साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई पछिल्लो ११ वर्ष प्रवासमा बिताएर त्यहाँ बिताएका महत्त्वपूर्ण र अविस्मरणीय पलहरूलाई साहित्यमा समेटी  नियात्राकार बिनोद खड्काले बजारमा ल्याउनुभएको नियात्रासङ्ग्रह “ओला” प्राप्त भएकाे छ ।

यसमा ‘बिनाभिसा दुबईतिर’, ‘डायरीमा माउन्ट ब्लान्क’, ‘मेन नदीको सिरेटो’, ‘ननिदाएको त्यो रात’, ‘युद्धभूमिमा नयाँ पाइला’, ‘बिलाउँदै गरेका ताराहरू’, ‘नभेटिएको कङ्गारु’ लगायत ४३ थान नियात्रा सङ्ग्रहित छन् । पुस्तक बेग्लै, अर्थपूर्ण र गर्बिलो परिचय बनेको छ ।

“नियात्राकार खड्कामा मानवीय मन र प्रकृतिको पन पढ्ने गहिरो र सूक्ष्म कला निकै अद्भुत लाग्छ । मानिसका व्यवहार र प्रकृतिको आलोकमा तुलनात्मक अध्ययन उहाँको लेखकीय पक्ष हो कि भन्ने विश्वास पनि यहाँ अनुभूत हुन्छ । समस्या, अप्ठ्यारो, जटिलता वा प्रतिकूल व्यवहारलाई निकै उत्साहप्रद ढङ्गले नियात्रामा लेखने उहाँको लेखकीय कला साँच्चै सुन्दर छ, प्रेरणापद छ र स्मरणीय छ ।” भूमिकामा युवराज नयाँगडेको उल्लेख छ, “ओला नियात्रा साहित्यमा निकै सूचना, जानकारी र वृत्तान्त दिने कृतिका रूपमा आएको छ । डुलेसरह, घुमेसरह, पुगेसरह र निहालेसरहको बिछट्टै मजा र प्रफुल्ल दिनमा कृतिकारको सफलता यहाँ हामी अनुभूत गर्न सक्छौँ ।”

राधेश्याम लेकाली लेख्छन्, “ओलाका लेखकले मानसिक र भौगोलिक दुवै पक्षको समग्र अध्ययन गरी नेपाली जिज्ञासु र अन्वेषकका लागि राम्रो सिर्जना गर्नुभएको छ । पेशागत अनुकूलता र कार्गत सीप भएकैले पनि यो राम्रो कृति आउनमा सहायक हुन पुगेको मेरो ठम्याइ छ ।”

लेखक लेख्छन्, “‘नदी’ अविरल यात्राको प्रतिबिम्ब जो बगिरहन्छ, तर फर्कँदैन । ‘जिन्दगी’ पनि केवल बगिरहने नदी जस्तै एउटा प्रक्रिया हो जो अगाडि बढ्छ, रोकिँदैन, फर्कँदैन । आरोह-अवरोहहरू त यसका नियतिहरू मात्रै हुन् । यदाकदा भेटिने छालहरू यसका गहनाहरू हुन्, जसले बहावमा एक प्रकारको गति भर्ने गर्छ, सौन्दर्य छर्ने गर्छ ।”

पुस्तकलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले प्रकाशनमा ल्याएको हो । ३ सय ६२ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।