खोटाङ जिल्लाको तत्कालीन बाम्राङ गा वि स वार्ड नं ९ चुप्ला (हाल दिरुम नगरपालिका ३)मा वि. सं २०४५ सालमा बुबा बुद्धिराज राई आमा स्वर्गीय कमला राईको तेस्रो सन्तानको रूपमा जन्मिएका सुरेश राई हाल वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा बस्छन् । उनी कलाका विविध विधामा पोखिन रुचाउँछन् । कविता, कथा, गायन, गीत र वाद्ययन्त्र आदि  कलात्मक प्रस्तुतिमा उनको सक्रियता छ ।  हालचालै उनले आफ्नो पहिलो कवितासंग्रह `सम्झनाको फोटोकपी´ प्रकाशित गरेका छन् ।

कवि सुरेश राईकाे कृति ‘सम्झनाकाे फाेटाेकपी’मा सम्बन्धित रहेर जनक कार्कीले विविध विषयमा गरेको साहित्यिक भलाकुसारी प्रस्तुत छ ।

 

सुरेश राई

सुरेश राई

`सम्झनाको फोटोकपी´ नामक नवीनतम कवितासंग्रह लिएर नेपाली साहित्य फाँटमा उदाउनुभएको छ । यो सङ्ग्रहमा पाठकले के कस्ता कवितासँग संवाद गर्न पाउँछन् ?

–  सर्वप्रथम हजुरलाई धेरै धेरै धन्यवाद छ यो मौका जुराइदिनु भएकोमा । हजुर जस्तो पठनशील सिर्जनशील व्यक्तित्वसँग गफिन पाउनु आफैमा एउटा बडो गज्जबको अनुभूति भइरहेकाे छ । बाँकी रह्यो कविताको कुरा, म पनि कुनै एलियन क्यारेक्टर होइन । एक सामान्य मान्छे हुँ- रुन्छु, रमाउँछु र हाँस्छु पनि । तिनै भावना बमोजिम नै केही कुराहरू लेखेको हुन्छु ।  त्यसरी लेख्दा प्रेम, परदेशको पीडा, परलोक हुनु भएको आमाको सम्झना, देशको राजनीतिक समस्या, जीवन दर्शन आदि विषयहरू बनेर आउँदा रहेछन् । तिनै विषयहरू समेटिएका समसामयिक कविताहरूले यो संग्रह सजाउने प्रयाससम्म गरेको छु ।

यहाँको कवितासँगको सङ्गत कसरी सुरु भयो ?

– अहो, यसको जवाफ त बडो लामो पो हुन जान्छ । छोट्टोमा भन्दा, म सानो हुँदादेखि नै गीत गाउने, पाठ्यक्रमका कविताहरू कण्ठ गरेर अरूलाई सुनाउने जस्ता क्रियाकलापहरू गर्थें । होम वर्क नगरेको दिन हेडसरले अगाडि  बोलाएर नारायण गोपालका गीत गाउन लगाउनु हुन्थ्यो र मेरो सजाय मिनाहा हुन्थ्यो । पछि कलेजका दिनहरूमा बब डिलन, जोन लेनन , एरिक क्लाप्टन जस्ता थुप्रै थुप्रै हस्तिका गीतहरू खुबै सुनियो, गाइयो । अब कुरा के छ भने प्रत्येक राम्रा र काव्यिक गीतहरू कवितै त हुन् नि ! गोपाल योन्जन दाइका गीतहरू लिनुस्, कविता हो । हरिभक्त कटुवाल, भीम विरागका गीतहरू, कविता हो । यसरी कवितासँगको मेरो सङ्गत चाहिँ गीत मार्फत सुरु भएको हो । यसर्थ म सङ्गीतको प्राचीन प्रेमी हुँ कविताको अलिक नयाँ प्रेमी भन्नु पर्ला ।

यो डिजिटल युग हो । मान्छेहरूलाई भुलाउने यहाँ धेरै डिजिटल ललिपप छन् । यस्तो समयमा कविताको महत्त्व कत्तिको देख्नुहुन्छ ?

