१. पहिलो स्पर्श
म हिउँ थिएँ
तिम्रो पहिलो स्पर्शले म पानीपानी भएँ
झरनाझैं हुत्तिएर फाँटहरूमा पुगेँ
अचेल हिमालभन्दा पनि मधेस चिसो लाग्छ
अचेल पुसमाघको जाडोले पनि पोल्छ
जाडोले यसरी छाती छुन्छ कि
मुटु दुख्छ
तिमीले त्यसरी नछोएको भए
यो जाडोमा
म अझै बढी हिउँ हुन्थेँ होला ।
*****
२. तिमी गएदेखि
चिच्च्याउँ
शिर ठोकुँ भित्तामा
रगताम्य बनुँ
एउटा पागलझैं,
भुलेर सारा संसार
अनन्त यात्रामा निस्कुँ
बेहिसाब हिडुँ गल्लीगल्ली
यस्तै लागिरहन्छ
तिमी गएदेखि
मनभित्र भयङ्कर कोलाहल छ
बाहिर विशाल सन्नाटा छ,
तिमी गएदेखि ।
*****
३. यादहरूका भुमरी
अनन्त यात्रामा निस्केथेँ म
सागर भेट्न
अविराम बगिरहेथेँ
लहर लहरहरूसँग
छालहरूको गीत सुन्दै
किनारहरूसँग नाता गाँस्दै
एउटा
अनन्त यात्रामा निस्केथेँ म
जँघारमा तिमी भेटियौ
छालहरूलाई उतै कतै छाडेर
किनारहरूको मायाँ मारेर
तिमीलाई नै सबथोक मानेर
अर्को प्रेमिल,
यात्रामा निस्केथेँ म
तिमीले जब बाटो अन्तै मोड्यौ
मझधारमा मलाई छोड्यौ
अघि बढ्न दिँदैनन् अचेल
तिम्रा यादहरूका भुमरीले
फनफनी घुमाइरहेछन् तिम्रै वरिपरि
गन्तव्य भुलाएर
तिम्रा यादहरूका भुमरीले ।
*****
४. यादहरूका पहाड
जब म भाग्न खोज्छु
तिमीदेखि टाढाटाढा
तब मेरा खुट्टा समाएर
रोकेझैं लाग्छ,
तिम्रा यादहरूका छायाँले
जब म भुलेर सारा विगत
रमाउन चाहन्छु वर्तमानसँग
पुग्न चाहन्छु,
क्षितिजपारिको सुन्दरबस्तीसम्म
तब अगाडि आएर
छेकेझैं लाग्छ,
तिम्रा यादहरूका पहाडले ।
*****
५. मोतीका चम्किला यादहरू
डुबेर सागरको गहिराइमा सँगै
टिपेथ्यौं मोतीका दुईचार दाना
त्यही त थियो,
हामी दुईको पसिनाको पहिलो फल
राख्नु छ उनेर सम्झनाको धागोले
ती चम्किला मोतीका दुईचार दाना
बाँच्नु छ जिन्दगीभर
ती मोतीका चम्किला यादहरूसँगै ।
*****
लमही नगरपालिका -४ सेमरहवा,
दाङ देउखुरी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 









