साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई ४४ वर्षमा टेकेको, पाँचौँ अङ्क ‘युगदूत’ प्राप्त भएको छ ।
२०५८ सालमा तेस्रो अङ्क र २०६२ सालमा चौथो अङ्क प्रकाशित भई रोकिएको ‘युगदूत’ २०८० साउनमा पाँचौँ अङ्क प्रकाशन भएको छ । रघु पन्तको सम्पादकत्व र नेकपा(एमाले) साहित्य, कला, संस्कृति विभागद्वारा प्रकाशित यस पुस्तक २ सय ६० पृष्ठमा मौलाएको छ ।
यसमा केपी शर्मा ओलीको संस्मरणात्मक निबन्ध देखि लिएर चार थान निबन्ध कविता/गजल/गीत/हाइकु २१ वटा, ४ वटा अनूदित कविता, प्रदीप ज्ञवालीको विचारसहित अन्य चार वटा विचार/दर्शन, कथा/लघुकथा ११ वटा, फिरदोस हैदरको अनूदित कथा, शार्दूल भट्टराईको नाटक, डा. माधवप्रसाद पोखेरद्वारा भाषासम्बन्धी लेख, उमेश राना ‘गोर्खाली’कृत इतिहास, प्रा.डा. बद्रीविशाल पोखरेलको बहस, प्रा.डा. भीम खतिवडाकृत संस्कृति सहित तीन वटा समालोचना र सम्पादकीय समावेश छन् ।
सम्पादकीयमा लेखिएको छ, “सांस्कृतिक क्षेत्रमा देखा परेको यो गतिरोधलाई तोड्ने र नयाँ ढङ्गले यस आन्दोलनलाई अघि बढाउने हाम्रो प्रयत्न हुने छ । त्यही प्रयत्नस्वरूप हामीले ‘युगदूत’को प्रकाशनलाई पुनः प्रारम्भ गरेका छौँ । ‘युगदूत’लाई पुनः प्रकाशन गर्नुको कारण पठन संस्कृतिलाई प्रोत्साहित गरौँ भन्ने नै हो ।” सम्पादकीयमा लेखिएको छ, “वामपन्थी वृत्तका छात्रदेखि लिएर नेता-कार्यकर्ता कुनै समय आफ्नो गहन अध्ययनशीलताका लागि चर्चित थिए । तर आज त्यो चर्चा र अध्ययनको शैली इतिहासको विषयजस्तो बन्न पुगेको छ । अध्ययनविनाको कार्यकर्ताको पङ्क्ति भिडजस्तो हुन पुग्छ, जसलाई दिग्भ्रमित पार्न विरोधीहरूको लागि कुनै गाह्रो काम हुँदैन । साहित्यको अध्ययनले मान्छेलाई तिखार्छ । संवेदनशील बनाउँछ । आफू बाँचेको समय र समाजप्रति चिन्तनशील बनाउँछ । गम्भीर बनाउँछ । सोचविचार गर्नेतर्फ प्रेरित गर्छ । थप अध्ययन गर्न घच्घच्याउँछ । त्यसैले अध्ययनको लागि सामग्री बनोस् र साहित्यिक गतिविधिमा सक्रियता बढोस् भनेर हामीले ‘युगदूत’ को पुनः प्रकाशन आरम्भ गरका हौँ ।”
पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।