“घर, जमिन, नागरिकता नभएको मानिसलाई के भन्ने ? राज्यविहीन ? अनागरिक ? शरणार्थी ? गरिब ? तर यी कुनै कुराको चाह नभएको मानिसलाई चाहिँ के भन्ने नि ?”

यो प्रश्न जुन छ, ‘लिभिङ इन द मिस्ट’मा उल्लेखित छ । प्रस्तुत पुस्तक साहित्यपोस्टलाई साताकाे पुस्तककाे रूपमा प्राप्त भएकाे छ ।

‘लिभिङ इन द मिस्ट’ – किशोर शर्माको अनुसन्धानात्मक पुस्तक हो । यसमा राउटेहरूको जीवन, उनीहरूको रहनसहन, उनीहरूको बसाइँ सराइ सभ्यता बारे स्पष्ट रूपमा व्यक्त गरिएको छ । प्रस्तुत पुस्तकमा राउटेहरूको तस्बिर आकर्षित तरिकाले संकलन गरिएको छ ।

फोटो सार्कलद्वारा प्रकाशित प्रस्तुत पुस्तकलाई किशोर शर्माले सम्पादन गरेका छन् भने प्रवीण अधिकारीले अंग्रेजीमा अनुवाद गरेका छन् । बलेन्टिना एबनाबोलीद्वारा डिजाइन गरिएको छ ।

पुस्तकभित्र लेखिएको छ –

“६ वर्षको दौरानमा राउटेहरूलाई धेरै पटक भेटे पनि केही कुरा खुलेर कहिल्यै पनि भएन ।

उदाहरणका लागि, राउटेहरू बाँदरको शिकार गर्छन् तर त्यसबारे उनीहरू खुलेर बोल्न चाहन्नन् ।

‘पुर्खदेखिको चलन, भगवान्ले दिएको हो हामीलाई,’ एक पटक मइनबहादुरले भनेका थिए । तर सकेसम्म त्यसबारे नसोधे हुन्थ्यो जस्तो गर्छन् राउटेहरू । ‘हाम्रो शिकार बिग्रिन्छ, त्यसैले बस्तीमा नआउनु है,’ राउटेहरू भन्ने गर्दछन् । आफूले शिकार गरेको दृश्य बाहिरका मान्छेले हेर्न नहुने र त्यस बखत कोही बाहिरका मान्छे बस्तीमा जान पनि नहुने भन्ने मान्यता छ उनीहरूको । अटेर गर्यो भने उनीहरू खूबै रिसाउने गर्दछन् । एक पटक दैलेखमा त एक हप्तासम्म राउटे बस्ती नगई बसेको थिएँ शिकारको समय परेर ।

उनीहरू लाम लागेर बाँदरको शिकार गर्न गएको चाहिँ देखेको छु । शिकार गर्न एकपछि अर्को गर्दै समूहमा गइरहेका हुन्छन् । बलाल, शिवराज लगायतकासँग मेरो राम्रो मिल्ती भएकोले केही परसम्म कुरा गर्दै गएको थिएँ एक पटक । पछाडि आउने समूहलाई बाटो देखाउन स्याउलाको चिनो राख्दै अघि बढेका थिए उनीहरू ।

अलिक हिँडेपछि शिकार बिग्रिन्छ भनेर उनीहरूले मलाई फर्कन आग्रह गरे अनि म फर्किएर आफ्नै बाटो लागेँ । बेलुका फर्किंदा उनीहरूमध्ये केहीले पछाडि पोको बोकेका थिए । तर मलाई देखेको नदेखेझैँ गरी उनीहरू हतार–हतार अघि बढे ।
बाँदरको शिकार सजिलो भने पक्कै छैन !

राउटेहरूले कुनै लामो हतियारको प्रयोग नगरीकन जालमा पार्ने गर्छन् रे बाँदरलाई । भीर– कान्ला केही नभनी कुनुपर्ने हुन्छ रे । राउटेहरूले मन्त्र हानेर बाँदर बोलाउने गरेको कहानी पनि सुनिन्छ, राउटे घुम्ने आसपासका गाउँमा !

यस्तै एउटा शिकारको सिलसिलामा कृष्णको मृत्यु भएको रहेछ । त्यसको केही समयपछि मैले राउटेहरूलाई अछामको तुर्माखाँद नजिकै भेटेको थिएँ । साँच्चै कृष्णको मृत्यु कसरी भयो त ? उनको मृत्युबारे राउटेहरूको आफ्नै भनाइ थियो । तर गाउँलेहरूसँग भने भिन्नै कथा थियो ।

गाउँलेहरूको भनाइ थियो – कृष्णले गाउँमा आएर रक्सी खाएको थियो अनि सर्ट पाइन्ट लगाएर नाचेको थियो । त्यही भएर बस्तीमा फर्किएपछि अरु राउटेले कुटेर मारेको हल्ला थियो गाउँमा । राउटेहरूलाई आम गाउँलेले कसरी चित्रित गर्दा रहेछन् ? यस कुराको उदाहरण पनि थियो कृष्णको मृत्युकथा ।

अछामका धनबहादुर बुढा भने राउटेहरूको भनाइसँग सहमत थिए । त्यस बखत उनी राउटेहरूको खोजखबर जुटाउन खटिएका थिए ।
‘यो सब हल्ला हो । बाँदरको शिकार गर्न जाँदा लडेर मृत्यु भएको रहेछ,’ धनबहादुर बुढाले पछि सुनाएका थिए । ’बरु त्यसपछि बस्तीमा जाँदा उसको छाप्रोमा सबै राउटे मिलेर राम्रोसँग लिपपोत गरिदिएका थिए, फूलहरूले सिँगारीदिएका थिए । बस्तीमा सबैभन्दा राम्रो उसकै छाप्रो देखिएको थियो ।’”

लेखकको राउटेसँगको संवाद र उहाँको लेखन शिल्प साथै उहाँको फोटो पत्रकारिता शिल्पले लेखहरू पठनीय छन् र पुस्तक भित्रका तस्बिर आफै बोलेका छन् ।