साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई डा. माणिकरत्न शाक्यद्वारा सम्पादित पुस्तक “नेपाली बौद्ध कथा” प्राप्त भएकाे छ ।

यस सङ्ग्रहमा अभय श्रेष्ठको ‘मैत्रेय’, अश्विनी कोइरालाको ‘प्रेमको परिभाषा’, प्रा.डा कपिलदेव लामिछानेको ‘स्लिम बुद्ध’, गङ्गा कर्माचार्य पौडेलको ‘उ पागल होइन’, डा. गणेश प्रसाद भट्टराईको ‘शील सुगन्ध’, दिलीप शाहको ‘तितो सत्य’, धनराज गिरीको ‘दुःख छ !’, धीरकुमार श्रेष्ठको ‘मेरो कथाका नायक’, रामदेव पाण्डेको ‘ज्ञानको पुस्तातन्तरण’, रिता महर्जनको ‘कर्मको भोगाई’, रूद्र ज्ञवालीको ‘जीवनज्योति’, लक्ष्मी उप्रेतिको ‘धम्मपदको मार्ग’, विजय चालीसेको ‘समर्पण’, बिक्रमभक्त जोशीको ‘बुद्धका आँखा’, शारदा पराजुलीको ‘परिवर्तन’, सुमन्तराज न्यौपानेको ‘आनन्दका पश्यनामा’, हरिप्रसाद भण्डारीको ‘परिवर्तन’ बौद्ध कथाहरू रहेका छन् ।

नेपाली बाैद्ध कथा

नेपाली बाैद्ध कथा

शुभकामनामा डा. तिलकराम आचार्य लेख्छन्, “लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध शिक्षाको अध्ययन अध्यापन तथा अनुसन्धान गराउने क्रममा Door to Door Buddhism भन्ने नारार्ला अवलम्बन गरेको छ । सोही अनुरूप बौद्ध शिक्षालाई व्यापक रूपमा प्रचार-प्रसार गर्ने एक माध्यम साहित्य हो । साहित्यमार्फत आम जनमानसमा बौद्ध शिक्षा  पुर्याउने लक्ष्यले आयोजना गरिएको वरिष्ठ साहित्यकार हरूद्वारा बौद्ध कथा लेखन कार्यक्रममा संलग्न कथाहरूले बुद्धको शिक्षालाई सन्देशमूलक तरिकाबाट सम्प्रेषण गर्ने छन् भन्ने अपेक्षा गरेको छु । साथै साहित्यको माध्यमबाट बौद्ध शिक्षा हासिल गर्न चाहनेहरूका लागि यी कथाहरू स्रोतका रूपमा हुने विश्वास लिएको छु ।”

भूमिकामा डा. माणिकरत्न शाक्य लेख्छन्, “नपाली बौद्ध कथा लेखन कार्य लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन सङ्कायको आयोजनामा भएको छ । यस कार्यका लागि प्रारम्भमा नेपालका प्रतिष्ठित कथाकारहरूको नाम सङ्कलन गरी कथा लेखनका लागि पत्राचार गरिएको थियो । बौद्ध कथाको विषयवस्तुको लागि बौद्ध जगतमा अत्यन्त लोकप्रिय ग्रन्थ धम्मपदलाई मूल आधार बनाइएको थियो । धम्मपदमा रहेका विभिन्न श्लोकहरू विभाजन गरी कथाकारहरूलाई दिइएको र ती श्लोकको भावलाई मूल विषय बनाई कथा लेखाइएको थियो । यस पुस्तकमा जम्मा १७ वटा कथाहरू समावेश भएका छन् ।”

१ सय ३० पृष्ठमा बुनिएको पुस्तकलाई लुम्बिनी बौद्ध विश्वविद्यालयबाट प्रकाशन भएको हो ।