कल्पना सुवेदी
धेरै वर्ष भएछ मायामा परेको
अलि अलि जालो पनि लागेछ
कता कता धुलो पनि बसेछ
अब समय भएछ
दिलको दराजबाट निकालेर
तिम्रो र मेरो मायाको किताब
बिस्तारै खोलेर
प्रेमका पानाहरू पल्टाउने
आहा कति राम्रो कभर पेज
अनि त्यसमा हामी दुईको तस्बिर
मानौँ एकअर्कामा डुबेर मर्न तयार
एकको मरण अर्काको नजरको इनार
मर्न पनि एक्लै नसक्ने
अचम्मको जोडी हाम्रो
‘प्रेम दिवस’ शीर्षकको यो किताब
सुम्सुम्याउँछु
र, फेरि पल्टाउछु जिन्दगीको अर्को पाना
जहाँ राता अक्षरमा लेखिएका छन्
ठुला ठुला विषयसूची
मानौँ दिल मसिदानी हो
अनि रगत मसी
जहाँ लेखिएका छन्
वर्षौंदेखिका सम्झनाहरू
यता उता दौडेका मेरा नजर
फुलदानीको रातो गुलाफमा पर्छन्
जो मस्तसँग लजाउँदै झुलिरहेका छन्
र, नजिकै छ
एउटा रातो पानबुट्टे चकलेट
लेखिएको छ सानो नोटमा
‘ह्याप्पी भ्यालेन्टाइन डे !’
भर्जिनिया, अमेरिका
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला