यतिबेला आकाश सफा छ । मौसम रमाइलो बनेको छ । अलिअलि चलिरहेको हावाले वरपरका पातहरु हल्लिरहेका छन् । फूलहरु फुलेका छन् । भँवराहरु फुलमा बसिरहेका छन् । आकाशको उज्यालोमा चराहरु चिरबिराउँदै चुच्चाहरु पुछ्दै छन् । सबैका आँखाहरु तृप्त भएर बोलिरहेजस्ता छन् । सूर्यझैँ भएर चम्किरहेका छन् । समय नै यस्तै छ ।

घाँटीभरि मखमली लटरम्मै फुलेका छन् । निधारभरि ताइचिनी चामल उम्रेका छन्–अक्षता भएर । सारङ्गी आफू कुनामा थन्किएर हर्षोलासमा पाकेका धुनहरु मनभरि गुञ्जिरहेको छ । जता हेर्यो उतै खुसीका चङ्गाहरु पुछर हालेर र नहालेर पनि आकाशमा उड्दैछन् । मायालुहरु धक खोलेर फूलहरुमा चुम्दै एकआपसमा मन साट्दै छन् । पहाड आफ्नो छातीभित्रका पीडाहरुमा ताल्चा मारेर गुनगुनाउँदै छ । पवन खोलासँग तेलकासा खेल्दैछ । खोला अघि–अघि भाग्दैछ, पवन पछिपछि लखेट्दैछ । जति लखेटे पनि भेट्न नसकेपछि ‘कहाँसम्म भाग्लास्’ भन्दै हेर्दैछन् ।

अग्ला–अग्ला रुखका पातहरु एकआपसमा झुल्दै वरपर हेर्दैछन् । सबैको समय छ । सबैको मन छ र सबैको साथ सुख छ । तर म के छु मलाई थाहा छैन । देखेका जति बोलेका जति र हिंडेका जति सबैलाई मैले चिन्न सकेको भए तापनि मैले आफूलाई चिन्न सकिरहेको छैन । त्यसैले म अहिले खोलाको बगरबगर क्रमशः पाइताला भएर खिइँदैछु । यो आफैले आफैँलाई खोज्ने धुन हो ।

एक्लै छु । समय पनि एकान्त बनेको छ । अहिले मलाई म भनेर चिनाउने कसैको उपस्थिति छैन । समयले मलाई लाटो बनाएको छ । हुन त अहिले बोल्न जानेको पनि कुनै औचित्य छैन । सहरबाट ट्रक र ट्याम्पुको आवाज आउन नसके पनि एक दुई मुरी प्रदूषित भइसकेको बगरको हावाले मलाई जिस्काउन खोज्दैछ । म पाइतालाहरुलाई निरुद्धेश्य अगाडि बढाइरहेको छु र थाहा नभइकनै फर्किरहेको छु । यो मेरो कुनै बाध्यता हैन र स्वेच्छा पनि हैन ।

यतिबेला, म वरपर कराइरहेका कीराका आवाज नरोकियोस् भन्ने चाहन्छु । एउटै हावामा प्रेमालाप गरिरहेका ढुकुरका जोडीहरुलाई पनि कुनै बाधा नहोस् भन्ने चाहन्छु । अझ म त खोलामा खेल्दै गरेका माछाहरु एकछिन पनि नरोकिउन् भन्ने चाहन्छु । मेरो कारण कसैलाई केही अवरोध नहोस् भन्ने चाहन्छु । कुनै धर्मले होइन । कुनै न्याय गर्न खोजेको पनि होइन । मात्र ममा सीमित हुन सकूँ । अरु अरुकै अस्तित्वमा रमाओस् भन्ने मात्र हो । त्यसैले म अहिले सुस्तरीसुस्तरी पाइताला चालिरहेको छु । सकेसम्म आफूलाई पनि थाहा नहुने गरी बढोस् पाइताला भन्ने छ ।

आफ्ना घर नभएकाहरुका घर छन् बगरमा । लहरै छन् झुप्राझाप्री घरहरु । एउटी बालिका दौड्ँदै नदीतिर दौडिँदै जान्छे । म विस्तारै उनी भएकै ठाउँमा पुग्छु । हेर्छु उनलाई । च्यातिएका लुगा । नकोरिएका कपाल । क्र्रिम पाउडर नपाएको अनुहार । गाजल नभएका आँखा । उज्यालो हुन नसकेको मुहार । केही नबोली, केही नसोधीकन म उसलाई पढ्न थाल्छु । भेट्दिन उनको कलिलो अनुहारमा कुनै अक्षरहरु । बनिनसकेकोजस्तो कुनै कथा । मान्छे हुँदैन जस्तो लाग्थ्यो कथा नहुने र व्यथा नहुने कोही पनि । मलाई झूठो लाग्न थाल्छ– मान्छे एउटा कथा हो जीवनको भन्ने । मान्छे बाँचुन्जेलसम्मको राम्रो काव्य हो भन्ने पनि । उनको अनुहारमा न जितेको कुनै खुसी छ न हारेको कुनै पीडा नै ।

