कवितामाथिको रियालिटी शो “द पोइट आइडल” करिब करिब अन्तिम चरणमा आइसकेको छ । यो अन्तरवार्ता तयार पार्दासम्म आइडलको २८ औँ एपिसोड प्रसारण भइसकेको छ । आइडलको मञ्चबाट कविहरु बाहिरिने क्रम पनि जारी नै छ । गत बिहीबार चैत १६ गते प्रसारित २७ औँ एपिसोडबाट बाग्लुङकी कवि रविना कंँडेल आउट भएसँगै आइडलको मञ्चमा अब ७ जना कविहरु प्रतिस्पर्धामा छन । उनीहरूमध्ये ३ जना कविहरुलाई आइडलको मञ्चबाट बाहिर पठाइसके पछि बाँकी रहेका ४ जना कविहरुबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । त्यो दिन आउन अब टाढा छैन ।

पोइट आइडल AP1 टेलिभिजनमा हरेक बिहीबार र शुक्रबार नेपाली समय राती ८:३० बजे प्रसारण हुँदै आएको छ । साथै यसलाई OSR रियालिटीको युट्युब च्यानलमा पनि हेर्न सकिनेछ । “डन डिरेक्टर” को रुपमा परिचित अमन प्रताप अधिकारीले पोइट आइडलको निर्देशन गरिरहनु भएको छ । आइडलमा चर्चित कविद्वय उपेन्द्र सुब्बा र विप्लव प्रतीक, रङ्गकर्मी अनुप बराल र नायिका सुरक्षा पन्त निर्णायकमा हुनुहुन्छ । त्यसैगरी आइडलको उद्घोषकमा नायक दिव्यदेव हुनुहुन्छ । गामबेँसीका कवि क्षेत्र प्रताप अधिकारीको सम्झनामा उहाँका छोरा अमन प्रतापले पोइट आइडल निर्माण गर्नुभएको हो ।

यसअघि पोइट आइडलको दोस्रो चरणको फिजिकल अडिसनबाट बाहिरिनु भएकी कवि रविना कँडेलले “वाइल्डकार्ड इन्ट्री” मार्फत सिधै उत्कृष्ट ८ मा प्रवेश पाउनु भएको थियो । कवि रविनासँगै कवि न्याथन रायन पनि वाइल्ड कार्डमार्फत फेरि एक पटक आइडलको मञ्चमा पुग्नु भएको छ । त्यसअघि पनि उहाँ उत्कृष्ट ८ बाट नै आउट हुनु भएको थियो ।

रेडजोनमा परेसँगै कवि रविना र दोलखका कवि अनुप न्यौपानेबीच अन्तिम प्रतिस्पर्धा भएको थियो । जसमा कवि रविनालाई १९ अङ्कले पछि पार्दै कवि अनुपले आइडलको मञ्चमा पुन: एक पटक आफ्नो स्थान सुरक्षित गर्नुभएको छ । यसअघि पनि उहाँ एक पटक रेडजोनमा परिसक्नु भएको थियो । बटम टुमा परेसँगै कवि अनुप र कवि रविनालाई कविता लेखनका लागि ३० मिनेटको समय दिइएको थियो ।

कविता लेखनका लागि विषयबस्तु दिने क्रममा फेसबुकतिर प्रयोग हुने “इमोजी” अनुहारमा लगाएका ५ जना मान्छेहरु स्टेजमा आए र मौन प्रस्तुति दिएर गए । त्यसैमा केन्द्रित रहेर कविता लेख्नु पर्ने थियो । जसमा २ सय पूर्णाङ्क तोकिएको हुन्छ ।

कवि रविनाले कवितासँग यात्रा सुरु गरेको झण्डै एक दशक हुन लाग्यो । ठ्याक्कै तिथि मिति याद नभए पनि २०७० सालबाट लेख्न थालेको हो कि भन्ने उहाँ अनुमान लाउनु हुन्छ । त्यतिबेला उहाँ जम्मा ११ वर्षको हुनुहुन्थ्यो । अहिले उहाँ जीवनको २१ औँ वसन्तमा हुनुहुन्छ । यति सानै उमेरमा कवितामार्फत आइडलको त्यो भव्य मञ्चसम्म पुग्न सक्नु उहाँ स्वयमका लागि पनि ठुलो कुरा थियो ।