– तपाईंको यो प्रश्नको जवाफ मेरो यही संग्रहभित्र एउटा कविता छ ‘मेसिनहरूका  विरुद्धमा’ ले पो राम्ररी दिने रहेछ । हेर्नुस्, कविताको महत्त्वको के कुरा गर्नु ? म त कुनै दिन दुनियाँको शासन सत्ता मेसिनहरूको हातमा पुग्यो भने त्यो बेला मानव सत्ता फर्काउने एउटै हतियार कविता हुनेछ भन्ने विश्वास गर्ने मान्छे पो परेँ । यी डिजिटल ललिपपका के कुरा सुदूर भविष्यमा प्रविधिले कुन कुन दिन देखाउने हो थाहा छैन तर मानवीय संवेदनाले भरिएको एक शक्तिशाली कविताको अगाडि ती सब हार मान्नेछन् ।

सम्झनाकाे फाेटाेकपी

यहाँले कवितालाई परिभाषित गर्नपर्‍यो भने कसरी गर्नुहुन्छ ?

– यो अति नै जटिल प्रश्न हो । यसको उत्तर यसै हो भन्न गाह्रो छ । तर कलात्मकता र काव्यिकता यी दुई गुण भएको हरेक अभिव्यक्तिलाई म त कवितै हो भन्न रुचाउँछु । सूत्र र संरचना  भन्दा पनि अभिव्यक्तिको गहिराइ प्रमुख मान्छु । मलाई त एउटा सुन्दर चलचित्र पनि कविता नै हो भन्न मन लाग्छ । जिम केरीको एउटा फिल्म छ इटरनल सनसाइन अफ द स्पटलेस माइन्ड, मेरो फेभरेट मध्य एक । हेर्नु भएको छ ? हो, मलाई त राम्रो कविताले दिने किक यो फिल्मले पनि दिन्छ ।

खोटाङदेखि कोरियासम्मको यात्रामा जिन्दगीको अनेक मोड पार गरिसक्नुभएको छ । परदेशले एउटा मान्छेलाई के बनाउँदो रहेछ ?

– गम्भीर प्रश्न, परदेशले एउटा मान्छेलाई के बनाउँदो रहेछ ? कुनै दिन समय मिलाएर म यो प्रश्न मेरा विभिन्न देशमा छरिएका साथीभाइहरूलाई पनि सोध्ने छु । म त कोरिया मै भएको बेला आमा बित्नु भो, अन्तिम समयमा म उहाँसँग हुन पाइनँ । त्यसैले अहिलेलाई यति मात्रै भन्न सक्छु परदेशले मान्छेलाई अधुरो बनाउँदो रहेछ । व्याख्या पाठकहरूलाई नै छोडिदिऔं ।

यहाँ कविता लगायत कथा, गीत आदि पनि लेख्नुहुन्छ । गिटार बजाएर आफैं गाउनुहुन्छ पनि । अनेक विधासँग यहाँको सान्निध्य देखिन्छ । यहाँको जीवनमा कलाको कस्तो महत्त्व रहेको छ ?

–  म आफूलाई बौद्धिक हैन केवल एक सामान्य भावनात्मक जीव ठान्छु । शिरदेखि पाउसम्म इमोशनले भरिएको सामान्य  जिनिस । मेरो एक नम्बर रुचिको विषय भनेकै प्रेम हो । मलाई प्रेमप्रति बडो प्रेम छ । अब यस्तोमा म जस्ताको लागि कलाको महत्त्व कति होला आफै बुझ्नु होला । मलाई जहिले पनि केही न केही भनिरहनु पर्ने हुन्छ । यस्तो लाग्छ कि मलाई यो संसारलाई धेरै धेरै धेरै धेरै कुराहरू बताउनु छ । थुप्रै कुराहरू भन्नु छ । तर अधुरो छ । कतै अड्किएको छ, अल्झेको छ, फसेको छ । त्यही भएर अलिअलि गुनगुनाउँछु । अलिअलि लेख्छु । अलिअलि पढ्छु । अलिअलि हेर्छु । कलाको माध्यम बिना म ती उकुसमुकुसहरू कसरी सुनाउन सकुँला !

मेसिनहरूको सहरमा बसेको मान्छे यान्त्रिक बन्दै जानुपर्ने हो तर कोरियाबाट नेपाली साहित्यले उल्लेखनीय साहित्यिक कृतिहरू उपहार स्वरुप पाइएको छ । यन्त्रको बिचमा हृदय झन् कोमल हुने हो र ?

