फिल्मको कथातिर बग्नु पहिले फिल्मको कथाको स्रोत देख्ने नयनको कथातिर लागौँ; यो रोचक छ । ती आँखामा बगेका सपनाको नदीहरूमा शालिग्राम छन् ।
हामी सबैको घरमा सुपरहिरोइनको उपस्थिति त हुन्छ नै । त्यो सुपर हिरोइन हो, आमा । आमा जसको भूमिका बहुकाममा हुने गर्दछ । आमा कसैको सहयोगबिना एक्लै युद्धमा होमिने `वान वुमन आर्मी´ हो । जो घरको हेड सेफदेखि स्टेवार्ड, हाउसकिपिङदेखि लन्ड्री, वेटरदेखि होस्टको काम एक्लै भ्याउँछिन् ।
हो त्यस्तै `वान वुमन आर्मी´ हुन `भिलेज रकस्टार’की आमा अर्थात निर्देशक, छायाकार, कथाकार, पटकथाकार, सम्पादक, निर्माता आदि सबै भूमिका एक्लै निभाउने एक मात्र व्यक्तित्व रिमा दास ।
रिमा दास कुनै समय नायिका बन्नका लागि मुम्बई पुग्छिन् । अवसर नपाएपछि डिप्रेस्ड हुन्छिन् । गाउँ फर्केर फिल्म बनाउन पुग्छिन् । फिल्म बनाउने न त कुनै ज्ञान, न शिक्षा । मात्र अनुभव असल दर्शकको । फिल्म बनाउन न कुनै लगानी, न त कुनै प्राविधिक साधन । थियो त मात्र साहस, उत्साह र जुनून ।
क्यानोन ५ डि क्यामरा किन्छिन् । जसका लागि आफ्ना गहना बेचेर पनि पुग्दैन अनि ऋणसम्म लिन्छिन् । अनि बनाउँछिन् फिल्म, जसले कयौं अवार्ड जित्छ । ८० वटा फिल्म फेस्टिभलमा प्रिमियर हुन्छ । भारतबाट अस्कर अवार्डका लागि छनोट हुन्छ । उनले सपना देखिन्, सपनालाई विपना बनाइन् । फिल्म पनि एउटा सपना देख्ने १० वर्षे बालिकाको विषयमा नै बनाइन् ।
परिवेश
फिल्ममा असमको छायागाउँ चित्रांकन हुन्छ । आजको समय प्रायः मान्छे गाउँ छोडेर सहरमा स्थानान्तरण गरेको समय पनि हो । त्यसैले गाउँको हरेक दृष्यले त्यस्ता पात्रलाई नोस्टाल्जिक बनाउँछ ।
गाउँ समथर मैदानमा लम्पसार परेको छ । हरियाहरिया फराकिला गौचरण मोहित बनाउन सफल हुन्छ । तलाउ र खोलाले आँखालाई शीतल बनाउँछ । रूखले दिने सुख छाहारीमय छ । सुरिला सुपारीका बोटले सर्लक्क मन चोर्छ । गाउँको बजारले हजार आनन्द दिन्छ । कच्ची माटो र सोटाले बारेका घरहरू छन् । पाठशालाले आकाशे सर्ट र निलो पाइन्ट लगाएको सम्झना ताजा बनाएर जान्छ । रूखका हाँगाहाँगामा बसेर-सुतेर आराम गरेको आराम गरेको दृश्यले मन बाँदरबाँदर चकचके बनाइदिन्छ । गोठाला गएको दृश्य छ । पानीमा पौडिएको आनन्द छ । फिल्मको परिवेशले हरकोहीलाई बालापनको सुन्दरपुरमा लगेर खलबली बनाउँछ ।
कथावस्तु
एउटा सामान्य गाउँ छ । त्यहाँ दस वर्षे बालिका आफ्नो आमा र दाइसँग हुर्किँदै छे । उनका साथीभाइको समूह छ । आमा एकल महिला भएकाले आर्थिक स्थिति कमजोर छ । खेतीपाती र बजारमा फुटपाथ पसलले जीविका चलेको छ । प्राय उनीहरू तरकारी बिनाको निस्तो भात खान्छन् । खेती प्राय बाढीले बगाइरहन्छ ।
यस्तो दयनीय अवस्थाबाट बालिकाले एउटा सपना देख्छिन् । गितार किन्ने र सांगीतिक समूह बनाउने । आफ्नो सपना बाँच्न घरमै बनाएको खेलौना गितार लगायत बाद्ययन्त्र लिएर गाउँका एउटा समुहले आफूहरू सांगीतिक समूह भएर सांगीतिक प्रस्तुति दिएको अभिनयको खेल खेलिरहन्छन् ।
यो फिल्म एउटा होमियोपेथी फिल्म हो । यसले एलोपेथीले जस्तो झट्टै छुदैन तर छोएपछि लामो समयसम्मका निको बनाउँछ । होमियोप्याथी जस्तै यो फिल्म एउटा कच्चापदार्थ हो । जसलाई अनावश्यक चम्काइएको छैन ।
यस फिल्मले सपना देख्न सिकाउँछ । सपनाको कुनै वर्ग हुँदैन भन्छ । सपना गमलामा गुलाब बनेर मात्र होइन हिलोमा कमल बनेर पनि फुल्छ भनेर बताउँछ ।
