जानुका गुरागाईं

वाग्मती प्रदेश संयोजक : जानुका गुरागाइँ

 

मूर्ख रहेछु म

चन्द्रप्रसाद न्याैपाने

छन्द:-शार्दूलविक्रीडित
गण: म स ज स त त गु
गण सङ्केत: SSS llS lSl llS SSI SS l S
विश्राम: छैठोँ र बाह्रौँ अक्षरमा

चन्द्रप्रसाद न्याैपाने

जान्ने लाग्दछु फेरि जान्दिनँ कुनै विद्वान् स्वयम् मर्छु म
ठान्ने गर्दछु फेरि जान्दछु भनी गल्ती नयाँ गर्छु म
जस्तो बुझ्दछु सत्य मान्दछु भने चढ्ने कहाँ झर्छु म
बाँकी के छ त जान्न जान्दछु र के स्वप्ना बनी टर्छु म

जानेको जति तर्कबाट यिनले जान्दै नजान्ने बुझे
ठानेको छु असत्य सत्य छ भने उल्टो मलाई बुझे
मैले घाम भने त सूर्य यिनले पानी भनेमा जल
उल्टो मात्र बगेछु आज भलमा बन्दै छु झन् झन् खल

जान्ने बन्छु भनेँ छ जान्नु किन ए ! जान्दै नजान्ने छ को ?
जान्दै जान्दिनँ भन्नु फेरि किन ए ! मान्दै नमान्ने छ को ?
जानेको उसले म जान्दिनँ सही जानेर मैले भने
तैँ झैँ मूर्खसिवाय भेटिनँ अरू यस्ताे उनैले भने

जान्दै जान्दिनँ फेरि भन्दछु भने जान्ने नजान्ने बने
जान्दै जान्दिनँ रे ! नभन्नु किन ए ! जान्दै नजान्ने भने
जान्ने नै हुँ नभन्नु फेरि किन ए ! जानेन उल्ले भने
मान्दै मान्दिनँ फेरि जान्दछु भने मानेन उल्ले भने ?

मात्रै काव्य थिएँ र भावुक थिएँ संसार हो कल्पना
आफै पत्थर मूर्ति हुन् किन कुँदूँ मेरा अलङ्कारमा
आस्थासाथ विवेक फल्दछ भने ढुङ्गा स्वयम् बन्दथेँ
उब्जानिम्ति म फुल्दथेँ फल बनी खाओ सबै भन्दथेँ

 

रहर

गङ्गा आचार्य सापकोटा

छन्द: शिखरिणी
गण: य म न स भ लघु गुरु
गण सङ्केत: iss sss iii iis sii is
विश्राम: छैठौँ र बाह्रौँ अक्षरमा

गङ्गा आचार्य सापकोटा

सदा श्रद्धा गर्दै कलमसँग नै रम्न म सकूँ
मिलोस् ऊर्जा यस्तो सरस कविता बुन्न म सकूँ
जगाऊँ ती सारा रहर सपना नित्य मनमा
डुबोस् आत्मा मेरो अमृतमय यो काव्य रसमा।

उखेल्दै फाल्दै ती हृदयदहका दोष र भय
समेट्दै जाऊँ यी मन मगजले दिव्य विषय
रमाऊँ लेखेरै निशिदिन मनोद्वेग गतिमा
बनूँ ध्यानी ज्ञानी विषयगतको आत्मरतिमा।

समस्या बाधामा विचलित नभै धैर्य म गरूँ
सहारा आशाको हरदम लिई कर्म म गरूँ
धपाऊँ अप्ठ्यारा सुख दुख बुझी
आत्मबलले
इरादा होस् त्यस्तो कलुष कटुता फ्याँक्छ जसले।

छ आफ्नै वासन्ती हरितिपनको उर्वर मन
छ आफैँमा ऊर्जा नवरस दिने पौरख पन
सजाऊँ नङ्ग्रामा हरदम नयाँ शिल्प रचना
म पोखूँ माटामा तन वदनका दिव्य पसिना ।

कला बाँच्ने सिक्दै कहरसँग सङ्घर्ष म गरूँ
बनी ज्योत्स्ना जस्तै अनवरत मुस्कान म छरूँ
बनाऊँ स्रस्टाको परिचय दिगो भाव पथमा
डुबोस् आत्मा मेरो अमृतमय यो काव्य रसमा।

बागलुङ, हाल:काठमाडौं

 

नव सिर्जना

शम्भुप्रसाद गजुरेल (कुनाघरे काहिंलो)

