साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई शाश्वत प्रकृतिको लेखन सिर्जना गर्न मन पराउनु हुने कवि बाबुराम भुसालकृत नवीनत कृति “अभ्यास काव्ययात्रा” प्राप्त भएकाे छ ।

१०२ पृष्ठमा फैलिएको यस कृतिमा ‘अब आफै ब्युँझिएर हेरौँ’, ‘म बहादुर मजदुर !’, ‘पीडा महिलाको पेवा भएजस्तो’, ‘कुकुर र मान्छे’, ‘यदि अनुभूतिमा प्रेम छ भने’, ‘आफ्नै चेतना चिन्नु छ’ लगायत ५० थान कविता सङ्ग्रहित छन् । यसमा केही उत्कृष्ट गजल र गीतहरू पनि छन् ।

भूमिकामा वासुदेव अधिकारी लेख्छन्, “बाबुरामका कविताहरू अभ्यास मार्फत सही लक्ष्यमा पुग्ने दार्शनिकताले ओतप्रोत भएका छन् । खराबी विरुद्ध सङ्घर्ष होइन अभ्यास गरी आफ्नो गन्तव्यमा पुग्न उनका कविताले पाठक वा भावकलाई उत्प्रेरित गर्छन् । कविले अभ्यास मार्फत पाइने सिद्धिको दार्शनिकता लगायत अन्य जीवनदृष्टि अनेक कवितामा अन्तर घुलन गरेका छन् । सरल दार्शनिकता उनका कवितामा फेला पर्ने मुख्य विषय हो । जीवनको भोगाइ र तर्कनालाई उनले मिठासयुक्त तवरले कवितामा गुम्फित गरेका छन् ।”

भूमिकामा ऋषि आजाद लेख्छन्, “कवि बाबुराम भुसालका गद्य कविताहरूमा बिम्ब, प्रतीक र मिथकको प्रयोग कम होला तर भावका दृष्टिले उहाँको कविताहरू निकै मार्मिक र सन्देशमूलक छन् । सरल खालका अभिधात्मक काव्य रचनामा विपुल भावराशि टकारेर कविले आफूलाई कमजोर हुन दिनु भएको छैन । उहाँ साहित्यमा सफलताको शिखर चुम्नतिर लागेका सिर्जना अभ्यासमा तल्लीन एक नव प्रतिभा हुनुहुन्छ ।”

पुस्तकको पछिल्लो पृष्ठमा उल्लेख गरिएको छ,

मेरो आँखा

मेरो भएर के गर्नु

मेरो अनुहारमा भएर के गर्नु

मेरै अनुहार देख्दैन भने

मेरो कान

मेरो भएर के गर्नु

मेरो दायाँबायाँ रहेर के गर्नु

मेरै मुखको बोली सुन्दैन भने

मेरो मस्तिष्क

मेरो भएर के गर्नु

मेरो शरीरमा भएर के गर्नु

म स्वयम्लाई चिन्दैन भने

पुस्तकलाई लेखक स्वयम् बजारमा ल्याएको हुन् । पुस्तकको मूल्य २ सय ८२ रुपियाँ रहेको छ ।