मिर्जा गालिब उर्दू साहित्य सम्राज्यको सम्राट नै हुन् भने कार्ल मार्क्स प्रसिद्ध विचारक; जसले संसारलाई मार्क्सवादी सिद्धान्त दिएका छन् ।
यो लेख पढिरहनु भएका तपाईंले यी दुई महान् व्यक्तिसँग पक्कै परिचित हुनुहुन्छ । केही समय पहिलेसम्म गालिब र मार्क्स समकालीन भए पनि एकार्कासँग परिचित नभएको अड्कल गरिन्थ्यो । उनीहरू एकार्कासँग गुमनाम भएको व्याख्या गरिन्थ्यो ।
यी कुरा गलत साबित भयो जब `भ्वाइस अफ अमेरिका´मा कार्यरत आबिदा रिप्लेलाई लन्डनस्थित इन्डिया अफिसको पुस्तकालयमा मुगल समयको एउटा पुरानो च्यात्तिएको पुस्तक प्राप्त भयो । उक्त किताबलाई उठाउँदा पुस्तकको पन्नाभित्रबाट कागज खस्यो । त्यो कागजका अक्षरलाई पढेपछि उनी चकित भइन् । सो पन्ना मिर्जा गालिबले कार्ल मार्क्सलाई लेखेको पत्र थियो । लामो समयसम्मको खोजपछि उनलाई मार्क्सले गालिबलाई लेखेको पत्र पनि प्राप्त भयो । आउनोस्, आज सोही पत्रको अनुवाद पढौँ । पत्रमा गालिब र मार्क्स बीचको पत्राचारमा के-के कुरा लेखिएको थियो, पोको पन्तरो फुकाऔँ ।
कार्ल मार्क्सले गालिबका लागि लेखेको पत्र:
आइतबार २१ अप्रिल, सन् १८६७
लण्डन, इङ्ल्याण्ड
प्रिय गालिब,
दुईदिन पहिले साथी एंजलको पत्र प्राप्त भयो । पत्रको अन्त्यमा दुई लाइनको सुन्दर शेर थियो । धेरै प्रयासपछि थाहा हुन आयो‑ त्यो शेर त हिन्दुस्तानी शायर मिर्जा गालिबको रचना रहेछ । मित्र, अद्भुत लेख्नुहुन्छ ! मैले कहिले पनि सोचेको थिइनँ कि भारतजस्तो देशका नागरिकमा स्वतन्त्रताको क्रान्तिकारी भावना यति शीघ्रगामी भएर आउला । लार्डको व्यक्तिगत पुस्तकालयबाट तपाईंका अन्य रचनासँग साक्षात्कार हुने मौका पाएँ । केही रचनाले मन अत्यधिक प्रसन्न भयो ।
“हमको मालूम है ज़न्नत की हक़ीकत लेकिन,
दिल को ख़ुश रखने को ‘ग़ालिब’ ये ख़याल अच्छा है”
(तात्पर्यबोधक अर्थ: मलाई थाहा छ स्वर्गको सच्चाई तर, मनलाई खुसी राख्नको लागि `गालिब´ यो विचार सुन्दर छ ।)
कविताको आउने संस्करणमा क्रान्तिकारी कार्यकर्तालाई सम्बोधन गर्नुहोला: जमिनदार, प्रशासन, र धार्मिक गुरूहरूलाई चेतावनी दिनु जसले गरिब, मजदुरको रगत चुस्न बन्द गराओस् । संसारभरका मजदुर एक हुनु ।
हिन्दुस्तानी शेरो-शायरीको शैलीसँग परिचित छैन । तपाईं शायर हुनुहुन्छ, शब्दलाई नियन्त्रण गर्न सकिँदैन । जे लेखे पनि मौलिक लेख्नुहोला, जसको सन्देश स्पष्ट होस्- क्रान्ति । यो सँगसँगै अर्को सल्लाह दिन्छु; गजल, शेरो-शायरी लेख्न छोडेर मुक्त कविता सिर्जना गर्नुहोस् । त्यस्तो गर्दा तपाईं धेरै लेख्न सक्नुहुनेछ र अत्यधिक सोच्न मद्धत मिल्नेछ ।
यो पत्रसँगै कम्युनिस्ट मेनिफेस्टोको हिन्दुस्तानी संस्करण पठाएको छु । दुर्भाग्यवश पहिलो संस्करणको अनुवाद उपलब्ध छैन । यदि यो मन पराउनुभयो भने आउने दिनमा अन्य साहित्य पठाउनेछु । वर्तमान अवस्थामा भारत अंग्रेजी सम्राजवादको रोगमा परिवर्तित गरिएको छ । शोषित मजदुरका सामूहिक प्रयासले मात्र ब्रिटिस अपराधीहरूको पञ्जाबाट स्वतन्त्र गराउन सकिनेछ ।
