साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई विभिन्न साहित्यिक संघसंस्थाहरूसँग आबद्ध भई साहित्यको सेवा गरिरहने शिक्षिका तथा कवि उपमा आचार्यको पद्यात्मक अभिव्यक्ति “मातृवन्दना” प्राप्त भएको छ ।

राइटर्स इन्टरनेशनलबाट प्रकाशित पुस्तकमा ‘सेवा सही सुन्दर’, ‘विधाता’, ‘जन्मभूमि’, ‘बाबा हरायौ कता ?’, ‘उज्यालो’, ‘रहर’, ‘नृत्य गर्छिन् धरा रे !’, ‘भावना’लगायत ३६ थान कविता संग्रहित छन् । यसमा शार्दूलविक्रीडित, इन्द्रवज्रा, पञ्चचामर, भुजङ्गप्रयात आदि विभिन्न छन्दको प्रयोगमा धर्ती, देश र ईश्वरको वन्दना, मातृत्व र पितृत्वको जयगान गरिएको पाइन्छ ।

मातृवन्दना

मातृवन्दना

राष्ट्रकवि माधव घिमिरे लेख्छन्, “उपमा आचार्यको कविताशैली परिष्कृत छ । बढी वर्णनात्मक भईकन पनि घतिला र गतिला सूक्तिले शोभित छ । खासगरी नारी भैकन नारीसम्बन्धी कविता उदाहरणीय छन् । संग्रहका कविताहरू मध्ये एक श्लोक यस्तो छ–

मातृत्वले गर्वित पूज्य नारी

वीराङ्गना शक्ति अजेय नारी

हौं विश्वकै सृष्टिप्रवाह नारी

जागौँ, जगाऔं अब विश्व नारी ।।

यिनै शब्दका साथ कवि उपमाप्रति बधाई र शुभाशिष् प्रदान गर्दछु ।”

डा. रामप्रसाद ज्ञवाली लेख्छन्, “ मूलतः उपमाजीका यी कविताहरू भावुक आदर्शवादले भिजेर तयार पारिएका जननीभाव वा मातृत्वभावका कविता हुन् । वैचारिक रूपमा उहाँका कवितामा पाइने चिन्तनका सम्बन्धमा गम्भीर विमर्श गर्न सकिन्छ किनभने जुन चिन्तनलाई उहाँले आदर्श बनाउनु भएको छ, त्यही चिन्तन नै उहाँका पीडानुभूति र वेदनाका वैचारिक कारक हुन् । हाम्रो अनुवंश, संस्कार, परम्परित संस्कृति, धर्म र समाजले दिएको चेतनाका कारण यो कुरा बुझ्न त्यति सहज छैन तर बुझ्न नसकिने पनि होइन । बुझ्न खोज्नु–नखोज्नु स्रष्टाको व्यक्तिगत रुचि अरुचिको कुरा हो । यसमा स्रष्टा स्वतन्त्र हुन्छ । उपमाजी पनि स्वतन्त्र नै हुनुहुन्छ ।”

लक्ष्मीकुमार कोइराला लेख्छन्,

“मुस्कान दिव्य रसरङ्ग सुवास छाई

ब्रह्माण्ड–पुष्प ढकमक्क फुली रमाई

लोभ्याउँदा, भ्रमर कोकिल मत्त बन्छन्

गुञ्जाउँछन् सुकविता–तब जन्म लिन्छन्

 

मर्मज्ञ जो छ रससार चुमेर बोल्छ

साँचो खुला हृदयबाट रहस्य खोल्छ

दौडन्छ किन्तु सतही हलुका मिजास

के बुझ्छ त्यो ? गहकिलो कवि सूक्तिभाव !”

९० पृष्ठमा आधारित पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।