चार
नुहाएर एक्लो
सुनसान पँधेरोमा
खास्टो बेरेर
घाम तिमी तापिरहँदा
म पनि
तिम्रो खास्टो –
सुस्तरी तानूँ-तानूँ झैं लाग्छ,
जसरी जाडाको एका बिहान
कति मायाले
सूर्य
रेसमी खास्टो तानेर
पृथ्वीलाई नाङ्गो पार्दछ ।
द्वारिका श्रेष्ठको यो कविता ‘द्वारिका श्रेष्ठ समग्र कविता’मा संकलित छ । पुस्तक ‘द्वारिका श्रेष्ठ समग्र कविता’का सम्पादक रोशन थापा ‘नीरव’ हुन् भने पुस्तकलाई ‘जलरिका साहित्य सेवा’ले बजारमा ल्याएको हो । प्रस्तुत पुस्तक साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई प्राप्त भएको छ ।
पुस्तकलाई १. शीतको थोपा (वि.सं.२०१५), २. द्वारिका श्रेष्ठका कविता (वि.सं.२०३४), ३. फुटकर कविता-बाँकी रङ ४. अप्रकाशित साढे पाँच दशक कविता विविध रङ, ५. परिशिष्ट-१, ६. परिशिष्ट-२ गरी ६ खण्डमा विभाजन गरिएको छ ।
रोशन थापा ‘नीरव’ लेख्छन्, “हुन त कवि द्वारिकाका कवितामा ठूलो आँधीबेहरीयुक्त अभिव्यञ्जनाहरूको चलखेल छैन । छैन आत्मरतिमा डुबिने प्रक्रिया पनि र निराशाको ज्याद्रो दृष्टिकोण । कवितामा कविले व्यक्त गर्न खोजेको वा चाहेको परिस्थिति वा चित्रलाई आफ्नो प्रवञ्चनाहीन लेखनकारीले जस्तो समाइ गरेको छ वा आत्मसात् गरेको छ कलमले त्यस्तै उनको सोचअनुरूप लिपिबद्ध हुन पुगेका छन् कविताहरू । उनको कवितामा आउने बिम्बहरूको भावार्थ पनि त्यही नै हो, जस्तो उनले प्रत्यक्ष अनुभव गरेका छन् र प्रत्यक्ष नै प्रेषित गरेका छन् । गाउँघरको सामान्य जीवन होस् वा भर्खर सहरतिर झर्दै गरेको युवा मानसिकताको स्थिति, सहरी नियतिको खेल होस् वा सामाजिक सन्दर्भमा पारिवारिक जनको उपस्थितिबारेको चित्रण, यी सबैमा उनी निर्धक्क आफूले देखेको र भन्न चाहेको कुरालाई स्पष्ट भन्न पुग्छन् । उनको कविताको भावार्थ यही हो र हो विशेषता पनि ।”
‘शीतको थोपा’ कवितासंग्रह प्रथम संस्करणको भूमिकामा बालकृष्ण समले उल्लेख गरेका छन्, “ द्वारिका श्रेष्ठले केही वर्षअगि कवि सम्मेलनमा कविता पाठ गरेको मैले सुनेको थिएँ, त्यसै बेलादेखि म प्रभावित भएको छु । कवि बनाइँदैन, जन्मन्छ । यो हो बिनाशिक्षा र परिश्रम प्रतिभा बोल्न सक्तैन, तर यो पनि हो कि शिक्षा र परिश्रमले विद्या बोल्दछ । तर बिनाप्रतिभा कविता बोल्दैन । राम्रो अनुहार र मीठो स्वर जस्तै कविताको प्रतिभा पनि मानिससित जन्मन्छ अनि मानिससित होइन उसको विद्याभ्याससित मननसित र चिन्तनसित बढ्दै जान्छ, जस्तो शृङ्गारले सौन्दर्य उघ्रन्छ ।”
२ सय ९४ पृष्ठमा मौलाएको प्रस्तुत पुस्तकको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।