छन्द:इन्द्रबज्रा
गण: त त ज गु गु
गड सङ्केत: ss। ss। ।s। s s
विश्राम: पाँचौ अक्षरमा

शम्भुप्रसाद गजुरेल

देखिन्छ उस्तै रविको प्रकाश
चम्किन्छ झन् आलय खास खास
छन् धुम्म बस्ती कुहिरो धुवाँले
पारौँ उज्यालो नव सिर्जनाले ।

फुल्छन् बिहानी जब कोपिला भै
बोल्छन् भँगेरा पनि कोकिला झैँ
आशा सिँगार्ने लत पालुवाको
बेला सुनौलो नव सिर्जनाको ।

छन् दूर जल्दै दिलका पियारा
बत्ती बलेका घर छन् अध्यारा
मिथ्या न आओस् कृत सिर्जनामा
सन्ध्या न आओस् अब सिर्जनामा ।

थापेर झोली निहुरेर आधा
भर्ने नपालौँ मनमा इरादा
खोँचे नथापौँ अब कल्पनामा
पैरो न जाओस् नव सिर्जनामा ।

होस् सुस्त चल्ने मदमस्त वायु
ल्याओस् सबैको भरिपूर्ण आयु
चोके फुकाल्ने बल होस् फुदामा
आँधी न आओस् तर सिर्जनामा ।

बेलकोटगढी न.पा.वडा नं. ९, नुवाकोट

अमूल्य भाउ

कविराज घिमिरे

छन्द:मालभारिणी
गण:स स ज गु गु १/३
स भ र य २/४
iis iis, isi s s-१/३ (यति ६)
iis sii s,is iss-२/४ (यति ७)

कविराज घिमिरे

तनमा शुभ होस् कुभाव भागोस्
मनको सारथिमा सुबुद्धि छाओस्
तब हुन्छ यहाँ अमूल्य भाउ
अब जाऊ करले बिडा उठाऊ ।


मनले धनको हरोस् कुबाटो
सपना या विपना बनोस् सुबाटो
तब हुन्छ यहाँ सुखान्त चाल
ननिका कर्म हटुन् समग्र जाल ।

चल नैतिकमा सप्रेम साथ
न रहुन् दुष्ट कतै नहुन् अनाथ
यसरी दरियोस् अमूल्य भाउ
हितका लागि सधैँ सुधा चिताऊ ।

रिस राग बढे हुँदैन भाउ
बन सन्तोष खुसी सधैँ रमाऊ
गर कर्म ठुलो सपार बुद्धि
अनि मिल्नेछ बडो स्वयम् प्रसिद्धि ।

अब चित्त खुलोस् मिठासलागि
बन योगीसरिको कुकर्म त्यागी
भन के छ अरू अमूल्य भाउ
सुख हो यो नरको भनी चिनाऊ ।

लेख्छन् सबैले कविता र गाना
चोर्छन् कसैले पर भोज्य खाना
दौडेर हिड्दा पटमूर्ख तामा
डाका नलागोस् प्रिय सिर्जनामा ।

आगो र पानी रहदैन साथ
बत्ती र हावा बुझ शत्रु जात
लाग्ला खडेरी मरुको कुनामा
सुख्खा नलागोस् बुझ सिर्जनामा ।

भक्तपुर

 

यो देश नेपाल हो

धरणीधर गुरागाईं

छन्द:- शार्दूलविक्रीडित
गण: म स ज स त त गु
गण सङ्केत: SSS llS lSl llS, SSI SS l S
विश्राम: छैठोँ र बाह्रौँ अक्षरमा

धरणीधर गुरागाईं

नाप्ने हो परिमाणमा यदि भने नेपाल कत्रो छ र ?
आँखाले गुण मात्र जाँच्दछ भने नापेर जाँचिन्छ र ?
हीरा हो किन चाहियो अधिक झन् उर्जा बिनाको स्थल
राख्दा कीर्ति हिमालले पनि सदा मानिन्न के अब्बल?

