
गोरखामा जन्मिनु भएका विद्वान् प्रतिभा दण्डपाणि अर्ज्यालको नाममा काठमाडौँमा स्थापित दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले २०६३ सालदेखि प्रदान गर्दै आएको दण्डपाणि-नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार यस वर्ष प्राज्ञ विष्णु प्रभातलाई अर्पण गरिने भएको छ ।
स्मृति केन्द्रको कार्यसमितिको चैत्र १० गते काठमाडौँमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।
केन्द्रले इतिहास, साहित्य, संस्कृति, ज्योतिष, समाज सेवा लगायतका विविध विषयमा राष्ट्रियस्तरमा योगदान दिएका विद्वान् विदुषीलाई पुरस्कार समर्पण गर्दै आएको छ ।
यसवर्ष नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुऱ्याउनु भएका विद्वान् विष्णु प्रभातलाई २५,०००/- राशीको उक्त पुरस्कार प्रदान गरिने भएको हो ।
केन्द्रले प्रकाशन गर्ने वार्षिक प्रकाशन ज्ञानबिन्दु अङ्क १४ समेतको लोकार्पण समारोहका बीच सम्मान अर्पण गरिने केन्द्रका महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
केन्द्रले यसअघि ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा डा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेशराज शर्मा, प्रा डा सुरेन्द्र केसी र पुण्यरश्मि खतिवडा लगायतका विद्वान् विदुषीहरूलाई पुरस्कृत गरिसकेको छ।
स्व. दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, धर्मशास्त्र र समाजशास्त्र आदि विषयहरूका ज्ञाता हुनुहुन्थ्यो भने स्व. नन्द कुमारी उहाँकी धर्म पत्नी हुनुहुन्थ्यो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
