फेब्रुवरी चौध
प्रेम रगतमा
प्राणसंगै पोखिएको दिन
सन्त भेलनटाइन दिवस !
बिहानी बेलाको हल्का चिसोमा
झयालबाट आवाज चिहाएँ
दोश्रो सताब्दीको बीच
फेब्रुवरी चौध
‘सन्त सहादत’
आवाज आइरह्यो।

‘फ्लेमेनियाको चिहानबाट’
रोम सेन्ट प्राक्स्ड चर्चमा घन्टी बज्यो
डब्लिनको ह्वाइट फियर स्ट्रिटतिर
वियोगको भ्वाइलिन बज्यो
शन्तको शहादत
कोलाहलमय मनोउद्वेग
मैले सुनेँ, सन्तका जन्जिर फुकालेको आवाज
सयौँ सिपाहीले ‘तिम्रो प्रेमको आवाज’
एकैसाथ चिच्च्याइरहे
प्रेम धुन बजिरह्यो।

क्लेडियस अब मर्ने छ
सन्त ध्वनि प्रेमको झरीले भिजेर
सातै महादेशका ‘प्रेमविहीन सिपाहीहरुको’
अरु बढी मनहरुबाट रसाउने छ
जीवन्त जुलियानाहरु
जेलबाट बन्धन र चिहानबाट आशा
अनि ‘तिम्रो भेलेण्टाइनबाट’ प्रेम।

‘जुनो फेब्रुवा’सँग मिसिएर
रगत रगत बन्ने छैन
रगत दुःख बन्ने छैन
रगत प्रेम बन्ने छ,
सम्राटको जेलबाट
जो सद्भाव र प्रेरणा बनेर पोखियो
युगौँसम्म पोखिइरहने छ।

भावनाको आकाशमा
पूर्वतिर दुइ तारा देखिए
एउटा तारा धर्तीमा पोखियो
मेनका धर्ति उर्बरायो
विश्वामित्रले प्रेम छरे
शकुन्तला र दुश्यन्त
कालिदासबाट फुलिरह्यो।

धर्ति उज्यालियो
प्रकाश प्रकाशमात्र बनेन
प्रकाश झनै चम्कियो
माया बनेर पोखियो।

बेल्जियम