जुग पुरानो चलनचल्तीको बाल्टिन
फुटे पनि फालिएको छैन ।

यो पुरानो बाल्टिन
भरिएको छ
पोछाको पसिनाले
पोछाको आँसुले ।

यही बाल्टिनभित्र
चोबिन्छ पोछा
निचोरिन्छ उसको जेलिएको लट्टा
र निल्न लगाइन्छ
संसारभरको दाग मैलो ।

भविष्यझँै अँध्यारा घरका
कुना कुनामा घस्रिदाघस्रिदै
गलिसक्यो उनको फलामको ढाड
र सुन्नुपर्छ –“चाडै बुढी भएछौ ।”

दागै दागको भुइँमाथि
गर्दै ओहोर दोहोर
परिसक्यो अनुहारमै पोते
र सुन्नुपर्छ –“कति गर्छौ मेकअप ?”

म व्याकरण नहेरिकनै भन्न सक्छु
’पोछा’ स्त्रीलिङ्ग शब्द हो ।