साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई समीक्षक तथा कवि हरि अधिकारीको कवितासङ्ग्रह ‘कवितासँग पाँच दशक’ प्राप्त भएकाे छ ।

हरि अधिकारी कुनै नाम होइन,
ऊ अखवारहरुको छातीमा गलैंचा
ओछ्याएर घाम ताप्न सक्दैन
चिनाउनु परे भने हुन्छ ऊ कविता पनि लेख्छ
के कहिले काहीँ छापिएको छ आलोचनाका पुस्तकहरुमा ?
हो, छापिएको छ फोटोबाहेक
नखुल्ने गरी वतन र शैक्षिक योग्यता’

(पृ. २९, हरि अधिकारी कुनै नाम होइन)

यस सङ्ग्रहमा ‘कविता यात्रा प्रारम्भ’, ‘कविता यात्राको एउटा विसौनी’ र ‘कविताको संसारमा निरन्तरता’ गरी तीन खण्डमा अधिकारीले विभिन्न समयमा लेखेका १०३ कविताहरु सङ्ग्रहित छन् ।

‘धेरै जसो पढिसकेएका र केही पढ्न बाँकी भाव–संवेदनापूर्ण कविताहरु लिएर मेरा सहयात्री कवि हरि अधिकारी प्रस्तुत सङ्ग्रहमा देखिएका छन् ।’, पुस्तकमा साहित्यकार शैलेन्द्र साकार लेख्छन्, ‘उनका कविता मलाई जहिले पनि अर्थपूर्ण र धारिला लाग्ने गर्दछन् । स्पष्ट छ, उनी यसमा सङ्ग्रहित धेरै कविताहरुमा त्यो संवेदना र बिम्बका आविष्कारक एवं उच्चकोटीको शिल्पीका रुपमा उपस्थित भएका छन् ।’

त्यस्तै, समीक्षक राजकुमार बानियाँ कृतिका बारेमा लेख्छन्, ‘प्रेम, प्रकृति, मानवीय सम्बन्ध, समाज र राजनीति जस्ता जटिल विषयहरुमाथि हरि अधिकारीले रचेका विष्मयकारी कविताहरुले उनलाई उत्कृष्ट कविको विशिष्ठ चिनारी दिलाएका छन् । उनका कविता सरल, छोटा र छरितो बान्कीका छन् । उनी फगत शब्दशिल्पी होइनन्, भावको गजुर उठाउने कवि पनि हुन् । उनका कवितालाई समसामयिक नेपाली चेतनाको प्रतिनिधि स्वर पनि भन्न सकिन्छ ।’

पुस्तकलाई अच्युत वाग्ले र आशुतोष अधिकारीले प्रकाशनमा ल्याएका हुन् । २ सय ३५ पृष्ठमा फैलिएको कवितासङ्ग्रहको मूल्य ५ सय रुपियाँ रहेको छ ।