१) एउटा प्रेम–गीत

– ईश्वरवल्लभ

अब म अलिकति आराम गर्नेछु
बिहानपखका शून्यता र साँझको आकाशसित मेरो कुनै सम्बन्ध रहनेछैन,
तृष्णारहित तिनीहरुका सबै जीवनलाई वास्ता हुनेछैन,
केही क्षोभका र केही विश्वासका समर्पणलाई सच्याएर
केही बिग्रेका जस्ता रेखाहरुलाई पनि सच्याएर
कति युगदेखि थकाइ लागेको छ ।

हिँडिरहेका र गइरहेका यात्राको कुरा थाहा छ
अनुभूतिका अवयव जस्तै तिनीहरु जतातता छरिएका छन्
कति त घाउ पनि हुन् कति त आगोका फिलुङ्गा
तर, मेरी प्रियाले मलाई भनेकी छ—
आगो र घाउका कुरा नगर्नू— उसलाई मन पर्दैन,
त्यसैले अब म चुप लाग्ने गर्नेछु ।

घाउलाई फूल भन्नेछु
आगोलाई आस्था भन्नेछु
बाटोलाई जीवन भन्नेछु
मेरा संसर्गमा आएका यी खोलाका किनारहरुलाई
मैले राम्ररी सुम्सुम्याउन पाएको भए पनि हुन्थ्यो,
ऊ त, त्यही नौलो आकाश जस्तो हुन्थ्यो,
पश्चातापहीन, स्वप्नहीन
जुनैपनि मैले हिँडेर कजाएको गोरेटोलाई
मेरो स्पर्शको आभास हुनुपर्ने,
उसले भन्दैन
ऊ जान्दैन
ऊ अनुभव गर्दैन,
पहिलो दिनको रमाइलो भेट कति दिनपछि
न उसलाई सम्झना हुन्छ, न मलाई पनि,
पवित्रताको कथाहरुलाई किताबका बाहेक मैले कहीँ पढेको होइन,
हरेक धार्मिक किताबको पहिलो पन्नामा नै पवित्रताको पाठ छ,
बाघको आँखाले हेरेको जस्तो
तर्साउने भएर मसम्म अघि सर्छ, त्यो आँखा,
छेक्न खोज्छ सबै दिक् र दिशालाई,
मैले चाहेको सबै इच्छालाई उसले जाँच्छ,
अहिलेसम्म म धेरै नै परिक्षा गरिएको छु,
एउटा खुलेको मैदान जत्तिकै सबैले टेकिएको छ,
एउटा उत्तानो परेको नक्सा जत्तिकै सबैले हेरिएको छु,
एउटा खाली पन्ना जत्तिकै सबैले लेखिएको छु,
त्यो बाघको आँखा हो,
त्यसले हेरिरहेकोलाई फिलुङ्गा भन्नुहुँदैन,
त्यसमा पानी छ, मृत्यु छैन,
आगो छ भनेर पनि भन्नुहुँदैन,
(मेरी प्रियालाई त्यो मन पर्दैन)
मेरो सबै स्पर्शलाई सेलाउन लाउनेछु,
त्यो तातो हुन्जेल म उसलाई छुन पाउँदिनँ
बालुवाको बगरले वैशाखमा पोलेको जस्तो पोल्नेछ
पैताला र जीउहरु
तर यो आगोलाई, समुद्रमा फ्याँकिदिनेछु
एकान्तको सट्टा महान् कोलाहल
बनिरहेको स्वरको सट्टा भत्किरहेको कोलाहल,
बजिरहेको धूनको सट्टा आवाजैआवाजको कोलाहल
घाइते शहरको कोलाहल ।

म यी सबैको विरुद्ध एउटा क्रान्ति गर्न चाहन्छु
म शायद धोका दिन चाहनेछु तिमीलाई
र, अब त अलिकति आराम गर्नेछु ।

२) एउटा प्रेमपत्र

-वासु शशी

तिमीकहाँ आउने कुराको रूखको टुप्पोमा चढेर
एउटा बाँदरजस्तै मेरो मन टुक्रुक्क बसिरहेछ
परपरसम्म चियाएर ।
मेरा हातहरू छन्— मबाट उम्केर
तिमीलाई छुन आउन चाहन्छन्
छाउराले घर फर्केका मालिकको खुट्टा चाटेझैँ गरेर ।
अवश्य मेरो मन र हातको— मबाट अलग— तिमीसँग
एउटा अर्कै सम्बन्ध छ,
नरिवलभित्रको तरलजस्तो सम्बन्ध ।

