‘गँजडी गीत गाएर सारङ्गी रेटिऊँ कि म
सप्तस्वर भरूँ भन्दै विणामा भेटिएँछु म !
छोएँ तार दियो झड्का झसङ्ग झस्किएँछु म
सङ्गीतका सबै पाटा खाली ! खाली ! भएँछु म !!
भैंसी गोठ गई भेडा बाख्रा जम्मा गरूँ कि म
भनी उकालिंदै उक्लें गल्र्याम्मै झारिएँछु म !
घाँस काटी बनूँ सँच्चा गोठालो पथ ल्यूँ कि म
डोको र पटुकी तेर्सो खाली ! खाली ! भएँछु म !!
(खाली ! खाली ! भएँछु म, पृ. १३)
साहित्यकार कलानिधि दाहालको नवीनतम पद्य कवितासङ्ग्रह हो, ‘खाली खाली भएँछु’ । यस सङ्ग्रहमा सङ्ग्रहित सबै कविताहरू ‘अनुष्टुप छन्द’मा लेखिएका छन् । दाहालका कवितामा समकालीन नेपाली जीवनका दर्शन, दृष्टिकोण, जीवन भोगाइ प्रस्तुत भएका छन् ।
‘कवि कलानिधि दाहालको ‘खाली खाली भएँछु म’ कविता तथा काव्यसङ्ग्रहका रचनाहरूभित्रै पसेर दोष नै खोज्न थाल्ने हो भने बाह्य स्वरूप वा रूप पक्षमा केही कसरमसरहरू फेला पार्न सकिएला तर आन्तरिक पक्ष वा अन्तर्वस्तुका तहमा भने कवित्वको सर्वोच्च स्वरूप नै फेला पर्दछ ।’, पुस्तकको भूमिकामा प्रा.डा. देवी नेपाल लेख्छन्, ‘त्यसैले यो कृति कवित्व प्रवाह र भावगत अभिव्यञ्जनाका दृष्टिले नेपाली कविता परम्परामा नै एउटा प्राप्ति बनेर आएको छ ।’
त्यस्तै, पुस्तकका बारेमा प्रा.डा. अर्जुनदेव भट्ट लेख्छन्, ‘कविले शुष्क जीवन ज्युँने प्राणी जुरेलीमार्फत कष्टसाध्य जीवन ज्युँन प्रेरित गरेका छन् भने आफ्नासँग दूरता र नवागन्तुक अतिथिलाई सम्मान गरेको भाव गर्छु ‘स्वागत स्वागत’मा प्रकट गरेका छन् । यो समयमा आफ्नो मूल्याङ्कन गर्न भुलेका छैनन् कविले । उनी परम्पराको कृत्रिमताविरुद्ध रहे पनि शुद्धताको, पवित्रताको खोजी गर्छन् ‘भाइटीका’मार्फत् ।’
पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले प्रकाशनमा ल्याएको हो । २ सय ६८ पृष्ठमा फैलिएको काव्यकृतिको मूल्य ५ सय १ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।