तपाईंले पश्चिमको आधुनिक दर्शनको साथसाथै एसियाका विद्धानको विचारलाई पनि अध्ययन गर्न जरुरी छ । मुगल राजाहरूका नवाबहरूका लागि झुटो शायरी गर्न छोडिदिनोस् । क्रान्ति निश्चित छ । दुनियाँको कुनै ताकतले यसलाई रोक्न सक्दैन ।
हिन्दुस्तानको क्रान्ति निरन्तर चलोस् भन्ने शुभकामना टक्राउन चाहन्छु ।
तपाईंको
कार्ल मार्क्स
°°°°° °°°°°°°° ° °°°°°°°°°
मिर्जा गालिबले कार्ल मार्क्सलाई लेखेको पत्र
९ सेप्टेम्बर, सन् १८६७
दिल्ली, हिन्दुस्तान
मेरो अञ्जान मित्र मार्क्स,
कम्युनिस्ट मेनिफेस्टोसँगै आज तपाईंको पत्र प्राप्त भयो । अब तपाईंको पत्रको के जवाफ दिऊँ ? दुईवटा कुरा छ…। पहिलो कुरा, तपाईं के लेख्नुहुन्छ, यसमा म अनभिज्ञ छु । दोस्रो कुरा, लेख्न र बोल्नका लागि म अब बूढो भएको छु । आज मेरा मित्रलाई पत्र लेख्दै थिएँ, सोचेँ कि तपाईंलाई पनि केही लेखौँ ।
फरहाद (सन्दर्भमा, गालिबको एउटा कविता) को बारेमा तपाईंको विचार गलत छ । फरहाद कुनै मजदुर होइनन्, जस्तो तपाईं सोचिरहनु भएको छ । उनी एक प्रेमी हुन् । प्रेमको सन्दर्भमा फरहादको सोचले मलाई प्रभावित गरेन । ऊ प्रेममा पागल थियो र हरक्षण प्रेमको लागि आत्महत्या गर्ने सोच्थ्यो । अनि तपाईं कुन स्वतन्त्रताको कुरा गर्दै हुनुहुन्छ ? स्वतन्त्रता त दस वर्ष पहिले सन् १८५७ मा बितेर गयो । आज मेरो देशको सडकमा अंग्रेज छाती फुलाएर हिँडिरहेका छन् । जनता उनको स्तुति गाउँछ्न् … डराउँछन् । मुगलहरूको शाही रहनसहन अतीत बनिसक्यो । उस्ताद-शागिर्द (गुरु-चेला) परम्पराले पनि बिस्तारै आफ्नो आकर्षण घटाउँदै छ ।
यदि तपाईं विश्वास गर्नुहुन्न भने कुनै दिन दिल्ली आउनु । यो दिल्लीको मात्र कुरा होइन । लखनउले पनि आफ्नो अनुशासन गुमाइसके… थाहा छैन ती व्यक्ति र अनुशासन कहाँ बेपत्ता भयो । तपाईं कुन क्रान्तिको भविष्यवाणी गर्दै हुनुहुन्छ ?
तपाईंले लेखेको पत्रमा मेरो शेरो-शायरी र गजलका शैली परिवर्तन गर्ने सल्लाह दिनुभएको रहेछ । सायद, तपाईंलाई थाहा छैन होला, शेरो-शायरी वा गजल लेख्ने कुरा होइन । यो तपाईंको हृदयमा कहिलेकाहीँ आउने कुरा हो । मेरो मामिलामा फरक छ । जब विचारको प्रवाह हुन्छ, कुनै पनि रूपमा आउन सक्छ । त्यो गजल होस् वा शायरी ।
मलाई लाग्छ, गालिबको अन्दाज सबैभन्दा फरक छ । यसैकारण नवाबहरूको संरक्षण प्राप्त भयो । अब तपाईं भन्नुहुन्छ कि म उनीहरूको विरुद्धमा कलम चलाऊँ । यदि मैले उनीहरूको प्रशंसामा केही पङ्क्ति लेखिहाले पनि यसमा गलत के छ र ?
दर्शन के हो र यसको मेरो जीवनमा के सम्बन्ध छ, यो मैले भन्दा बढी सायदै अरु कसैले बुझेको होला । मित्र , तपाईं कुन आधुनिक सोचको बारेमा कुरा गर्दै हुनुहुन्छ ? यदि तपाईं साच्चिकै दर्शन जान्नुहुन्छ भने, वेदान्त र वहदुत-उल-वजुद पढनोस् । क्रान्तिको रट लगाउन छोडिनोस् । तपाईं लण्डनमा बस्नुहुन्छ… मेरो एउटा काम गरिदिनोस् । भायसरायलाई मेरो पेन्सनको लागि सिफारिस पत्र खसालिदिनु ।
धेरै थाकेँ । बस् यहीँसम्म ।
तपाईंको
गालिब
प्रस्तुति : जनक कार्की



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 