वास्तवमा नदीका तीरैतीर लखेटालखेट गर्न जाने हौ भने
यही घाममै हो।
वास्तवमा तिमीलाई छुन जाने हो भने
यही जाडोमै हो।
(साँच्चै, मान्छेलाई छुनुजति सुखद
अरू क्यैहुन सक्दैन हगि ?)
तिमी पत्याउँछौ भने म पनि समयहरूको इनार–पिँधबाट
माथि उक्लिरहेछु—
एउटा समययुक्त स्थिति अर्थात् तिमीसँगको भेटसम्म पुग्न ।
एउटा लहर पानीबाट उत्रिन खोजिरहेछ
किनारैकिनार भागेर जान ।
तिमीले ठीक भनेका थियौ—
मानिस सबभन्दा बढ्ता मानिसकहीँ पुग्न चाहन्छ,
कसैकहाँ पुग्न नपर्ने भएको दिन
खुट्टा भाँचिनैपर्दैन तर हिँड्न नसकिने हुन्छ

तिमी पनि त पर्खिरहेकी हौली
त्यसैले जुन तारा जहाँ हुनुपर्ने हो त्यो त्यहीँ छ ।
एउटा बिरुवाले वसन्तलाई कुरेजस्तै कुरिरहेकी हौली
ठिङ्ग उभिएर, चारैतिर आफ्नो पहुँच फिँजाएर ।
तिमीले बताएकी थियौ—

मेरो छायाबाहेक तिमीमाथि पर्ने अरू कुनै छाया छैन,
मेरो साथबाहेक तिमीले बस्ने ठाउँ अरू कहीँ छैन ।
यो कल्पनाले मुग्ध भएर म ऐना हेर्छु—
अहो। लौ हेर, यसमा त तिम्रो अनुहार देखा परिरहेछ ।
यसमा मेरा म्वाइँको लाली लगाएका
मुस्कानजस्ता ओठहरू फरफराइरहेछन्,
मेरो दर्शनको गाजल लाएका आँखाहरू हाँसिरहेछन्।

मलाई सम्झना छ तिमीले गाएकी थियौ—
…सुगा वनमा बस्दा–बस्दा वनजस्तै हरियो भएछ,
…यो नदीबाट जति पानी झिकेपनि यसले आफूमा घाउ हुन दिँदैन,
…मानिस अन्धो हुन्छ— आँखा फुटेर होइन, अँध्यारोभएर होइन, सपना देख्न छोडेर,
…मानिस चिसो हुन्छ— आगो नपाएर होइन, सूर्य नभएर होइन, मानिसको न्यानोनपाएर,
…अरूलाई माया मार्नुजस्तो कुरूपता संसारमा अरू क्यै हुन सक्दैन

तिम्रो स्नेह आउनेछ, तिम्रोस्नेह आउनेछ तिमीकहाँ
त्यसरी नै जसरी मेरो देशका पर्वतहरूबाट हिउँ
पग्ली–पग्लीकन हामीकहाँसम्म आइपुग्छ ।
भएभरका फूलहरू बगैँचालाई फर्काएर,
आकाशको चन्द्रमा आकाशैलाई सुम्पेर
तिम्रो सम्पन्नता आउनेछ तिमीकहाँ हंसहरू एक बथान
पोखरीमा आएजस्तै।
र हामी फेरि कुदाकुद गर्नेछौँ अनकन्टार एकान्तहरूमा ।
र हामी फेरि तिर्खाले चुरचुर भएपछि
एकअर्काका अधर र जिब्रो चुस्नेछौँ।
तिमीकहाँ पुग्ने कुरा मेरो प्रत्येक पहिलो पाइलानजिकै बसिरहेछ
एउटा पाखामा घामनजिकै छायाजस्तै।
(जब–जब कसैको माया पाउँछु म
तब–तब मलाई बढ्ता बाँच्ने इच्छा लाग्न थाल्दछ ।)
फेरि हामी भन्नेछौँ—
मानिसले मानिसलाई मन पराउनुजस्तो सुन्दर अरू केही छैन,
मानिस र मानिसको सम्बन्धजस्तो मधुर
अरू केही हुन सक्दैन ।

 

३) साँची राखुँ जस्तो लाग्छ

– हरिभक्त कटुवाल

साँची राखुँ जस्तो लाग्छ गीतभरि तिमीलाई
बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई।

डर लाग्छ कतै भागी गइदिन्छौ भन्ने
थाहै नपाई पराइको भइदिन्छ्यौ भन्ने
सपनीमै पाए हुन्थ्यो नीदभरि तिमीलाई
बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई।

