साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई सक्रिय मानवअधिकारकर्मीका रूपमा सुपरिचित कथाकार तथा कवि देविका तिमिल्सिनाको कविता सङ्ग्रह “अन्त्य कहाँबाट सुरु हुन्छ” प्राप्त भएकाे छ ।
यसमा ‘दोहन जारी छ’, ‘अझै रात असुरक्षित छ’, ‘समय पीडा’, ‘लुकाएको व्यक्तित्व’, ‘देश र नेता’, ‘खुकुरी’, ‘कोरोना लकडाउन’, ‘नयाँ वर्ष मनाइरहँदा’ ३६ वटा कविता सङ्ग्रहित छन् । समेटिएका विभिन्न स्वादका कविताहरूले भ्रष्ट्राचारको विरोधावाज गरी समानताको स्वर बोकेका छन् ।
“कविको सिर्जनात्मक मान्यता एउटै भए पनि कविताका विषय र बान्कीमा भने विविधता छ । उनको मान्यता जीवन र जगतभन्दा बाहिर छैन । उनको मान्यताअन्तर्गत स्वतन्त्रता, समानता, स्वाधीनता, समृद्धि, हक अधिकारलगायतका विषय पर्छन् ।” भूमिकामा शार्दूल भट्टराई लेख्छन्, “कवि देविका तिमिल्सिनाले क्लिष्टता र जटिलतालाई कवितामा निषेध गरेका छन् । उनका कवितामा अनर्थ भाव पाइँदैन । कविता सरल भईकन अर्थपूर्ण छन् । कतिपय कुरा बुझ्नलाई बुझेजस्तो लाग्छ तर अर्थ्याउन गाह्रो पर्छ । त्यस्तो समस्या विशेष गरी कवितामै पर्छ । तर देविका तिमिल्सिनाका कवितामा त्यस्तो समस्या देखिँदैन । उनी स्पष्ट छन् र उनका कविता स्पष्ट छन् । कवितामा उनको स्वर प्रगतिशील छ । त्यसैले पनि होला विचारको अभिव्यक्तिमा उनी प्रखर पनि छन् ।”
नेपाल स्रष्टा समाजबाट प्रकाशित ८० पृष्ठमा आबद्ध यस पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।