छाप्रोबाट निस्केकी यी बालिका छाप्राहरुभन्दा विशेष उज्याली थिइन् । ध्वजापताकाले सिङ्गारिएको मनजस्तो । सौन्दर्यले फक्रन लागेको चिनियाँ गुलाफजस्तो । भर्खरै आमा बनेकी युवतीले आफ्नो सिर्जनालाई हेरेर सन्तुष्ट भएजस्ती । उनलाई हेर्दाहेर्दै उनीभन्दा पछिको रुपमा देख्न थाल्छु । बालिकामा हुने केही वर्षपछिको रुपमा देख्न थाल्दछु । भविष्यको नाङ्लोमा राखेर उनलाई फनफनी निफन्न थाल्छु । चलचित्रको संवेदनशील दृश्यमाझैँ एकत्रित भइरहेको छु । कुनै राम्रो पुस्तकको बिसौनीतिरजस्तै ध्यानस्थ भएको छु । अचानक मेरो मौन दृश्यको भविष्यलाई ऊ गर्लम्मै भत्काउँछे । म देखिरहेको रहरबाट बिलाउँछु । उनी मेरो नजरबाट उम्कन्छिन् अर्थात् उनी दौडेर आफ्नै गुँडभित्र पस्छिन् । म विचलित हुन्छु । केही हराएजस्तो, केही गुमाएजस्तो हुन थाल्छ । खोजिरहेको चिज नपाएजस्तो । थकथकी लाग्छ उनको भविष्य हेर्न नपाएकोमा । उनको ज्योतिषी बन्न नसकेकोमा ।

उनको निधारमा गुलाफ फुल्थ्यो होला कि ? ओठमा लाली दलिएको हुन्थ्यो होला ? यौवनमा परेवाहरुलेजस्तै पखेटा फट्फटाउन पाउँथिन् कि पाउँथिनन् होलिन् ? उनी रहरले एउटै सिन्दूरमा सिङ्गारिन्थिन् होलिन् कि प्रत्येक दिनको द्रौपदी बन्न वाध्य हुन्थिन् होलिन् ?

हत्तेरी, कस्तो बेमज्जा भएको । नसकिएको सिनेमा बिचैमा छोड्नु परेजस्तो । उनका यति कुरा थाहा पाउन पाएको भए कति मजा हुन्थ्यो होला । बेकारमा मन कागतीजस्तै अमिलो भएको छ । भूकम्पले अलिअलि हल्लाएको घरजस्तै । मन अधीर भइरह्यो केहीबेरसम्म नै । हुन त खाई न पाई छाला टोपी लाई भनेजस्तै । अर्थ न बर्थसँग मन पनि किन भावुक बनेको होला ? नजाने गाउँको बाटो सोधेर अलमलिएजस्तै भएको छ । एउटी बच्चीको, त्यो पनि भविष्यको इतिवृत्ति थाहा पाउन नपाएको पीर । न भैंसी बेचेको साइनो न दूध खाएको साइनो । म माथि फर्केर आकाशतिर हेर्छु । बादलहरु यत्रतत्र सलबलाइरहेका थिए । अलि ध्यान दिएर हेर्छु । बादलमै देखिन थाल्छन् । आफूले अनुमान गरेजस्ता मूर्त र अमूर्त चित्रहरु । उनलाई बादलजस्तै ठान्छु र बिर्सन खोज्छु ।

तर मनको कुरो न हो आखिर । चित्त बुझाउनासाथ के चुप लागेर बस्थ्यो र ? उनी दौडँदै भित्रिएको छाप्रोमा आँखा पुर्याउँछु । आँखासँगसँगै थाहा नपाउने गरेर शरीर पनि त्यहींँ पुग्छु । आँगनमा त्यही बच्ची सिलावरको गिलासबाट पानी पिउँदै थिइन् । साथै बसिरहेकी थिइन् उनकी आमा पनि । अकस्मात् आकाशमा सूर्यलाई देख्नासाथ आमालाई साेिध्छन्, ‘आमा ! आमा ऊ त्यो आकाशमा पुग्ने बाटो कहाँ छ ? हाम्रो बा पनि त्यहीं जानुभएको हैन ? म पनि बालाई भेट्न जान्छु है आमा ।’

