमा कृतिको सम्पूर्ण जिम्मा साङ्ग्रीला बुक्स प्रकाशनले लिएकाले सहज नै भएको छ।

एउटा कविको मस्तिष्कमा के चलिरहेको हुन्छ ?

कवि आम मानिस नै हो । आम मानिसको मस्तिष्कमा जे चल्छ, कविको मस्तिष्कमा पनि त्यही चल्छ । फरक यत्ति हो कि कविले मस्तिष्कमा चलेको कुरालाई कलात्मक तरिकाले क्राफ्टमा उतार्न सक्छ ।

विचार र कलाको तालमेललाई नै कविता भनिन्छ । यहाँले विचार र कलालाई कवितामा कत्तिको महत्त्व दिनुहुन्छ ?

विचार, कला, शिल्प, प्रतीक, रिदम, अनुप्रास र आवश्यकता अनुसार मेटाफोर सबै नै कवितालाई सुन्दर बनाउने तत्त्वहरू हुन् । सकेसम्म म सबै पक्षलाई महत्त्वका साथ ध्यानमा राख्छु ।

यहाँलाई एकदम प्रभावित गरेका तीन कविता ?

थुप्रै छन् । तीन कवितामात्र त भन्नै सकिन्न । धेरै छन् खत्रा-खत्रा कविताहरू । बरु नेपाली कवितामा नपढी नहुने कविहरूको नाम दिन्छु । भूपी शेरचन, बैरागी काइला, ईश्वरवल्लभ, मोहन कोइराला, श्रवण मुकारुङ्ग, मनु मन्जिल । त्यसपछि युवाहरूमा स्वप्निल स्मृतिलाई पढ्न छुटाउनु हुँदैन ।

पछिल्लोपटक पढेर मन परेको कुनै कवितासङ्ग्रह ?

नवीन प्राचीनको ‘प्वाँख’ ।

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

जुनु दिव्या रानाको ‘रातो नदी’ पढिसकेर दीप दर्पणको ‘एक्लो पृथ्वी एक्लो मान्छे’ शुरु गरेको छु ।

तपाईंले कविता लेख्नुको उद्देश्य के हो ?

थाहा छैन । बस्, कवितामा आफूलाई भेट्टाउँछु र आनन्द लाग्छ ।

कविताको बदलिँदो स्वरूपलाई कसरी हेर्नुभएको छ ?

मलाई एक पाठकको नाताले एकदम खुशी लाग्छ कि अहिले थुप्रै राम्रा कविहरू नयाँनयाँ शैली र नयाँनयाँ क्राफ्टमा कविता लेख्दै आइरहनुभएको छ । विषयमा पनि फराकिलो हुँदै गइरहेको छ। चलचित्र र नाटकहरूमा पनि कवितालाई महत्त्वका साथ स्थान दिइराखिएको छ । कविता कन्सर्टहरू  भैराखेका छन् । कवितामा भिडियोहरू बनिराखेका छन् । समग्रमा कविताले आफ्नो बाटो फराकिलो बनाउँदै गइरहेको छ ।