साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई जनप्रिय नाटककार तथा कवि सी.के. श्रेष्ठद्वारा लिखित कवितासङ्ग्रह कृति “बनमारा” प्राप्त भएकाे छ ।

२ सय १० पृष्ठमा फैलिएको प्रस्तुत पुस्तक चार खण्डमा विभाजित छ । ‘पहिलो खण्ड : प्रथम पुरुष, एक वचन’मा २१ थान कविता, ‘दोस्रो खण्ड : अतीतको दस्ताबेज’मा २२ थान कविता, ‘तेस्रो खण्ड : नोस्टाल्जिया’मा ११ थान कविता र ‘चौथो खण्ड : सुरमय कविताहरू’मा ४४ थान कविता समावेश छन् ।

भूमिकामा डा. राजेन्द्र भण्डारी लेख्छन्, “‘बनमारा’सङ्ग्रहमा जनबोलीका काँचो हस्को पाइन्छ । घर-घुरेन, जुलुस, नारा, रोपाइँ, ठट्टा, चियाटिपाइ, गिटीकुटाइ, हारगोहार, नाटकीय घटनाप्रसङ्ग, युवासुलभ भावुकता जतासुकैबाट शब्दहरू टिपिएका हुनाले पाठहरूको जम्काभेट सोझै हरदर मानिससँग हुन्छ । तिनको जडसँग हुन्छ हरदर मानिस पाठकसँग नाता गाँस्न सजिलै आइपुग्छ । मानक नेपाली भाषामा नपाइने तर जनबोलीमा ढुक्कै प्रयोग गरिने स्यानु, कस्सम, हायढुक्क, गोबरझ्याल, यार, चुपो, चाबार-चुबुर, थिँदै, क्यै-जस्ता शब्दहरूले कविताहरूमा दार्जिलिङे नेपाली भाषाको झल्को दिन्छन् । र श्रेष्ठका कविता सोचिनेभन्दा धेर देखिने, पढिनेभन्दा धेरे भोगिने प्रकारका छन् ।”

भूमिकामा डा. दिवाकार प्रधान लेख्छन्, “सी. के. श्रेष्ठमा लोक परम्पराको गहिरो छाप छ । रेलीमाई, रामसाइँलीका धुनहरूले गोर्खाको हृदय बोलिदिएका छन् । बुर्का-भेदी समाजमा जस्तो केटीलाई कल्पनाले मात्र हेर्नुपर्ने गजलमा भन्दा मेला-भेलामा र राम-रमितामा रमाउने लोक-लहरीहरू सी. के. श्रेष्ठका अभीष्ट हुन् । यिनलाई ‘वन’ भन्नु मन परेन । अशुद्धै होस् व्याकरणमा तर लोक-जिभ्रोको ‘बन’ मनपर्यो । बनाए ‘बनमारा’ । लेखे ‘बनमारा’ नै । वास्तवमा अनुसन्धानले पनि यसै भन्छ – समाजको अधिकांशको भाषा यस्तो छ भन्ने देखाउन मानक व्याकरण बनिएको हो । यसैले व्याकरणमा परिवर्तन हुन सक्ने प्रावधान पनि रहेको हुन्छ ।”

पुस्तकलाई गोर्खा भारती विचार मञ्चले प्रकाशनमा ल्याएको हो ।