साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई विदविज्ञ तिलकप्रसाद लुइटेल र वरिष्ठ पत्रकार विनोद दाहाल वत्सद्वारा संकलन तथा सम्पादन गरिएको कृति “सत्र तारा” । प्राप्त भएको छ ।
२ सय ६६ पृष्ठमा बुनिएको यस पुस्तकमा १७ जना लेखकका लेख समावेश छन् । जसमा ईश्वरचन्द्र बानियाँ, कल्पना खरेल, किरण आचार्य, कृष्णबहादुर भण्डारी, गङ्गा अभिलाषी, गङ्गाप्रसाद लुइटेल, जीवन सुवेदी, त्रिलोचन आचार्य, दुर्गादत्त गौतम, नारायण नेपाल, नेत्रबहादुर कुँवर, माधवलाल श्रेष्ठ, मिश्रादेवी कार्की, विष्णु गौतम, विष्णुप्रसाद पन्त, वेन ब्ल्याक, शशिकला वशिष्ठ हरू हुनुहुन्छ । यहाँ लेखकहरूले आआफ्नो जीवनका भोगाइहरूलाई रोचकीय शैलीमा समाजका निम्ति उदाहरणीय प्रस्तुतीकरण दिन जमर्को गरेका छन् ।

सत्र तारा
‘पाण्डुलिपि पाइयो’मा सम्झना शर्मा ढकाल लेख्छिन्, “…हरेक व्यक्तिको जीवनले आआफ्नो कथा बोकेको हुन्छ । त्यो जीवन कुनै ब्रह्मपुत्रमा हुर्केको छ भने कुनै टिस्टाको कलकल ध्वनिमा रमाएको छ । यसरी नै मेची, महाकाली, बागमती, गण्डकी, त्रिशूली आदिले सिञ्चित जीवनले आज धेरै उतार चढाव देखिसकेका छन् । तैपनि किञ्चित नआत्तिईकन अघि बढेका जीवनहरू आफ्ना अनुभवहरू र इच्छा, आकाङ्क्षालाई दायित्वले टेकेर पनि ढकमक्क फूलेको सुनाखरीझैँ कहीँ कतै हाँसिरहेका छन् । यस्ता प्रेरणादायी व्यक्तित्वहरूलाई एकै ठाउँ राखेर उहाँहरूका जीवनमा रचिएका कथाहरू छिचोल्ने प्रयास भएको छ ।”
“सङ्कलनमा कसैका जीवनमा आफ्नो प्रयास धेरै रहँदै एउटा मुकाममा पुगेको पाइन्छ भने कसैको जीवन अभिभावकप्रति सम्मानमा बोलेको देखिन्छ ।” सम्पादकीयमा लेखिएको छ, “प्राकृतिक पदार्थ र गतिविधि नै मानिसको ज्ञानका स्रोत हुन् । अभिभावकत्व भनेको कुनै पुरुषार्थ होइन, प्राकृतिक देन हो भन्न त सकिएला तर मानिसले पाएको ज्ञान र विज्ञानको स्रोत पनि प्रकृति नै हो । मानिसलाई विज्ञानले धेरै कुरा दियो तर ढाँट्नु छल्नु हुँदैन, अर्काको खोसेर खानु हुँदैन, जीवन भनेको कर्म गर्ने अवसर हो, निरन्तर कर्ममा लाग्नुपर्छ, हाम्रा कर्महरू अरूको अहित नगर्ने हुनुपर्छ भन्ने आमाबुबा कुनै स्रोतबाट मानिसले पाउँदैन । तिनको शिक्षालाई आत्मसात् गर्नेहरू नपढेकै भए पनि सज्जन छन् र पढेर पनि सज्जन छन् । यहाँ आफूप्रति आमाबुबाको देन पनि चर्चा भएको छ ।”
पुस्तकलाई सुखशान्ति मिडियाले प्रकाशनमा ल्याएको हो । यसको मूल्य ५ सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 







