साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई  लोकसंस्कृतिको अध्ययनमा विशेष चासो राख्ने, विभिन्न विधामा कलम चलाउने ओम रिजालको पहिलो उपन्यास  “हटारु” प्राप्त भएको छ ।

१७ परिच्छेदमा विभाजित यस उपन्यासमा ‘अब कथा सुरु हुन्छ’, ‘सन्नाटा’, ‘ठालु बाँच्न दिँदैनन्’, ‘रित्तोगोठ’, ‘फेरि कथा सुरु हुन्छ’ आदि शीर्षकहरू समावेश छन् । साथै उपन्यासमा प्रयोग भएका दैलेखी भाषाका शब्दहरूको अर्थसमेत प्रस्तुत गरिएको  छ ।

हटारु

हटारु

२ सय ६३ पृष्ठमा आबद्ध यस उपन्यास दैलेखी माटोका अलिखित नारी हृदयका तथ्यपरक जीवन भोगाइको वास्तविक कथा हो । जातीय, वर्गीय तथा लैङ्गिक, अहङ्कार, अज्ञान, अन्धविश्वास, अभाव, अनिकाल र अन्यायमा परेकाहरूको वृत्तान्त हो । यसरी पात्रहरू जीवन्त छन् । परिवेश जस्ताको त्यस्तै उतारिएको पाइन्छ ।”

अनुभूति र आभारमा लेखक उल्लेख गर्छन्, “‘राजनीति फुटाउँछ, संस्कृतिले जुटाउँछ बाब !’ दैलेखी लोकसाहित्य र संस्कृतिका मर्मज्ञहरूले माथिको वाक्य नसुनाएको भए भलाई दैलेखी लोकसाहित्य र संस्कृतिले मोहनी लगाउने थिएन । दैलेखी लोकसाहित्य र संस्कृतिको मायाजालमा नपरेको भए मबाट ‘हटारु’ लेखिन सम्भव थिएन ।”

पुस्तकको पछिल्लो कभरपृष्ठमा लेखिएको छ, “हटारु उपन्यास पश्चिम नेपाली मूलतः दैलेखको भाषामा, दैलेखी संस्कृतिको लोकक(था)लात्मक प्रस्तुति छ । नेपाली भाषा र नेपाली थरहरूको उद्गमस्थल बहुसंस्कृतियुक्त दैलेखमा बिस्तारै लोप हुँदो गएको संस्कृति र सभ्यतालाई यसमा मीठो–मसिनोसँग आख्यानीकरण गरिएको छ । ऐतिहासिक, सामाजिकता, नारीकेन्द्री प्रगतिशीलताको चास्नीमा डुबाइएको हटारुले हरेक पाठकको जिब्रोदेखि मन–मस्तिष्कमा स्थायी बास गर्नेछ ।”

पुस्तकलाई साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि.ले बजारमा ल्याएको हो ।