म बच्चीको दार्शनिक अवोधतामा स्वात्तै पग्लन्छु । अभाव भएको वस्तुको माग बढेजस्तै गरी उनले आमाको सामु बितेका बाबुप्रतिको स्नेह प्रकट गरिन् । त्यति कलिलो मनले आकाशपारि पुगेका बाबुलाई सम्झँदा कति अलिनो हुन्छ होला ? उनको भन्दा उनकी आमामा हुने पीडामा म पनि तीतो भएर पग्लन खोज्छु तर तुरुन्तै सम्हालिन्छु । मेरो बालिकाप्रति भएको जिज्ञासाको भण्डार उनकी आमालाई देखेपछि झन् बढ्न थाल्छ । कौतुहलता थपिँदाथपिँदै शिखर बनेर ममा अटाउन नसक्ने हुन्छ । विनायोजना जिज्ञासा मेट्नका लागि पतिको पीरमा बाहिर सेतै फुलेकी युवतीसामु पुग्छु । तीस पनि नकाटेकी युवतीका पुष्ट शरीरमा सेतो वस्त्र अलिकति पनि सुहाएकोजस्तो लाग्दैन । पतिको भर्खरै मात्र मृत्यु भएको रैछ । अर्को काखेछोरा पनि रैछ । दिनभरि बजारमा गएर कुखुरा बेच्ने गर्दा रहेछन् । त्यही कामले छोराछोरीको पेट पाल्ने र आफ्नो स्तन भर्ने गरेकी रैछ ।

यस्ती बैँसले फुलेकी विधवाको रहर तिहारको पिङजस्तो कति मचिन्छ होला ? स्तनचोलीविनाको चोली खोलेर छोराको भोक, प्यास मेटाउन थाल्छिन् । उनको चोलीबाट उनको उमेरले पनि चिहाइरहेको प्रष्टै देखिन्छ । अहिले उनी एक प्रकारले कस्तुरीझैँ भएकी छिन् । आफ्नो सुगन्ध थाहा नपाएर खोज्दै भौंतारिएजस्तै । उनीसँग भएको उनको उमेरले उनलाई कुनै पर्वाह गरेजस्तो लाग्दैन । दुध चुसाउँदै गरेको उनीबाट आएको बैँसको वासले मलाई उनीसँग बोल्न पटक्कै मन लाग्दैन । उनको पीडालाई आत्मसात् गरेर आफूलाई बगाउन चाहिनँ । प्याजझैँ उनलाई बोक्राएर आफू रुझिन चाहिनँ मैले । विवाहपूर्वका समयसँग पनि वास्ता गर्न खोजिनँ मैले । अझ बालिकाताकाको उनको उत्साहलाई पनि गुन्न खोजिन मैले । भविष्यलाई त झन् हेर्नै चाहिनँ मैले ।

छेउमा बगिरहेको नदी आफ्नै सुरमा सुसेलीरहेको थियो । रुखका हल्लिरहेका हाँगाहरुमा चराहरु गाइरहेका थिए । आकाशमा बादलहरु अमूर्त चित्रहरुमा कूची र रङहरु पोत्दै थिए । सूर्य आफ्नो दैनन्दिनी सकाएर ओरालो लाग्दै थियो । साँझ उत्तेजित हुँदै थियो । भनैँ समय सन्दर्भ एकप्रकारले हिप्नोटाइज्ड भइसकेको थियो ।

म के भइरहेको थिएँ मलाई पनि थाहा थिएन । अघिसम्म आफूलाई खोज्न हिंडेको थिएँ अहिले त त्यो पनि बिर्सिएको छु । विनातालमा बजेको हार्मोनियमको आवाजजस्तै । नकसेको सितारको तार गुन्जिएजस्तै । सूत्र नमिलेको हिसाबको योगफलजस्तै । लाग्न थालेको थियो मात समय र परिवेशको । नसा–नसामा विद्युत बग्न थालेजस्तो भएको थियो मभित्र । किन होला ? थाहा छैन । कसरी होला ? थाहा छैन ।

मलाई त्यो बच्चीको मुहारमा दया लाग्न छोडेको थियो । विधुवीलाई सुकुम्बासी युवती हो र कसैकी स्वास्नी हो भन्ने बिर्सिएको थिएँ । बच्चीकी आमा हो भन्ने बिर्सिएको थिएँ । काखमा अर्को बच्चाले लाम्टा चुस्दैछ भन्ने पनि बिर्सिएको थिएँ । सेतो पहिरन देख्न छोडिसकेको थिएँ । कल्पनाहरु शिखर बनेर छताछुल्ल भएर बग्न थालेको थियो । नढाँटी भन्ने हो भने उनको अमूर्ततामा केही खोजिरहेको आँखा देख्न थालेको थिएँ । केही नबोलीकन सुन्न थालेको थिएँ । टाढा भएर पनि स्पर्शानाभूति हुन थालेको थियो । समय रङ्गीन बनेर पठ्ठो बन्दै थियो । आकाशमा कालो बादलभित्र सूर्य पस्न थालेपछि उज्यालो छेकिँदै गएजस्तो हुन्छ । त्यतिखेरै प्रवेश गर्दै हुन्छु म छाप्रोको ढोकाभित्र ।

झन्कार, रेडियो नेपाल (२०५०)