यो जीवन–यात्रामा
जुन दिन मैले हजुरलाई पाएँ
हो, त्यसै दिन रोपेकी थिएँ मैले
यो विरुवा अर्थात् प्रेमवृक्ष !

जब म यो विरुवामा पानी हाल्थेँ
हजुरसँगको मेरो प्रेम
हुर्किंदै गएको अनुभूति हुन्थ्यो
गोडमेल गर्थेँ
जिन्दगी झन् झन् प्रेमिल बन्थ्यो
पातमा लागेका धुलोमैलो पुछ्दा
लाग्थ्यो–
स्पर्श गरिरहेछु हजुरको शरीर
त्यसै त्यसै रोमाञ्चित बन्थेँ म !

झाँङ्गिदै जाँदा गमलाको विरुवा
लाग्थ्यो–
फैलिइरहेछ हाम्रो सपनाको आयातन
ढकमक फुल्दा विरुवा
हजुर नै मुस्कुराएजस्तो आभास हुन्थ्यो
कोठाभरि हजुरकै यादको प्रकाश डुल्थ्यो !

सुस्तरी आएर मेरा केशराशि स्पर्श गरिजाने
बद्मास बतासका चञ्चलताहरू
पल पल आइरहने हजुरको गाढा याद
अहो !
जीवनका ऊर्जाहरू थिए
उमङ्गहरू थिए
प्रेमवृक्ष थियो
मेरो जीवनमा सबथोक थियो
मेरो जीवन प्रेमवृक्षझैँ थियो !

थाहै नपाई जिन्दगीको उत्तराद्र्धमा पुगेर
फुल्न छाडेपछि पे्रमवृक्ष
मैले बल्ल बुझेँ बैँसको सौन्दर्य
मैले बल्ल महसुस गरेँ प्रेमको शक्ति
र, ज्ञात भयो जीवनको चक्र !

आज मेरी सानी नातिनीले
जीवनहीन वृक्षसँगै रङ्गहीन गमला
कोठाबाट बाहिर सारेपछि
म निःशब्द भएकी छु
जीवनमा एउटा सन्नाटा छाएको छ !