२०६३ सालदेखि प्रदान गर्दै आएको “दण्डपाणि – नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार” यस वर्ष वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई अर्पण गरिने भएको छ । वरिष्ठ ई. ईश्वरचन्द्र बानियाको अध्यक्षतामा बसेको स्मृतिकेन्द्रको कार्यसमितिको बैठकले श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

गोरखामा जन्मिनु भएका विद्वान् प्रतिभा दण्डपाणि अर्ज्यालको नाममा काठमाडौँमा स्थापित दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले उक्त पुरस्कार प्रदान गर्दै आएकाे छ ।

स्मृतिकेन्द्रले इतिहास, साहित्य, संस्कृति, ज्योतिष, समाज सेवा लगायतका विविध विषयहरूमा राष्ट्रियस्तरमा योगदान दिएका विद्वान् विदुषीलाई प्रत्येक वर्ष पुरस्कार समर्पण गर्दै आएको छ ।

यस वर्ष नेपालको सीमा र सुरक्षा जस्तो अति नै संबेदनशील विषयमा गहन अनि महत्त्वपूर्ण योगदान पुऱ्याउनु भएका प्रतिष्ठित विद्वान् वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ५०,०००/- (पचास हजार) राशिको उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

केन्द्रले यही चैत्र महिनाभित्र एउटा भव्य समारोहका बीच सम्मान अर्पण गरिने केन्द्रका महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यसअघि ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा डा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेशराज शर्मा, प्रा डा सुरेन्द्र केसी, साहित्यकार पुण्यरश्मि खतिवडा, डा. मोदनाथ प्रश्रित, विदुषी रमा शर्मा, प्राज्ञ विष्णु प्रभात लगायतका विद्वान् विदुषीहरूलाई पुरस्कृत गरिसकेको छ।

स्व. दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, संस्कृत, धर्मशास्त्र र समाजशास्त्र आदि विषयहरूका ज्ञाता हुनुहुन्थ्यो भने स्व. नन्द कुमारी उहाँकी धर्म पत्नी हुनुहुन्थ्यो।