– यसको जवाफमा यति मात्रै भन्न चाहेँ कि, हृदय सधैँ कोमल हुन्छ र कोमल हुनु नै यसको फितरत हो । मानिसको व्यवहारहरू यान्त्रिक बन्न सक्छन् तर हृदय सधैं कोमल नै रहन्छ । बेलाबखत पत्थरको दिल भनिन्छ होला, तर त्यो कहिले सम्मलाई पत्थर ?

यहाँलाई मन पर्ने तीनजना कविको नाम लिनुपर्दा ?

– बाफ रे ! यो त सङ्कट पो पर्‍यो त । तीन नभएर तीस हुनु पर्ने नि ! नेरुदाका लव पोयमहर, जावेद अख्तरको सेतो फुलेको कपाल, फ्रस्टको द रोड नट टेकन, रवीन्द्र सङ्गीतका धुनहरू  के के के के दिमागमा सलबलाइरहेछ । यसो गर्छु, यी तीन नामहरू लिन्छु १. भूपी २. बिक्रम सुब्बा ३. सुष्मा रानाहँमा ।

भूपी छाडेर बाँकी दुईको मैले पूर्ण संग्रह त पढ्न पाएको छैन तर बिक्रम दाइको मलाई मैले पढ्न भ्याएको जति सबै कविताहरू मन पर्छ । सुष्मा रानाहँमा  पछिल्लो पुस्तामा मलाई एकदमै  सशक्त लाग्नु हुन्छ ।

यहाँलाई मन पर्ने तीनवटा पुस्तकको नाम लिनुपर्दा ?

– अब हेर्नुस् न यो पनि फेरि बडो रिङटा छुटाउने प्रश्न नै भैदियो । म त सबै पुस्तकहरू मन पराउँछु, रिच ड्याड पोर ड्याडदेखि लिएर पुराना हिन्दी कमिक्स बुकहरूसम्म । भर्खरै थाङ्ग्रा,  ऐँठन र जोगियाना पढेको थिएँ । सबै मन परे । बिपीको आत्मवृत्तान्तदेखि हेमिंगवेको द वल्ड मेन एन्ड द सीसम्म दिमागमा घुमिरहेछ यतिबेला । म चेखवको फ्यान पनि हुँदै हुँ । यसो गर्छु । अहिलेलाई तीन नामहरू १. गोर्कीको आमा २. अचेवेको थिङ्स फल अपार्ट ३. राष्ट्रकविको गौरी ।

आउने दिनको योजना के कस्ता छन् ?

–  खास विशेष योजना केही छैन । साहित्य र गीत सङ्गीतमै मस्तमगन हुन पाऊँ र पाइरहूँ भन्ने कामना चाहिँ छ । लेख पढ त गरिनै रहने छु ।

जीवन र पैसाको सम्बन्ध कस्तो देख्नुभयो ?

– जीवन  र पैसाले एक आपसमा अवश्य पनि महत्त्वपूर्ण  सम्बन्ध राख्छ  तर  हेर्नुस् न, म पैसाको क्रय शक्तिबारे सचेत छु । यसका सीमाहरू बारे जानकार छु । क्रय शक्ति हुनु यसको सबलता हो भने क्रय शक्ति मात्रै हुनु यसको दुर्बलता पनि हो । भन्नलाई भनेको होइन तर गाँस, बास, कपास औषधि उपचार बाहेक मलाई यसको उति ठूलो तागत हुन्छ जस्तो पनि लाग्दैन । पैसाको मामलामा म अल्प रुचि भएकाहरू मध्य नै पर्छु । यद्यपि आजको आधुनिक जीवन पैसाबिना कष्टप्रद छ भन्ने कुराको हेक्का छ मलाई । तर जीवन बिनाको पैसा पनि त मकैको खोस्टा हैन र ?

एउटा स्वतन्त्र प्रश्न मन लागेको उत्तर दिन पाइन्छ ।

– अन्त्यमा पाठकहरूलाई ‘सम्झनाको फोटोकपी’ पढेर मेरा कमी कमजोरीहरू अवगत गराइदिनु हुन अनुरोध गर्दछु । साथै जनक सर हजुरप्रति अत्यन्तै कृतज्ञ छु । हार्दिक आभार अनि धन्यवाद ।