चुनेका कविता, मनका गीत –जयप्रसाद पाण्डे
कवि जयप्रसाद पाण्डेको कवितासंग्रह हो ‘चुनेका कविता, मनका गीत’ । पाण्डेले कवितामा मानवता, प्रकृतिप्रेम निरङ्कुशताले थिचिएको आवाज, विश्ववन्धुत्वको पुकार समेट्नुभएको छ ।
”श्री जय प्रसाद पाण्डेको वनारससँगको लामो संगत उठबस अध्ययन भएकाले र हिन्दी साहित्यालंकार गरेकाले उहाँको हृदय हिन्दी साहित्य, संस्कृतले सिञ्चित हुनुपर्छ ।” पुस्तकमा प्रा.डा गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ”रूमानी स्वच्छन्दतावादी हिन्दी कविहरू पन्त, प्रसाद, निराला हुँदै सुभद्राकुमारी चौहान, महादेवी बर्मासम्मले त्यस कलाको साधना गरे। छायाँवाद मिश्रित त्यो कलाको मूल प्रवाह हरिवंश राय ‘बच्चन’ मा आएर टुंगियो । यस्ता युगको प्रभाव उहाँमा परेको हुनुपर्छ । नत्र कसरी यी स्वच्छन्द धारा झल्काउने देशप्रेमका, प्रकृति प्रेमका, करूणा र सद्भावका, मधूर चेतनाले भरिएका भावनापूर्ण कविता रचिन्थे होला ? उहाँका रचना शुष्क बैचारिक जगतदेखि टाढाका, आक्रोश आग्रहले नछोएका, कतिबेला कोमल भावावेशका अनि सर्वोपरिता हृदयमा झङ्कृत हुने लयदार संगीत जस्ता छन् । मैले यिनलाई दोहोऱ्याएर पनि गाएँ। हाम्रामा महाकवि, सिद्धिचरण, भिक्षु, श्यामकृष्ण श्रेष्ठ आदिले त्यो युग थामे । उहाँले त्यसैले यी रचनालाई मनका गीत भन्नुभएको छ।”
त्यसैगरी, पुस्तकमा विवश पोखरेल लेख्नुहुन्छ, ”साहित्य समयको आवाज हो। जीवन र प्रकृतिको सुन्दर चित्र। स्रष्टाले यिनै परिधिभित्र रहेर आफ्ना भाव विचार र अनुभूतिका माध्यमबाट आफूलाई प्रस्तुत गरिरहेका हुन्छन् । समय प्रकृति र जीवन निकट रहेर स्रष्टाको मन र मस्तिष्कबाट प्रस्फुटित अनुभूति नै साहित्य हो। जहाँ हाम्रै भोगाइका विविधता प्रतिबिम्बित हुन्छन् । जब कुनै विषयले स्रष्टाको कोमल मनलाई छुन्छ स्रष्टाका भावहरू तिनै अनुभूतिस्वरूप अभिव्यक्त हुन्छन् । कवि जय पाण्डे नेपाली भाषा साहित्यको क्षेत्रमा लामो समयदेखि समर्पित स्रष्टा हुन ।”
पुस्तकलाई पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको छ । एक सय चार पृष्ठमा फैलिएको पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










