साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि भीमनारायण श्रेष्ठको कवितासङ्ग्रह ‘भावलहर’ प्राप्त भएकाे छ ।

कहिले छिमेकीहरु आउँछन्
ब्रह्मपुत्रको छातीमा परेड खेल्छन्
कहिले आधार विना
लिपुलेकको निधार चिर्छन् ।
(बिरामी छ मेरो देश)

श्रेष्ठले आफ्ना कविताहरुमा प्रकृति, भूगोल, संस्कृति र इतिहासको वर्णनमा शब्दहरु खर्चिएका छन् । समय र मानवप्रतिको व्यङ्ग्य, विद्रोहका आवाज, रिस तथा विवशताहरु कविताका रुपमा देखापरेका छन् ।

अब यहाँ म त्यस्ती नारी बनी जन्मिन्छु
जसले सामन्तीको जरा उखेल्छिन्
पेट्रोल छर्की राँको बालेर
स्वार्थी यो समाजमा
दन्किएको आगो लिई
झोस्न समर्थ हुन्छु,
भोलिकी नारी म ।
(नारी)

‘कवि भीमनारायण श्रेष्ठ एक आधुनिक चेत भएका कवि हुन् । उनमा विद्यमान राजनैतिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक एवम् प्रेमिल चेतहरुले उनको काव्यकारितामा जलप लगाएको देखिन्छ ।’, पुस्तकको भूमिकामा तेजप्रकाश श्रेष्ठ लेख्छन् ।

त्यस्तै, मुकुन्द आचार्य श्रेष्ठका कविताका बारेमा भन्छन्, ‘अहिले ठोकुवा गरेर के भन्न सकिन्छ भने समाजमा घटेका, भोगेका र देखेका यर्थाथ वस्तु जगतलाई आधार बनाई लेखिएका कविताहरुको सँगालो प्रस्तुत ‘भावलहर’ कृति हो । कसै प्रति घृणा, द्वेष, गालीगलौज कतै पाइन्न । यो प्रशंसनीय प्रयास हो ।’

पुस्तकलाई चन्दागिरि साहित्य समाजले प्रकाशनमा ल्याएको हो । ४४ थान कविता सङ्ग्रहित पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।