नयाँ नयाँ रूप तिमी जति जति हेर्यो
उति उति रसाउँछ हृदय यो मेरो
हार जति मेरो पेवा जीत जति तिमीलाई
बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई।

 

४) मेरी यारी ! मलाई एकदमै हतार छ

– भूपाल राई

जुलुसजस्तो जिन्दगी हाँकेर
हेर !
म तिम्रो ८४ लाख जुनिमा उपस्थित छु

तर माफ गर मलाई
म तिम्रो प्रेमको आरामदायी काउचमा बसेर
कुनै उत्तरजन्मको भविष्यवाणी
पर्खिरहन सक्दिन
मलाई अफसोच छ
किनभने मलाई एकदमै हतार छ

सय सय जुनिको तिम्रो भक्तिलहरी
कुनै धुरन्धुर वस्तादको स्वरमा गुन्जिए जस्तै
मेरो पनि जन्म जन्मान्तर हुने भए
म छुट्याउँने थिएँ एउटा जुनि गीतलाई
अर्को जुनि छुट्याउँथे दुखको सौन्दर्यलाई
छुट्याउथेँ तेस्रो जुनि मुक्तिको उज्यालोलाई
र अन्तिम जुनि तिम्रो प्रेमलाई

तर अफसोच छ
मलाई एकदमै हतार छ

सक्छौ ?
बन्द गर त्यो ८४ औँ योनिको लीला
च्यात दिमागबाट
आधा लेखेर पट्याइएको कागज
र माया गर – मेरो मायाको बिज्ञानलाई
कि सबथोक मायाको न्युटन सिद्धान्त
र प्रणय शास्त्रको आइन्स्टाइन सुत्र
मैले यहि जुनिमा परिक्षण गरिसक्नु छ
बाँचिन्जेल भूतका रसायन
र भविताका अणु परमाणुहरु
मैले यहि जिन्दगीले भोग्नु छ

धेरै गाँसहरु बैँशको हतारमा
या कुनै अनाशक्त हातमा
छाडेर हिडेको छु
म त्यो दिनको पनि भोको छु
धेरै सासहरु अर्काको ईच्छामा
अर्काकै छातिमा जो फेरेको छु
म त्यसको पनि भोको छु
सिङ्गै खोला धाएर मेट्न नचाहेको तिर्खा
सिङ्गै ब्रह्माण्ड पाएर चढ्न नसकेको चोमोलुङ्मा
यात्राको यस टाकुराबाट हेरिपठाउँछु
म त कहाँ हो….कहाँ
झर्दै झर्दै आइपुगेछु

अफसोच छ
मलाई साच्चिनै हतार छ

हतार हतारमै टिपेर हिड्नु छ
मैले जुलुसबाट एउटा जिन्दगी
बदल्नु छ एक पछि अर्को स्टेसन
छुट्नु छ रेल
र हतार हतारमै फेरि
हाँक्नु छ मैले अर्को जुलुस
पिउन नजानेर चोख्खै -बगि गएको खोला
चढ्न नसकेर झन झन अग्लिगएको चोमोलुङ्मा
र छाडेर हिडेका युगिन भोकहरु
जसलाई गालेर दुई थोपा पदार्थमा
जम्मै जम्मै क्षतिको हिसाब स्वरुप
मैले यहि जुनिमा रोइदिनु छ

यहि जुनिमा लेखिसक्नु पर्ने छ
मैले दुखको सौन्दर्यशास्त्र
ढलेका छन् आफ्नै आँसुको धरहरामुनी
अनाम गाथाका शिरहरु
तिनलाई कसैगरी उठाउनु छ
लड्नु छ सघन लडाई अँध्यारो पृथ्वीसंग
र हल्लाउँदै मुक्तिको उज्यालो ग्रहमा
तिम्रो प्रेमको गुलाफी रुमाल
यहि जुनिमा गाउँनु छ
मैले सय सय जुनिको गीत

बिस्वास छैन मलाई
कुनै अर्को अतिरिक्त जन्मको
हेर, एक दिनको मेरो एक डल्ला घाम
मेरै थाप्लोको क्षितिजबाट
अब उत्तरार्ध ढल्किसकेको छ
बिस्तारै साँझ पर्नै लागेको छ
र एकैछिन पछि तिमिलाई छाडेर
मैले फेरि घर फर्किनु छ
मेरी यारी !
त्यसैले मलाई हतार छ
मलाई एकदमै हतार छ .. ।

