संस्कृत वाङ्मयका विद्वान् चार वेदलगायत दर्जनौं ग्रन्थका अनुवादक एवं समाजसेवी व्यक्तित्व स्व. तिलकप्रसाद लुइटेलको ४५ औँ दिनकाे पुण्यतिथि पारेर इतिहासकार, ज्योतिष पण्डित दण्डपाणि अर्ज्यालको नाममा स्थापित समाजिक संस्था ‘दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र’ले शोकसभा सम्पन्न गरेकाे छ । काठमाडौं तथा हेड्स नेपालको संयुक्त आयोजनामा जुम प्रविधिमार्फत उक्त शोक सभा सम्पन्न भएकाे हाे ।

कार्यक्रम  दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र  काठमाडौँका अध्यक्ष वरिष्ठ इ. ईश्वरचन्द्र बानियाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा कुटनीतिज्ञ प्रा.डा. जयराज आचार्य, जयतु संस्कृतमका अध्यक्ष डा. बद्री पोख्रेल, हेडस नेपालका प्रमुख संस्थापक प्रतापराज पन्त, सुसेली साहित्यिक  मञ्चका अध्यक्ष दुर्गा अधिकारी भ्रमरकोटे, दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रका कोष संस्थापक तथा साहित्यकारद्वय हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्याल, स्मृतिकेन्द्रका उपाध्यक्ष मदन थापाले स्व. तिलकप्रसाद लुइटेलको जीवनी, व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो ।

स्वर्गीय लुइटेलको तस्विरमा माल्यार्पणपछि आधा मिनेट मौनधारण सम्पन्न सो कार्यक्रममा न्युयोर्क अमेरिका निवासी वरिष्ठ कवि कोमलप्रसाद भट्टले स्वर्गीय तिलकप्रसाद लुईटेलमा समर्पित श्रुतिमधुर शोक कविता वाचन गर्नुभएको थियो।

भर्जिनिया अमेरिका निवासी सामाजिक अभियन्ता परशुराम भण्डारी, विश्व रक्तदाताका रूपमा सुविख्यात अर्जुन मैनालीलगायतले मन्तव्य राख्नु भएको थियो ।

दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रका  महासचिव कपिलचन्द्र खनालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्व. तिलकका परिवार, देश तथा विदेशबाट ठुलो संख्यामा विभिन्न व्यक्तित्वहरूको अपस्थिति थियो ।

सहभागी हुनुभएका महानुभावहरूलाई हेड्स नेपालका अध्यक्ष दिलिप देवकोटाले स्वागत गर्नुभएको थियो।

शोक सभामा वाचित सुन्दर कविता –

कविता : विलक्षण प्रतिभा

 (शार्दूलविक्रीडित छन्द)

 

प्यारा प्राणसमानका तिलकजी विद्वत्वका सागर

विद्या बुद्धी विवेकले गहकिला नैपुण्यका निक्खर 

कैयौँ कालजयी कमाल कृतिले साहित्य पाऱ्यौ धनी

नेपाली दिलमा बस्यौ अडिग भै फैलाउँदै रोशनी~

 

माया हुन् मनकी सफा हृदयकी आमा मिजासी अति

बाबा श्री छविलाल योग्य बहुतै संज्ञानमा सम्प्रति

आफू छौ अनमोलका अतुलका लट्ठ्याउने सौरभ

चाँडै नै परलोकको प्रिय भयौ हाम्रा थियौ गौरव~

 

साह्रै किम्मती रत्न हौ मुलुकका मीठा गऱ्यौ सिर्जना

सच्चा शिक्षक सारगर्भित हुँदै  बाँड्यौ भलो भावना

सादा सन्त रमाइला रसिला मान्छे खोजूँ कहाँ

फर्किन्छौ प्रिय भन्छ यो हृदयले मुस्कान छर्दै यहाँ~  

 

खाऱ्यौ बेद पुराण धार्मिक कथा उल्था गऱ्यौ प्यारले

सारा दङ्ग प्रबुद्ध पाठकहरू श्रद्धा सदाचारले 

बाला वृद्ध युवा सबै नजरमा संपूज्य छौ हर्दम

तिम्रो वर्णनले कृतार्थ  भएँ आभार भो जीवन~ 

 

धर्मात्मा धितका धरा धवलता साफल्यका साधना

तिम्रो कीर्ति रहन्छ लोकभरिमा ताजा सधैँ सम्झना     

होला देश कृतघ्न भुल्दछ भने सत्कर्म तिम्रा सब

धिक्कार्ला इतिहासले पनि सधैँ लत्त्याउनेछन् जब ~

 

पाऊ बस्न सुशान्तिले सुखदले हाँसेर बैकुण्ठमा

माला शुद्ध सुख्यातिका सफलका पैह्रेर सानन्दमा

छोड्यौ साथ समस्त विह्वल भयौँ खोजेर आकर्षण

गर्छौं शुद्ध सुभावना सहितको श्रद्धाञ्जली अर्पण ~

 

कवि कोमल भट्ट

हाल-: अमेरिका।