भन- कलम, फूल, तरवारमा, के ठूलो ?
मरेपछि चिहान अनि दरबारमा, के ठूलो ?

बिदाइको आँसुले धेरैथोक भनिरह्यो
दुलहीलाई आमा र श्रृङ्गारमा, के ठूलो ?

म मन निचोरेर धन थुपारूँ कसरी ?
चोखो भावना र महँगो हारमा, के ठूलो ?

सपनाको बाटो सजिलो हुँदैन पक्कै
बिस्तारै पुग्नु वा लड्नु हतारमा, के ठूलो ?

जिन्दगी कति सुखी, खुशी हुने रै’छ
के सानो भनी जोखियो, बेकारमा के ठूलो ?

वि. सं. २०६२ देखि ‘अलग अभियान’ मार्फत लेखन (विशेषतः कवितामा) सक्रिय । ‘आस्थाको स्तम्भ’ तथा ‘अलग कविता’ गरी दुई संयुक्त कविता सङ्ग्रह तथा विभिन्न पत्रपत्रिकामा फुटकर कविता तथा अन्य रचनाहरु प्रकाशित । हाल नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकको रूपमा कार्यरत । व्यक्तिगत ब्लग ‘www.blogbishad.blogspot.com’ सन् २००९ देखि निरन्तर संचालनमा ।