दिव्य गिरी

१.
यो मेरो सम्पूर्ण जवानी तिमीलाई सुम्पिएँ
मेरो अमूल्य जिन्दगानी तिमीलाई सुम्पिएँ
सुम्पिन बाँकी मसँग अरू पनि के-के होला
मेरो मायाँको राजधानी तिमीलाई सुम्पिएँ ।

२.
तुवाँलाले ढाक्दा दिन पनि उदास-उदास छ
आज वातावरण पनि उदास-उदास छ
जबदेखि मबाट टाढा-टाढा हुँदै गयौ
तिमी सम्झँदा मन पनि उदास-उदास छ ।

३.
सधैँझैँ मेरो आँगनमा झुल्केको बिहानी छ
रातभर रुँदा आँसुले भिजेको सिरानी छ
दिनरात सम्झनाले डसिरहेछ उसलाई
ऊसँग एउटा बिछोडको यौटा कहानी छ ।

४.
जहाँबाट आए पनि यो सहर त तिम्रै हो
मायाँ लाउने, नलाउने रहत त तिम्रै हो
अहिलेसम्म कोही छैन यो मेरो दिलभित्र
ढोका उघारी पस, मायाको घर त तिम्रै हो ।

५.
तिम्रो मेरो पिरतीको मेल रोकेर रोकिन्न
असार र साउनको भेल रोकेर रोकिन्न
आकाशमा मिर्मिरेको ताराजस्तै हो जीवन
चलिआएको भावीको खेल रोकेर रोकिन्न ।

टिकाथली ५, ललितपुर