साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि तथा निबन्धकार मोदनाथ मरहट्टाको संस्मरणात्मक कृति “जेल डायरी” प्राप्त भएको छ । यो उहाँको चौथो कृति हो ।

यसमा ‘जेल पठाउने चिठी’, ‘हिरासतमा दैनिकीको सुरुआत’, ‘इच्छुकको मृत्युपर्वमा शान्ति डकार्नेहरू’, ‘अनेक उद्देश्य छन् सिर्जनाका’, ‘बेपत्ता छन् राजेन्द्र, बेखर छ उनको प्रतिभा’, ‘रातभर पाण्डुलिपिको सम्पादनमा घनश्याम’ आदि २५ थान शीर्षक समावेश छन् ।

जेल डायरी

जेल डायरी

“जेलभित्रको जेल । जेल पनि मानिस बस्ने ठाउँ हो । जेलभित्र पनि मानवीय आवश्यकता हुन्छ, बाँच्न पाउनुपर्छ, जेलभित्र कानुनी हत्या वा बेपत्ता पारिनुहुन्न, यो सामान्य कुरा हो । तर, सैनिक हिरासत जेलभित्रका बन्दीहरूलाई चरम पाशविक व्यवहार गरिन्छ । समयमा दिसा–पिसाब गर्न नदिने, हत्या गर्ने यो चरम फासिवाद (?) चरित्र हो । फासिवादभित्र पनि निश्चित नियम होलान् र त्यसलाई तोडेमा दिइने सजायको फेहरिस्त हुँदो हो तर नेपालमा सङ्कटकालीन अवस्थामा फासिवादलाई पनि माथ गर्ने घटना भएका छन् । एउटा स्मरणीय घटना २०५९ भदौ ४ गते मासु खाने दिन थियो । साबिकभन्दा केही ढिला खाना खाएर भित्रै बसिरहेको अवस्थामा एक हुल सैनिक जेलभित्र प्रवेश गरेर जो भेटिन्छ, उसैलाई माथि जेलर अफिसमा लगेर चरम यातना दिन थाले । पिट्दा पिट्दा मूर्च्छा पारेर छाड्ने, कसैको नाक, मुखबाट रगत निकाल्ने जस्ता क्रियाकलाप दिनभरि भइरह्यो । पछि ढिलो गरी बुझ्दा के थाहा भयो भने उक्त रातमा सिन्धुलीको भिमाद चौकीमा छापामारहरूले कब्जा गरेछन् र कैयौँ प्रहरी मारिएछन् । त्यसको बदलामा गोरखा जेल र हिरासतमा चर्को यातना दिइएको रहेछ ।” नरनाथ भरहट्टा उल्लेख गर्छन्, “ अन्त्यमा, भाइ मोदनाथ मरहट्टा जेलभित्र रहँदा वा बाहिर रहँदा हामीबिचमा कहिले फरक दृष्टिकोण भएन र वैमनस्यता पनि छैन । लेख्ने कलामा सधैँ अगाडि मूलधारको प्रगतिवादी साहित्यका कारणले विभिन्न राष्ट्रिय स्तरका सङ्गठनमा समेत आबद्ध छन्, राष्ट्रिय स्तरका पुरस्कार र सम्मानसमेत प्राप्त गरेका छन् । जेलभित्र रहँदा सङ्कलन गरेका केही दैनिकीसँगै मेरा शुभकामनाका केही अनुच्छेद प्रकाशन गर्न लागेकोमा म भाइप्रति शुभेच्छा व्यक्त गर्दछु ।”

आफ्ना कुरामा लेखक पोख्छन्, “ इतिहासका कुनै दिनहरू सम्झने खालका पनि हुन्छन् । हरेक मानव उमेरको एउटा तह पार गरेपछि पेसा व्यवसायमा आबद्ध हुन्छन् । बाल्यकालदेखिका दैनन्दिनी लेखन सङ्कलन गर्न सके त्यो व्यक्तिको जीवन बुझ्न सजिलो हुन्छ तर सबैको त्यस्तो सीप कहाँ हुन्छ र । म अचानक गोरखा झ्यालखानामा पुयाइएँ । त्यहाँ पुगेपछि मलाई लाग्यो म लेखपढ गरेर कैदी जीवन कटाउँछु तर स्थिति सोचेजस्तो भएन । सायद सटकालको बेला भएर होला सुरुमा त्यहाँभित्रका कैदीबन्दीहरूले पनि हामी आस्थाका साथीहरूलाई होच्याउने र‍ खिस्याउने गर्न थाले । कारागारमा पटक–पटक गरेर डेढ सयको सङ्ख्यामा आस्थाका माओवादी साथीहरू जम्मा भएका थिए । जेलभित्र पुगेपछि केही दिन असहज अवस्था बन्यो । जेलमा रहेको सानो पुस्तकालय पनि हटाइएको रहेछ । समय कटाउन खेल्ने पढ्ने, समय काट्ने कुनै साधन नहुँदा उच्चाटलाग्दो वातावरण बन्यो । बाहिर जनसम्पर्क छैन, घरपरिवार र आफन्तहरूले अन्यौलता बोकेर बाँचिरहे । सुरुको तीन महिना एउटा रेडियोबाहेक अरू सूचनाका साधन केही भएन ।”

भुँडीपुराणबाट प्रकाशित १ सय ४० पृष्ठमा आबद्ध पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।