कवि रविनाको जन्म २०५९ साल बैशाख २३ गते बाग्लुङको काँठेखोला गाउँपालिका स्थित बिहुँकाेट गाउँमा भएको हो । माता झनादेवी कंँडेल र पिता टीकाराम कँडेलकी उहाँ माइली छोरी हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयमा बिबिएस् तेस्राे वर्षमा अध्यनरत कवि रविनाले यसअघि बाग्लुङमै रहेको
गरिमा आवसीय माविमा पढाउने काम गर्नुहुन्थ्यो ।

बुबाका संस्कृत पुस्तकहरु र श्लोक वाचनबाट प्रभावित भएर आफ्नो कविता लेखन यात्रा सुरु भएको उहाँ सुनाउनु हुन्छ । उहाँले कविताको गद्य र पद्य दुबै शैलीमा कलम चलाउँदै आउनु भएको छ । कविताले जीवन्तताको आभाष दिलाउनुका साथै लुकेका मनोभावहरु उजागर गर्छ भन्ने कुरामा उहाँ विश्वास राख्नुहुन्छ ।

अब लागौँ पोइट आइडलबाट बाहिरिएपछि कवि रविना कँडेलसँग साहित्यपोस्टका लागि गरिएको कुराकानीको सम्पादित अंशतर्फ ।

पोइट आइडलको फिजिकल अडिसनबाट आउट हुनु भएको थियो पहिले । पछि फेरि वाइल्डकार्ड इन्ट्रीमार्फत पुन: प्रवेश पाउनु भयो । प्रवेश पाएको लगत्तै अर्को हप्ता फेरि बाहिरिनु भयो । पोइट आइडलमा आउट हुनका लागि मात्र गए जस्तो भयो नि !

– पाेइट आइडलमा आउट हुनका लागि भन्दा पनि छाेटाे समयमा धेरै कुरा सिक्न गए जस्ताे भयाे भन्न उपयुक्त ठान्छु।

वाइल्ड कार्ड इन्ट्रीका लागि तपाईंलाई पोइट आइडलबाट बोलाउँदा कस्तो लागेको थियो ?

– वाइल्डकार्ड इन्ट्रिका लागि बाेलाइँदा एक खालकाे नयाँ अवसर प्राप्त भएकाे अनुभव भएको थियो ।

एक पटक आउट भइसकेको मान्छे फेरि त्यही मञ्चमा फर्किएर जाँदै गर्दा के सोचेर जानु भएको थियो ? अथवा भनौँ अब चाहिँ आइडलको प्रतिस्पर्धामा अलिक परसम्म जान्छु भन्ने लागेको थियो ? कि, “हैन एक पटक भए पनि प्रस्तुति दिन पाइन्छ, जाऊँ न त” भन्ने लागेको थियो ?

– खासमा म कुनै अभिलाषा भन्दा पनि मभित्रै रहेका, कवितामार्फत पोखिएका विचारहरू सुनाउने अवसरको रूपमा लिएर गएकी थिएँ ।

यदि तपाईं पहिले नै उत्कृष्ट १४ मा छानिनु भएको भए उत्कृष्ट ८ सम्म नआउन पनि सक्नुहुन्थ्यो । यो मेरो आशङ्का मात्रै हो । तर वाइल्ड कार्डमार्फत सिधै उत्कृष्ट ८ मा प्रवेश गर्ने एउटा ठुलो अवसर प्राप्त भयो । यसको मतलब पहिले फिजिकल अडिसनबाट आउट भएर राम्रै भएछ । जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने मलाई लाग्यो । त्यस्तो हो ?

– एक हिसाबले त हाे भन्नै नमिल्ने पनि हाेइन । तर उत्कृष्ट १४ मा परेर उत्कृष्ट ८ सम्म आउन नसकेकै भए पनि आफ्ना रचनाहरूले त्यो गरिमामय मञ्च पाएकाेमा राम्रैका लागि भएकाे मान्न सकिन्थ्यो ।

वाइल्ड कार्ड इन्ट्रीका लागि प्रस्तुति दिन ७ जना कविहरुलाई आइडलको मञ्चमा बोलाइएको थियो । त्यसमा ५ जना कविहरुलाई पछि पार्दै तपाईंले उत्कृष्ट ८ मा आफ्नो स्थान सुरक्षित गर्नुभयो । त्यतिबेला चाहिँ कस्तो लागेको थियो ?

– वाइल्ड कार्डबाट शीर्ष ८ मा आउँदा चाहिँ म खुसी त थिएँ नै, साथै कवितामा केही नयाँ र ऊर्जाशील पक्षहरू समेट्नका लागि तत्परता पनि थियाे।

वाइल्ड कार्डमार्फत उत्कृष्ट ८ मा प्रवेश गरिसकेपछि आइडलमा त्यसपछिको यात्रा चाहिँ कहाँसम्म पुग्ला भन्ने सोच्नु भएको थियो ?