माने हुन्छ पवित्र यो मुलुकको ठान्दा तपस्या स्थल
ठाने हुन्छ विचित्र चित्र सब जो चिन्दा कला कौशल
माग्दा मिल्छ कहाँ उसै भुवनमा अस्तित्व के दामले ?
हाम्रो देश चिनिन्छ विश्वभरमा नेपालको नामले

भाषामा छ सदा स्वदेश जहिल्यै धेरै हुनाले धनी
भाषा भोजपुरी यहीँ छ अवधी बोल्छन् कतै मैथिली
बोल्नेछन् अझ देशमा पनि खुबै नेपाल भाषा अनि
नेपाली सब बोल्दछन् सहज नै साझा हुनाले पनि

हाम्रो देश विशाल छैन त्यसरी आकारमा केवल
माने यो सुन हो चिने अकबरी चिन्दैन ता पित्तल
मान्दा मात्र महत्व हुन्छ जब त्यो श्रीखण्ड मान्यो भने
ठान्दैनन् तब दाउरो सदृश हो ठान्यो बिँडै हो भने

हाम्रो माथ हिमाल हो मुलुकको हो सान नेपालको
हाम्रो गाथा पहाड हो अटल यो आस्था र विश्वासको
टेक्ने भूमि मधेसमा पदहरू हाम्रै तराई न हो
सारा सङ्गमको सुयोग्य स्थल नै” यो देश नेपाल हो”

मेचीनगर नपा- ९ धुलाबारी, झापा
हाल: काठमाडौ

सुन्दर गीत गाऔँ

शान्ति सिग्देल

छन्द:उपजाति
छन्दःउपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)
गणः त त ज गुरु गुरु
ज त ज गुरु गुरु
विश्रामः पाँच अक्षरमा

शान्ति सिग्देल

यो सृष्टिको फूल समान राम्रो
पारी उज्यालो मन नित्य हाम्रो
धुलो धराको शिरमाथि लाऔँ
स्वदेशको सुन्दर गीत गाऔँ।

सामर्थ्यको झल्मल यो दियालो
बालौँ र पारौँ मनमा उज्यालो
आदर्श मानी मुटुमा सजाऔँ
स्वदेशको सु्न्दर गीत गाऔँ।

स्वदेश प्यारो छ शरीर भन्दा
बिहानको स्वर्णिम घाम बन्दा
हिमाल जस्तै अझ मुस्कुराऔँ
स्वदेशको सुन्दर गीत गाऔँ ।

सम्भावना या सपना नयाँ छन्
सत्सिर्जना या रचना नयाँ छन्
उठेर आफैँ धरती उठाऔँ
स्वदेशको सुन्दर गीत गाऔँ ।

सत्कर्म वा उच्च विचारलाई
सम्मान गर्दै बहुतै रमाई
पाखा पखेरा भरिला बनाऔँ
मिलेर याे सुन्दर गीत गाऔँ ।

ठेगाना: किस्पाङ-५, नुवाकोट

 

म पुत्रलाई

उत्तमकुमार पाेखरेल

छन्द: इन्द्रवज्रा
गण: त त ज गु गु
गड सङ्केत: ss। ss। ।s। s s
विश्राम: पाँचौ अक्षरमा

उत्तमकुमार पाेखरेल

तिम्रै छ माया मुटुभित्र आमा
पुज्दै छु छाया दिनरात आमा
बग्दै छ मेरो तनभित्र रक्त
बस्नू नलीमा म बनू सशक्त ।

राख्याैँ चितामा हरिनाम गाई
दु:खी बन्यौँ है ममता गुमाई
जल्दै गयाे त्याे तन छैन साथ
आमाबिना शून्य छ सुप्रभात।

काे भन्छ आऊ रसिलो छ खाऊ
खेल्दै नबस्नू अब पढ्न जाऊ
धेरै नसुत्नू रवि उठ्न लागे
पञ्छी कराए सब जीव जागे।

यस्तै छ लीला बस वायु साथ
पुज्दै छु आमा अब झुक्छ माथ
के के बिराएँ कति कष्ट पायाै
माफी मिलोस् बालक सम्झना यो ।

बिर्सन्न आमा दिनबार बेला
भन्छन् भइस् बान्धवले अकेला
माग्दै छु माया शिर याे झुकाई
पाऊँ मिलोस् प्रेम म पुत्रलाई।

लहान-९ सिरहा
हाल: सूर्यविनायक-३, भक्तपुर

सप्तरङ्गी छन्दमाला शृङ्खलाका संयोजकहरू
१. कोशी प्रदेश – माधव पोख्रेल
२. मधेश प्रदेश – सरू बस्नेत
३. वाग्मती प्रदेश – जानुका गुरागाईं
४. गण्डकी प्रदेश –रमा खतिवडा
५. लुम्बिनी प्रदेश –स्वर्ण शिखा
६. कर्णाली प्रदेश –जागेश्वर नेपाल
७. सुदूरपश्चिम प्रदेश–कपिलकिशोर घिमिरे
८.मुलुकबाहिर – प्रभा पोखरेल “फूल”

सप्तरङ्गी छन्दमालामा प्रकाशनार्थ इमेलः
chhandamalasahityapost@gmail