कृषि विकास बैङ्कमा ३० वर्ष सेवा गरेका लेखक सञ्जीव पौडेलको संस्मरणात्मक कृति हो, ‘छोटु’ । पुस्तकमा पौडेलले आफ्नो सुदूर बाल्यकालदेखि जीवनका भोगाइ, गरेका सङ्घर्ष र उपलब्धिहरूलाई सिलसिलेबर तवरले प्रस्तुत गरेका छन् ।
‘आफू आबद्ध संस्थाभित्र स्पष्ट रूपमा देखिएको अनुभवहीन नेतृत्वको चिन्तन, व्यवहार र निर्णयले सेवाग्राही र सेवाप्रदायक बीच झाँगिंदै गएका असङ्गत स्वरहरूलाई उपलब्धिमूलक र अनुकरणीय भनिदिनुपर्ने बाध्यता धेरैजसो संस्थाका अधिकांश कर्मचारीको साझा विषय थियो र छ ।’, पुस्तकको भूमिकामा दिनेश थपलिया लेख्छन्, ‘यसलाई क्रमभङ्ग गरेर आफ्नो अभिव्यक्ति दिन सक्ने कर्मचारीहरू बिरलै भेटिन्छन् । यस्तो परिवेशमा नेतृत्वको गलत भनाइका कारण संस्थागत हित अङ्गभङ्ग भएकाा असह्य भई अन्तर्आत्माको आवाज बोलेवापत लेखकले पाएको सास्ती कारुणिक लाग्छ ।’
त्यस्तै, पुस्तकमा लेखक लेख्छन्, ‘मेरो जीवन सङ्घर्षबाट पक्कै आगामी पिंढीलाई केही शिक्षा हुन्छ भनेर पुस्तक लेख्ने निधोमा पुगें । पुस्तकबाट मैले जस्तो सङ्घर्षमा रहेकाहरूको लागि गोविन्द मधूरले गीतमार्फत् भनेजस्तो – ‘एक दिन उज्यालो छाउला, मेरो पनि दिन आउला’ भन्ने कुरा प्राप्त होला कि भन्ने अपेक्षा गरें ।’
कृषि विकास बैङ्कको सञ्चालक सदस्य समेत रहेका पौडेलको यो कृतिको प्रकाशन मीना अधिकारी (पौडेल) ले गरेकी हुन् । २ सय ७२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।