लेखक सुरेश राईको पहिलो कवितासङ्ग्र ‘सम्झनाको फोटोकपी’ प्रकाशनमा आउने भएको छ । साहित्यपोस्ट (इ) दैनिकको माउ संस्था शब्द मिडिया प्रालि.द्वारा राईको उक्त कृति प्रकाशनमा आउने भएको हो ।
खोटाङका राई विभिन्न विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् । ‘सम्झनाको फोटोकपी’मा प्रेम, देशको राजनीतिक समस्या, जीवन दर्शन, परदेशको पीडा आदि विषय समेटिएका समसामयिक कविताहरू सङ्ग्रहित रहेको राईले बताएका छन् ।
‘मानिसको जिन्दगी भनेको सम्झनाहरुको संग्रह हो । तर जति जति हामी वृद्ध अवस्थातिर जान्छौं ती सम्झनाहरु पनि कुनै फोटोकपी गरिएका सामग्री जस्तै मधुरो हुँदै जाने रहेछ ।’, आफ्नो कवितासङ्ग्रहमा बारेमा राई भन्छन्, ‘यसर्थमा हरेक साल ढल्कँदो उमेरसँगै एक खास उमेरका सम्झनाहरु फोटोकपी हुँदै गएर धमिलो हुँदै जाने र अन्तमा पुरै मेटिने पनि हुन सक्ने रहेछ । संग्रहमा यसै शीर्षकको एउटा कविता पनि छ जहाँ श्रीमान् श्रीमतीलाई आफू मरेपछि आफ्ना सम्झनाहरुको फोटोकपी बनाउन अनुरोध गर्छन् । यसै सेरोफेरोमा यो शीर्षक पनि छानेको हुँ ।’
सुरेश राईले कविता लेख्न थालेको धेरै भएको छैन । उनको पहिलो कविता साहित्यपोस्टमै छापिएको बताउँछन् उनी । भन्छन्, ‘मेरो लेखकीय जीवनकै पहिको कविता साहित्यपोस्टमा छापिएको हो । त्यसपछि अरु अरु मिडियाहरुमा पनि छापिए । तर पहिलो कविता छापिएपछि नै हो मैले लेखेको कुरालाई पनि पाठकले पढ्ने रैछन् भन्ने विश्वास पलायो । अर्कोतर्फ, साहित्यपोस्ट आजको एक मात्र पूर्ण साहित्यिक तथा गैरराजनीतिक पत्रिका र प्रकाशक दुबै हो । यसको प्रसिद्धिको उचाई साहित्यिक आकाशमा सबैभन्दा उच्च छ । यस संस्थासँग जोडिएर पुस्तक निकाल्न पाउँदा अत्यन्तै खुसी छु ।’
राईको पुस्तक प्रकाशन हुने कुरालाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले समेत पुष्टि गरेका छन् । कोइराला भन्छन्, ‘सुरेशजी स्थापनाकालबाटै साहित्यपोस्टसँग जोडिनुभएको छ । एक अर्थमा साहित्यपोस्ट र उहाँको लेखनयात्रा एकै समयबाट सुरू भएको उहाँबाटै थाहा पाएको हुँ । सङ्ग्रहित कविका रूपमा नवीन प्रयोगको साथ उहाँको उपस्थिति हस्तक्षेपकारी रहने कुरामा आशावादी छौँ ।’
राईको पुस्तक चैत पहिलो साताबाट बजारमा उपलब्ध हुने प्रकाशन संस्था शब्द मिडिया प्रा.लि.ले जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 







