फक्रेका वनफूल छन् रहरिला, माला नयाँ गाँस्नु छ ।
नौलो यौवनको मधूरस पिई, प्रिती यहाँ गाँस्नु छ।।
बाँच्दै जीवन व्यस्तताबिच यहाँ, हाँसो नयाँ हाँस्नु छ।
प्यारी! छन्द बनेर बस्नु, दिलमा काव्यै नयाँ लेख्नु छ।। १।।
तिम्रा दाडिमदन्तका लहरको प्रकाश टल्किन्छ झैँ ।
आभा दिव्य मुहारको मदनले उर्लेर छल्किन्छ झैँ ।।
मैले एक अथाह आगतविशे पक्कै पनि पस्नु छ।
प्यारी! मार्ग बनेर बस्नु दिलमा यात्रा नयाँ गर्नु छ ।।२।।
यो संसार विचित्रको छ र सखे! घट्छन् अनौठा कुरा ।
मान्छेमा प्रतिदिन् ऋणात्मक हुँदो मान्छे बनौने कुरा!!
भो सद्ज्ञान विलुप्त आज भवमा यै एउटा खोज्नु छ ।
प्यारी! शास्त्र बनेर बस्नु दिलमा अज्ञानता मास्नु छ।।३।।
मेरा हात बनून् सहायक कतै कोही सकस्मा परे।
मेरो सम्यक दृष्टि होस जगतका जीवात्ममाथी छरे ।।
यी कर्तव्यहरु सुगम् हुन सकून् दृष्टान्त यो साँच्नु छ ।
प्यारी! मर्म बनेर बस्नु दिलमा जीवन्त भै बाँच्नु छ।।४।।
यो माटो ममता दिने हिमचुली छानो दिने हेमन ।
हुन् हाम्रा इतिहास स्वर्णिम हुने ती बुद्धका देशन ।।
नेपाली भइ कर्ममा अमनको आचार अङ्गाल्नु छ ।
प्यारी! सत्य बनेर बस्नु दिलमा संस्कार सङ्गाल्नु छ ।।५।।
हिंसामा छलमा परेर वसुधा आक्रान्त छिन् दिन्दिन।
मान्छे ह्रिंसक भो भुलेर करुणा-आराधना छिन्छिन ।।
हत्या औ व्यभिचार, पाशविकताका श्रृङ्खला रोक्नु छ
प्यारी! शब्द बनेर बस्नु दिलमा मीठा कुरा बोल्नु छ।।६।।
मेरो चेतनले दिनेजति सबै आभास तिम्रै भयो ।
मैले सक्छु जती दिने हृदयको यो प्रेम तिम्रै भयो।
मायाले भवको भुषा चहकिने बुट्टा नयाँ भर्नु छ ।
प्यारी! प्रेम बनेर बस्नु दिलमा संसारमा छर्नु छ ।।७।।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।