तिमी गएपछि
मेरो मस्तिष्कको चोकमा
स्मृतिको जुलुस
नाराबाजी गरिरहन्छ्न्

जनक कार्की

ढुङ्गामुढा चलिरहेछ
कोमल मुटुलाई निसाना बनाएर

निषेधाज्ञा तोडेर
गिदीभित्रै प्रवेश गर्दैछन्
ग्लानिका धारिलो खुँडा

अश्रुग्यासको बान्ता
अविरल गरिरहेछ – नयनले
विपक्ष यादका भीडलाई

रातसँग निद्राको झडप
स्वादसँग जिब्रोको लाठीचार्ज
अनसनमा छन् – आराम
आन्दोलित छ्न्
अस्तव्यस्त छ्न् दैनिकी

मेरा
शंकाको नारालाई
असमझदारीको मुद्दालाई
अविश्वासको पत्रलाई
जलाइदिन्छु टायर बालेर ।

प्रेमाक्षर माफीनामा तिमीलाई अर्पण गर्दछु ।

तानसेन, पाल्पा