स्वप्निल नीरव पाल्पामा जन्मिएकी हुन् । उनको पहिलो कथा सङ्ग्रह `उज्यालोतिर´ विसं  २०६९ मा प्रकाशित भएको हो । उनी निरन्तर कथा लेखनमा साधनारत छिन् । बाह्रखरी कथा प्रतियोगिता -२०६८ मा द्वितीय हुन सफल नीरवलाई अहिले अर्को सफलता मिलेको छ । उनको कथामा बनेको चलचित्र `बगान’ यति बेला देशभर प्रदर्शन  भइरहेको छ । आज उनीसँग `बगान´ चलचित्रको कथामा केन्द्रित भएर कुराकानी गरेका छौँ ।

 

स्वप्निल नीरव

यति बेला तपाईंले लेखेको कथामा फिल्म बनेर देशभर प्रदर्शन  भइरहेको छ । कस्तो महसुस गर्दै हुनुहुन्छ ?

– धेरै खुसी लागेको छ । एउटा नयाँ खुसीको आकाश हेरिरहेको जस्तो लाग्दै छ । त्यो आकाशमा मेरो सिर्जनाको चङ्गा उडिरहे जस्तो लागेको छ । खुसीका जून तारा पनि चम्किरहेको जस्तो लाग्दै छ । अनि नव- आकाशमा एउटा नौलो सूर्यको उदय भएको जस्तो लागिरहेछ ।

तपाईं एकदम चुपचाप साधना गर्ने कथाकार हुनुहुन्छ । तपाईंको कथामा फिल्म बन्ने योजना कसरी अगाडि बढ्यो ?

– बगान कथा संयुक्त कथा सङ्ग्रह प्रेमिलमा प्रकाशित भएको थियो । निर्देशक सरोज खनालले सो सङ्ग्रह  प्राप्त गर्नुभएछ । अनि उहाँलाई बगान कथा मन परेपछि मलाई सम्पर्क गर्नुभयो ।

तपाईंले बाह्रखरी कथा प्रतियोगिता -२०७८ मा द्वितीय पुरस्कार जित्नुभयो । पहिलो कथा सङ्ग्रह प्रकाशित गरेको एक दशक बितिसकेको छ । लामो समयदेखि साहित्यमा साधना गरिरहनु भएको छ । खासमा कथाले लेखेर के पाउनुभयो जस्तो लाग्छ ?

– कथा लेखेर खास केही पाउनु भन्दा पनि  साहित्यको आयाम कति फराकिलो या साँघुरो छ भनेर जान्ने मौका पाएको छु ।

लेखेर बाँच्न सकिन्छ वा सकिन्न भन्ने कुरामा धेरै विमर्श भइरहेको पाइन्छ । सामान्य पत्रपत्रिकामा आक्कलझुक्कल कथा प्रकाशित हुँदा सीमित पारिश्रमिक पाउन पनि सकिन्छ र नपाउन पनि । किताबको बिक्रीबाट पनि सबै लेखकले ठुलै रकम कमाइ हाल्छ भन्ने ग्यारेन्टी छैन । फिल्मको बजेट धेरै हुन्छ । यहाँको कथा फिल्मको लागि चयन भएपछि के कस्तो पारिश्रमिक प्राप्त गर्नुभयो ? खुलाउन मिल्छ ?

-पारिश्रमिक भनेर नै मैले लिएको छैन । तर फिल्म युट्युबमा आइसकेपछि नाफाको केही प्रतिशत लिने सम्झौता भएको छ ।

एउटा फिल्म बन्न धेरै जनाको मेहनत  लागेको हुन्छ । सबैले आफ्नो पारिश्रमिक काम सकिएपछि पाउँछन् नै । कथा फिल्मको मेरुदण्ड हो तर पनि कथाकारलाई आफ्नो पारिश्रमिक पाउन युट्युबको ब्रोडकास्ट पर्खिन पर्ने किन हो ? यसमा तपाईं कसरी सहमत हुनुभयो ?

– मलाई नेपाली फिल्ममा एउटा कथालाई कति पैसा दिन्छ भन्ने जानकारी छैन । फेरि म नयाँ पनि हुँ । त्यसैले मैले यसमा खास धेरै सोचिन र युट्युब राइट लिएको हुँ ।

साँच्चै हाम्रो समाजमा लेखनको मूल्य पाउन निकै कठिन छ । यसमा दोष लेखकको हो कि लेखनलाई प्रयोग गरेर व्यवसाय गर्नेहरूको ?

– लेखकले त लेख्ने काम गर्छ । प्रकाशकले इमानदार भएर धेरै थोरै पारिश्रमिक दिनै पर्छ । धेरै लेखकले रचना छापिएपछि पैसा माग्दैनन् । प्रकाशकले पनि दिन खोज्दैनन् । कतिपय प्रकाशकसँग त माग्दा माग्दा हैरान भइन्छ तर दिँदैनन् ।

आफूले लेखेको कथालाई ठुलो पर्दामा हेर्दा कस्तो महसुस गर्नुभयो ?

– गुमनाम मान्छेको कथा पर्दामा उतारिनु जस्तो गर्वको कुरा सायदै छ । अहिले फिल्म हेरेपछि दर्शकको प्रतिक्रिया सुन्दा मैले राम्रो लेखेको रहेछु भनेर खुसी लागेको छ ।

तपाईंले जुन उद्देश्यले कथा लेख्नुभएको थियो के त्यो कथाले पर्दामार्फत न्याय गर्न सकेको  लाग्छ ?

– जुन प्लटमा कथा लेखेँ, त्यसलाई फिल्मले न्याय गरेको छ । तर कथामा कतिपय संवाद आवश्यक थिएन कि जस्तो लाग्छ ।

यो कथा कहिले र कस्तो परिस्थितिमा लेख्नुभएको हो ?

– मेरी आमा स्वयं पनि एकल महिला हुनुहुन्छ । उहाँको एक्लोपन नजिकबाट महसुस गरेको छु । एक दिन मैले आमालाई बिहे गर्नुस् भनेको थिएँ । त्यति बेला आमाले भन्नुभाको कुराले मलाई छोयो । पछि यै कुरालाई लिएर कथा लेखेँ ।

साहित्य क्षेत्रमा अबको योजना के छ ?

– योजना खास छैन । मात्रै पढिरहन र केही नयाँ लेख्न सकूँ । साहित्य अझ विस्तृत बुझ्न सकूँ ।