फिल्ममा ग्रामिण महिलाको अवस्था पनि चित्रण गरिएको छ । महिलाले आफ्ना सन्तानको लागि के कस्तो त्याग गर्नुपर्छ ; आफ्ना इच्छा र रहर भनेकै सन्तानको खुसीमा भेटाउनुपर्छ भन्ने जस्ता कुरालाई नदेखिने हिसाबबाट देखाइएको छ । त्यहीँ ठाउँमा एकल पुरुष भएको भए पक्कै अर्को विहे गरिसकेको हुन्थ्यो ।
केही परम्परा र सांस्कृतिक पक्षलाई पनि उठाइएको छ । बालिका पहिलोपटक रजश्वला भएपछि गरिने रजश्वला उत्सवलाई मिहिन ढंगबाट उतारिएको छ । एउटी बालिका जो मनमोजी छ ; केटा र केटी साथीको भेद बुझिसकेको छैन ।सुपारीको सुरिलो रूख चढ्न खप्पिस छिन् । आमालाई पनि सहयोग भएको छ; सुपारी टिप्न । जो हाँगैहाँगा भएको रूखमा चढेर साथीहरूसँग बिन्दास मस्ती गर्छिन् । अचानक रजश्वलापछि केटासाथीसँग खेल्न हुँदैन, रुख चढ्न हुँदैन भन्ने जस्ता कुरा बताइन्छ ।
जीवन-दर्शन
फिल्ममा जब बालिकाले एउटा कथाको कमिक्स किताब प्राप्त गर्छिन् । त्यहाँ आफूहरू जस्तै साना बालबालिकाको सांगीतिक समुहले प्रस्तुती दिएर पुरस्कार जितेको कथा पढ्छिन् । त्यो कथाले उनलाई थप हौसला र प्रेरणा मिल्छ । सपनालाई मलजल गर्न मद्धत पुग्छ। यसले जीवन र दर्शन बुझ्न पुस्तकको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने सिकाउँछ ।
फिल्ममा एउटा ज्येष्ठ नागरिक गोठालो छन् । जसले गोठाला जाँदा बालबालिकालाई महाभारतको कथा/किस्सा सुनाउँछ्न् ।
जसमा युद्धिष्ठिरले दिएको जवाफबाट सुन्दर जीवन दर्शन बुझ्न सकिन्छ । कथाका अनुसार – सबैभन्दा धेरै धनी त्यहीँ हो जसले लोभ त्याग्न सक्छ र धर्म पालना गर्नसक्छ । सबैभन्दा तीव्र गतिमा बहने भनेको मस्तिष्क हो र आकाशभन्दा पनि फराकिलो भनेको आमा हो । यी दर्शनले जीवनलाई बोकेको छ । जब बालिका घर गएर आफ्नी आमालाई आकाशभन्दा पनि फराकिलो भनेको त आमा हो ए भन्छिन् । त्यतिबेला आमाको अनुहारमा अनमोल खुसी झल्किन्छ ।
फिल्ममा एउटा दृश्य छ । जसमा बाढी आएर सबै बालीनाली बगाएर लगिसकेपछि डुङ्गामा अनुगमन गर्न जाँदा । छोरीले आमालाई हरेकवर्ष बाढीले बगाउने खेतीपाती किन निरन्तरता गर्नुहुन्छ भनेर सोध्छिन् । त्यसको जवाफमा आमाले भन्छिन, `काम भनेको धर्म हो । गरिबहरूसँग कडा परिश्रम बाहेक अर्को विकल्प हुँदैन ।´ यो संवादमा एउटा सिङ्गो जीवन-दर्शन लुकेको छ ।
गाउँको हजुरबाले बालिकाको गितार किन्ने इच्छालाई संबोधन गर्दै – इच्छाशक्ति कायम राख्नु, राम्रो पढेर छात्रवृत्ति प्राप्त गर्नु वा बाख्राको दूध वा तरकारी बेँचेर पैसा जम्मा गरेर किन्न सकिने जवाफ दिएपछि । बालिकाले सानै उमेरमा अर्थशास्त्रको थोरै जीवन-दर्शन बुझ्न सफल हुन्छिन् ।
यो फिल्म क्यामराको कलमले पर्दामा लेखेको एउटा सुन्दर दृष्य कविता हो । जसरी एउटा सुन्दर कविताभित्र वेदना, विभेद, सिमान्तकृत समस्या, आवेग, सपना, विसङ्गिती, रुपान्तरण, जीवन दर्शन आदि हुन्छ । यसमा त्यो सबै छन् ।एउटै कुरा पनि समयानुसार सुन्दर र कुरुप हुनसक्छ भन्ने कुरालाई पनि देखाइएको छ । नदी जो फिल्मभर एकदम सुन्दर लाग्छ; त्यही नदीले बाली र घर डुबाउँदा कुरुप लाग्छ ।
यो फिल्मको प्राविधिक पक्ष कमजोर लाग्न सक्छ । फिल्म हेर्दा फिल्म हेरेजस्तो लाग्दैन; बरू कुनै जीवन बाँचे जस्तो लाग्छ । कहिलेकाही कमजोरी पनि शक्तिशाली बन्ने रहेछन् । यो फिल्म यति काँचो छ कि जसलाई पकाएर खाएको भए त्यति आनन्द नआउन सक्थ्यो । जसरी फलफुल पकाएर खाँदा स्वादको सत्यनास हुन्छ । यो फिल्म सबैको लागि पक्कै होइन । यो फिल्म कलाप्रधान चलचित्र मन पराउनेको लागि मल्टी भिटामिन नै हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।