५) मलाई पनि तिम्रो सम्झना आउँछ

– मनोज बोगटी

सम्झना आउनु, गाउँको अकासमा बेलाबखत हेलिकप्टर आउनुजस्तो होइन
सम्झना आउनु, धारावाहिकमा हरबखत विज्ञापन आउनुजस्तो होइन
सम्झना आउनु, हरेक फरवरी महिनामा भेलेन्टाइन डे आउनुजस्तो
होइन
सम्झना आउनु, धेरैवर्ष हराएको प्रेमीको
अचानक फोन आउनुजस्तो होइन
सम्झना आउनु त एउटा शक्तिशाली कविताको
अन्तिम हरफजस्तो तिखो कुरा हो
जसले घोचेपछि मानिस मुर्दाबाट मानिस बन्छन्
चोरबाट साधु
मानिसबाट देवता
जस्तो कि बन्छन्
अण्डाबाट बचेरा
बचेराबाट चरा।

सम्झना आउनु त
आत्याधिक गर्मीको दिन
सुकेको धारामा सानो धर्का पानी आउनुजस्तो हो।
हत्केलामा थापेको दुइचार गेँडाथोपालाई
भारी बोक्ने भाउजुले भारी बोक्ने दाजुको सुकेको जिब्रोमा
छुवाउनुजस्तो
असिम तृप्ति हो

सम्झना आउनु त
मलाई पनि तिम्रो सम्झना आउँछ-
-जब अन्तिम पात पनि चुँडिएर जान्छ फलेदोको हाँगाबाट
उड्दैउड्दैउड्दै
बतासको हात समातेर कतै।
-जब कुनै एउटा ध्वान्द्रो भेटेपछि
बोलाउँछ आफ्नो परिवारलाई
धेरैदिनदेखि बराल्लिरहेको त्यो एक्लो मौरी
र खुब भुनभुनाउँछ भुन भुन भुन जीवनको गीत
मलाई पनि तिम्रो सम्झना आउँछ।

-जब गुँडबाट निस्किएर
पहिलोपल्ट कुनै हाँगामा फुत्रुक्क उफ्रन्छ
जुरेलीको बचेरा र खुब नाच्छ सफलताको त्यो रकगीतमा
चिरचिर फुत्रुक्क चिरचिर फुत्रुक्क
मलाई पनि तिम्रो सम्झना आउँछ।

-जब पहिलोपल्ट लेख्छ प्रेमपत्रमा
सबैबाट लुकाएको त्यो प्रेमिकाको प्रिय नाम
कुनै दुरदराजको गाउँले नायकले
र लजाउँछ आफ्नै सपनासित।
आफ्नो मनको कुरा शब्दले बोक्न नसकेपछि
जब च्यात्छ त्यो चिट्ठी
र एक्लै छाम्छ आफ्नो ढुकढुकिएको मुटु
मलाई पनि तम्रो सम्झना आउँछ।

तराईतिर कतै ला….मो सरलरेखाजस्तो हाइवे देखेँ भने
मलाई तिम्रो सिउँदोको सम्झना आउँछ।
अस्ताउन लागेको साँझको रक्तिम र ठूलो घाम देखेँभने
मलाई तिम्रो निधारको सम्झना आउँछ
निधारमा
ठिक सिउँदोमुनि अदबसित टल्किरहेको हो कि
मेरो बाटो छेक्न
चौकिदार बसिरहेको हो
त्यो बिन्दुलीको सम्झना आउँछ।
लालुपातेको फूलमा एकै थोपा पनि शीत देखेँभने
मलाई तिम्रो परेलीको सम्झना आउँछ
परेलीको टुप्पोटुप्पोमा लहलह फुलेका ती आँशुका
फुलहरूको सम्झना आउँछ।
कुनै अचर्चित कविको
कुनै पनि सुन्दर प्रेम कविता मात्र पनि पढेंछु भने
मलाई तिम्रा औंलाका स्पर्शहरूको सम्झना आउँछ
कतै हिमाल टल्किरहेको देखें भने
तिम्रो बलियो स्वाभिमानको सम्झना आउँछ
कतै झरना देखेंभने
तिम्रो मनको सम्झना आउँछ
कतै पैह्रो देखें भने पनि
तिम्रै मनको सम्झना आउँछ
मलाई पनि तम्रो सम्झना आउँछ।
तर सम्झना आयो भनेर म
हातमा रक्सीको गिलास बोकेर गाउँदिन कुनै मन पोल्ने गजल
फेसबुक खोलेर पठाउँदिन कुनै पनि प्रेम डायललग
एकान्त खोजेर गर्दिन फोन
साँच्ची हो नानु
मलाई तिम्रो सम्झनामाथि दुर्व्यवहार गर्न मन पर्दैन
मलाई तिम्रो सम्झनाको वेइज्जत गर्न मन पर्दैन।
सम्झना आउनु, तिम्रो खस्रो अनुहारको निम्ति
कुनै नयाँ कम्पनीको दाम्मी क्रिम आउनुजस्तो होइन।
सम्झना आउनु, सस्तोमा आइफोन आउनुजस्तो होइन
सम्झना आउनु, बधैँचामा असिनापानी आउनुजस्तो होइन….
सम्झना आउनु
मौरीले मह राख्न बनाइरहेको चाकाको
त्यो पहिलो कोठाजस्तो हो
प्रेम कविताको
त्यो पहिलो हरफजस्तो हो
जुरेलीको बचेराको प्वाँखमा चढ्दै गइरहेको
त्यो वैंशजस्तो हो

