कवि ध्रुव जोशीको नेपाली, हिन्दी तथा उर्दू भाषाका कविताहरूको संयुक्त संग्रह हो ‘अनुभूतिका महक’ । कविले कवितामार्फत राजनीतिलाई व्यंग्य गर्नुभएको छ । मधेशी समुदायमाथि पहाडी राष्ट्रवादले हेर्ने हेयको दृष्टिमाथि प्रश्नसमेत गर्नुभएको छ ।
”कवि ध्रुव जोशीको कवित्वले आकर्षित गर्नेमा कुनै सन्देह छैन । यसको सबल प्रमाण कविता संग्रह ‘अनुभूतिका महक’ले दिन्छ ।”, प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा संग्रहमा लेख्नुहुन्छ, ”एकसाथ नेपाली, हिन्दी र उर्दुमा कलम चलाएर आफ्नो बहुभाषिक क्षमताको सफल परिचय दिएका छन् । उनका कविताहरू अनुभूतिले सघन भए पनि समग्रतामा सरल एवम् सहज नै प्रतीत हुन्छ । र, यही कविको मौलिक काव्य– सामर्थ्य हो भन्नेमा विश्वस्त छु । काव्य संसारमा प्रवेश गरेकोमा कविलाई हार्दिक स्वागत ।”
त्यसैगरी, आफ्नो कुरामा कवि जोशी लेख्नुहुन्छ, ”हाम्रा स्कुलका दिनमा यातायातको विकास नभएको कारणले तराई काठमाडौँबाट अलग्ग देखिन्थ्यो । काठमाडौँबाट प्रकाशित नेपाली वाङ्मयका पत्रपत्रिकाहरू तराईमा हामीले कमैमात्र हेर्न र पढन पाउँथ्यौँ । सीमापारि शहरहरूबाट हिन्दी–उर्दू र अंग्रेजी पत्र–पत्रिकाहरू भने सजिलै गाउँमा भित्रिन्थ्यो । हामी तिनैसँग बढी परिचित भएर हुर्किनु पर्यो । यसले गर्दा हिन्दी–उर्दू पढन, बोल्न र सुन्न मजा लाग्थ्यो । तराईका स्कुलहरूमा गृष्मकालीन विदा लामो हुन्थ्यो । हामीहरूलाई घाममा धेरै बरालिएर नरहुन् भनेर स्कुलमा प्रध्यानाध्यापक मेरा दाजु स्व. रामहरी जोशी र उनका सहयोगी गुरु स्व. ईश्वरवल्लभ, पछि नेपाली साहित्यको मूर्धन्य कविमा दरिनुभयो, ले भित्तेपत्रिका भनेर हातले लेखेर निकाल्नुहुन्थ्यो । त्यस पत्रिकामा हामी सबै विद्यार्थीहरूलाई लेख, निबन्ध, कविता, स्कुल समाचार, चुटकिला आदि देख्नलाई उत्साहित गर्नुहुन्थ्यो । यहीँबाट साहित्यप्रति अनुरागको बिउ मभित्र अंकुरित भएको हुनुपर्छ ।”
पुस्तकलाई लेखक स्वयमले प्रकाशन गर्नुभएको हो । १ सय ४० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय ५० रुपैयाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