– यात्रा कहाँसम्म भन्ने खासै केही साेच थिएन। जीवन त अनिश्चित छ भने याे यात्रा त्यही जीवनकाे एउटा सानाे अंश न हाे। महत्त्वपूर्ण थियाे, तर स्वभाविक रुपले अनिश्चित पनि।

उत्कृष्ट ८ मा पुगेर आइडलको मञ्च छोड्दै गर्दा तपाईं अलिक बेसी नै रुनुभयो । अलिक बेसी नै भावुक हुनु भएको थियो । त्यतिबेला के के सम्झिनु भयो र त्यसरी रुन पुग्नुभयो ?

– बसाइ छोटै भए पनि पोइट आइडलको टिम मेरो लागि एउटा परिवार सरह बनिसकेको थियो र भेटिएपछि छुट्नुपर्ने शाश्वत सत्य मस्तिष्कमा भए पनि मनले मान्न सायद अझै केही भोगाइहरु बाँकी छन् । कारण यही होला, सायद।

कवि अनुप न्यौपाने पोइट आइडलको मञ्चमा जमेर बसेको कवि । यो भन्दा पहिले पनि उहाँ रेडजोनमा परेर अर्को कविलाई पछि पार्दै आफ्नो स्थान सुरक्षित गर्न सफल भइसकेको कवि । उहाँसँग अन्तिम प्रतिस्पर्धा गरिरहँदा आफ्नो यात्रा अघि बढ्ला अथवा यहीँ टुङ्गिएला, के सोच्नु भएको थियो ?

– वास्तवमा अनुप दाजुको फ्यान नै हो म । थाहा थियो, पक्कै पनि राम्रो कविता लेख्नुहुनेछ भन्ने। तर मलाई अवश्य बाहिरिन्छु अथवा अवश्य अगाडी बढ्छु भन्ने केही लगेन । लगेको थियो त बस् अब लेख्नु छ र राम्रो लेख्नु छ।

तपाईंहरु दुई जना रेडजोनमा परेपछि कविता लेखनका लागि विषयबस्तु दिने क्रममा फेसबुकतिर प्रयोग हुने “इमोजी” अनुहारमा लगाएका ५ जना मान्छेहरु स्टेजमा आए र के के गरे के के । एक पटक हेरेको भरमा त्यो के थियो ? भन्ने कुरा मैले त चाल पाउन सकिनँ । तपाईंले चाहिँ के बुझ्नुभयो र कविता लेख्नुभयो ?

– त्यो विषयमा मैले वास्तविक खुसी थुनिएको देखेँ अरू मनाेभावहरूका बीच। वास्तविकतामा कृत्रिमता हाबी भएकाे देखेँ । सामाजिक सञ्जालका भ्रमहरु , यस्तै ।

त्यसरी अरुले दिएको विषयमा आधा घन्टाभित्रमा कविता लेख्नु कत्तिको सकसपूर्ण हुँदो रैछ ?

– अरूले दिएको विषयमा छाेटाे समयमा कविता लेख्नु आफैँमा बाँधिनु हाे र बाँधिनुलाई एक किसिमकाे सकस नै मान्न सकिन्छ ।

पोइट आइडलको उत्कृष्ट ८ बाट बाहिरिँदै गर्दा, “पोइट आइडलले मलाई एउटा उद्देश्य दिएको छ । अब चाहिँ मलाई केही गर्नु छ साहित्यकै क्षेत्रमा” भन्ने खालको कुरा राख्नु भएको थियो । उसो भए भोलिका दिनमा के के गर्ने योजना बनाउनु भएको छ त ?

– मेरो जीवनमा घटेको एउटा प्रिय घटना हो द पोइट आइडल । भोलिको दिनको लागि मेरो मस्तिष्कमा साहित्य क्षेत्रमा केही गर्छु भन्ने ऊर्जा दिएको छ । लक्ष्य स्पष्ट छ । योजना स्पष्टीकरण भन्दा पनि नतिजा राम्रो देखिनु जरुरी ठान्छु ।

पोइट आइडलमा भाग लिएर आइसकेपछि आफ्नो कविता लेखनमा अथवा भनौँ आफ्नो व्यक्तिगत जीवनमा त्यस्तो खास केही परिवर्तन भएको महसुस गर्नुभयो ?

