Chovar Blues Mobile Size

लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम शनिबार सम्पन्न भयो ।

कार्यक्रममा चारै वेदलाई नेपाली भाषामा अनुवाद गर्नाका साथै चालीसभन्दा बढी कृति प्रकाशित गरिसक्नुभएका तिलकप्रसाद लुइटेललाई ‘लीलाध्वज स्रष्टा सम्मान’ले सम्मानित‌ गरियो ।

उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले प्रदान गर्नुभएको थियो । सम्मानित हुनुभएका स्रष्टा लुइटेलले लीलाध्वज थापाले धेरै उपन्यास, नाटक, हांस्यव्यङ्ग्य,कविता आदि लेख्नु भएको र उहाँको उपन्यास संख्यात्मकभन्दा गुणात्मक भएकाले नै आम मानिसमाझ चर्चित भएक़ो, समाजमा भएका विकृति विसंगतिलाई नङ्ग्याउन सफल हुनाका साथै नेपाली साहित्यमा कोशेढुंगा साबित हुन सकेको बताउनुभयो ।

त्यस्ता साहित्यकारको नामबाट स्थापना भएको प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा आफूलाई गर्व लागेको लुइटेलले बताउनुभयो ।

उहाँले वेदका सार संक्षिप्तमा व्याख्या गरी अध्यक्ष विजयध्वज थापा लगायत प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा साहित्यिक पत्रकार तथा प्रसिध्द नियात्राकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार तिलकप्रसाद लुइटेल माथि प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा अध्यक्ष थापाले सम्मानित स्रष्टाले चारै वेदको अनुवाद गरी अतुलनीय कार्य गरेको भन्दै प्रशंसा गर्नुका साथै उहाँ जस्ता स्रष्टाहरूप्रति राज्यको ध्यान गएको छैन भन्नुभयो ।

कार्यक्रममा सम्मानित साहित्यकार तिलकप्रसाद लुइटेल, विनोद दाहाल वत्स, दुर्गा अधिकारी भमरकोटे, मुकुन्द न्यौपाने, रत्न विरही घिमिरे, कुमार नेपाल, विजयध्वज थापा, राजेन्द्र खनाल, अच्युतप्रसाद पौडेल चिन्तन, तुलसीराम पुडासैनी, रुद्र अधिकारी, उत्तम विचार, राजेशमान केसी, कुशुम शर्मा, सुन्दरबहादुर खडका, टि एन भट्ट विश्वामित्र, लव खड्का, भुवन शिवाकोटी चौघरे, रुपा रिसाल चालिसेले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा सम्पन्न भएको थियो । कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाएर कार्यक्रम शुरु गरिएको थियो ।