काठमाडौं / वरिष्ठ लघुकथाकार दिव्य गिरीको दोस्रो लघुकथा ‘पुत्लादहन’ लोकार्पण भएको छ ।

बुधबार काठमाडौंको मीनभवनस्थित थाहा पुस्तकालयमा साहित्यिक पत्रकार संघको आयोजनामा समालोचक डा.लक्ष्मणप्रसाद गौतमको प्रमुख आतिथ्य तथा प्रा. रामकुमार पाँडे, अशेष मल्ल, डा. सावित्री मल्ल कक्षपतिको आतिथ्यमा पुस्तकको लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डा. गौतमले दिव्य गिरीका लघुकथाहरूमा समकालीन समय, समाज र मानिसका प्रतिच्छाया पाइने बताए । गिरी प्रतिनिधि लघुकथाकार भएकोमा कुनै दुविधा नरहेको धारणा राख्दै उनले संरचनाशैलीको पक्षमा भने गरिीलाई केही परिमार्जन गर्न सुझाव दिए ।

यस्तै, समीक्षक डा. सावित्री मल्ल कक्षपतिले दिव्य गिरीका लघुकथाहरूको विभिन्न उद्धरण प्रस्तुत गर्दै गिरीका लघुकथाहरू नेपाली लघुकथा क्षेत्रको प्राप्ति भएको चर्चा गरिन् । गिरीले लघुकथामा सम्पूर्ण विषय वस्तुलाई समेटेकामा खुसी व्यक्त गर्दै उनले आगामी कृतिका लागि शुभकामना दिइन् ।

कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार संघले स्वर्णमहोत्सव मनाइरहेको यस घडीमा विभिन्न विधाकेन्द्रित कार्यक्रमको आयोजना गरिरहेको जानकारी गराए । उनले साहित्य क्षेत्रलाई अझै मजबुत बनाएर जानुपर्ने भन्दै यसका लागि सबै एक हुनुपर्नेमा जोड दिए ।

समीक्षक युवराज मैनालीले गिरीका लघुकथामा जीवनका विभिन्न पक्ष र घटनाहरूको चित्रणका साथै व्यङ्ग्य पनि पाइने बताए।

आयोजक संस्थाका सदस्य डा. दामोदर पुडासैनी किशोरले कार्यक्रममा स्वागत गरेका थिए भने समालोचक डा. नारायण गडतौलाले गिरीलाई कृति सफलताका लागि शुभकामना दिएका थिए । यस्तै साहित्यकार प्रमोद प्रधानले गिरीको परिचय प्रस्तुत गरेका थिए ।

लोकार्पण कार्यक्रममा स्रष्टा दिव्य गिरीले आफ्ना २ वटा लघुकथा वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन साहित्यकार श्रीबाबु कार्कीले गरेका थिए ।