– पोइट आइडलमा भाग लिएर आइसकेपछि साहित्य क्षेत्रमा अगाडि बढ्न थप ऊर्जा प्राप्त भएको महसुस गरेकी छु। अझै धेरै सिकाइहरू बाँकी छन् । धेरै प्रयासहरू गर्नु छ । पोइट आइडललाई एउटा सुरुवात मानेको छु, साहित्यिक जीवनको ।

तपाईंको नजरमा पोइट आइडलको सबैभन्दा सुन्दर पक्ष के हो जस्तो लाग्छ ?

– नेपालभर रहेका तथा अन्यत्र रहेका नेपाली भाषी कविहरुलाई उजागर गर्नु, कवित्वलाई गरिएको सम्मान, कविता क्षेत्रमा नयाँ आयाम र पिताप्रतिको प्रेम, सद्भाव ।

“रियालिटी शो” भनेपछि भोटको कुरा आइहाल्छ । आइडलको मञ्चमा तपाईंले पनि दुई पटक भोटका लागि अपिल गर्ने मौका पाउनु भएको थियो । एउटा कविका लागि कत्तिको गाह्रो हो रैछ भोट माग्ने कुरा ?

– एकदमै गाह्रो । भोट अपिल गर्नु भनेको आफ्ना लागि अरुलाई दुख दिनु जस्तो लाग्छ । यो कत्ति पनि सहज कुरा थिएन मेरा लागि। पोइट आइडलको सबैभन्दा गाह्रो पक्ष भोट माग्नु हो भन्दा उपयुक्त हुन्छ।

छोटै समयका लागि भए पनि पोइट आइडलको क्लोज क्याम्पमा बस्ने मौका पाउनु भयो तपाईंले । कस्तो रह्यो त्यहाँको बसाइ चाहिँ ?

– क्लोज क्यम्पको बसाइ रमाइलो रह्यो। त्यहाँ मैले मेरा अग्रज कवि दाजु दिदीहरुबाट धेरै कुराहरु सिक्ने जान्ने अवसर पाएँ । कविताको र जीवनको बारेमा पनि ।

द पोइट आइडल हुँदैछ भनेर पहिलो पटक सुन्दा/समाचार पढ्दा तपाईंको पहिलो प्रतिक्रिया के थियो ?

– पोइट आइडल हुने कुरा मैले सुरुमा फेसबुकबाट थाहा पाएकी थिएँ। कविताको क्षेत्रमा हुन लागेको नयाँ आयाम देखेर प्रफुल्लित थिएँ।

पोइट आइडलको डिजिटल अडिसनमा भाग लिँदै गर्दा आइडलमा भाग लिएर कहाँसम्म पुगिएला भन्ने सोच्नु भएको थियो सुरुमा चाहिँ ?

– मलाई केही लागेकै थिएन खासमा । डिजिटल अडिसनका लागि भिडियो पठाउँदा त म छानिन्छु नै भन्ने कुरा पनि अनिश्चित थियो।

पोइट आइडलमा भाग लिएर विशेष के कुरा सिक्नु भयो कविता सम्बन्धी ?

– कवितामा युग अनुसारका नयाँ आयामहरु आउनु जरुरी छ, कविता विधाको गरिमालाई कहीँ कतै असर नगरी । यही कुरा सिकेँ।

पोइट आइडललाई सम्रगमा कसरी हेर्नुहुन्छ ? यस किसिमका कार्यक्रमले नेपाली कविताको क्षेत्रमा कस्तो प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?

– पोइट आइडल एउटा सकारात्मक सोचको प्रतीक हो, कविताको क्षेत्रलाई एउटा उचाइसम्म लैजानका लागि । यस्ता कार्यक्रमहरुले नेपाली कविताको क्षेत्रलाई नयाँ आयाम दिने छन् । जनमानसमा कवित्व चेतको विकास गर्ने छ ।

समग्रमा तपाईंका लागि पोइट आइडलको यात्रा कस्तो रह्यो ?

– मेरा लागि पोइट आइडलको यात्रा, सिकाइमूलक, नयाँ अनुभवहरु बटुल्ने अवसर र केही हदसम्म आफैँलाई चिन्ने अवसर पनि रह्यो ।

थप अन्य विशेष केही भए :

– छैन । यति धेरै प्रश्नहरूको उत्तर एकै पटकमा दिनु नै मेरा लागि विशेष हो । पोइट आइडलका निर्देशक अमन प्रताप अधिकारीप्रति धेरै सम्मानसहित धन्यवाद छ ।