यत्ति हो
मलाई पनि तिम्रो सम्झना आउँछ।

६) लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र

– पारिजात

१. जीवनसाथी!
धेरै-धेरै प्यार
मलाई लाग्छ, यी स्वतन्त्र उड्ने मलेवाहरूका घाँटीमा
एउटा ह्दय उनेर पठाऊँ
एउटा ह्दय जडेर पठाऊँ
एउटा प्रेमपत्र झुन्ड्याएर पठाऊँ
एकपल्ट दोहोर्याझऊँ
शताब्दीअघिको प्रेमको भावुकता
तर आजको सीमारेखा
कुन स्वतन्त्र चराले उड्न पायो र ?
यो कुँजिएको अस्तित्व
कुन सुस्केराले विश्वको हावामा बिसाउन पायो र ?

२. प्रिय!
हेर्नै नपाई आँखाबाट ओझेल भएका तिमीलाई
बोल्नै नपाई टाढा भएका तिमीलाई
मस्तिष्कमा उभ्याउने यथेष्ट साधन नै छैन
रकेटको उडानले कल्पनालाई ढिलो बनाइसकेछ क्यार
मानचित्र राखेर उड्दाउड्दै पनि
दुर्घटनामा परिदिन्छ मेरो आतुरता
अब म… अब म
सात समुद्र पार गरेर आउँदिनँ
तिमीलाई यहीँ म मेरै चौतारीमा हेर्छु
किनभने शरीरसँगै मेरो मस्तिष्क पनि सीमित भएको छ
ढुङ्गामा परिणिता गौतमीजस्तै

३. प्रिय!
प्रेम एक मृगतृष्णा
प्रेम एक चखेवाको लोभ
मेरा निम्ति प्रेम एक निर्जीव सत्य
मानौँ काकाकुलको तिर्खा
मानौँ घामलाई प्रेम गर्दागर्दै सूर्यास्तमा जाम परेको क्लिसो
यो नश्वर शरीर
यो अनन्त चाहना
तर, प्रेम दुई शरीरको मिलन
तिम्रो अँगालाभित्र म
मृत्युलाई छेकबार हालिरहेछ इच्छाको ताँती
प्रत्येक रात-
आह, म मेरा मीठा सपनाहरूलाई हेर्दै पोल्दै गर्दै छु ।

४. प्रिय!
तिमीले लेखेका थियौ
म तिम्रो वालेटको तस्बिरमा मुस्कुराउँछु रे
तिमी मलाई पाएर हराउन चाहन्नौ रे
मेरो सम्झनापत्रले तिमीलाई ‘फिनिक्स’ ले झैँ बिउँझाउँछ रे
मेरो माया तिमीलाई वटवृक्षको मायालु छाया रे
आह! यी सब इतिहासबद्ध भइसके
कसरी मैले बाँचेको थाहै नपाई
एक लामो अवधि बिताइसकेछु
अब तिमी अवश्य पाउनेछौ मलाई
‘फिनिक्स’ लाई झैँ आफ्नै खरानीमा जुनी फेरेको होइन
तर भन्नै नपाई मनको कुरा
सधैँ-सधैँका निम्ति सुतेको निद्रामा ।

५. प्रिय!
म मरिसकेँ
तिम्रो प्रेमलाई आफूसँग जलाइसकेँ, गाडिसकेँ
म सुतिसकेँ
सुत्नका निम्ति छँदैछ चिरनिद्रा
तर बाँच्ने तिमी त भोलि बिउँझन्छौ नयाँ घामसँगै
तिमी नरुनू सङ्घर्षलाई व्यङ्ग्य गर्दै
तिमी मान्छौ ?
कति बलियो थियो मेरो अन्त्य
जसले अनन्तको एक हिस्सा चोइट्याएर लग्यो
कति बलियो मेरो मृत्यु
जो अमरत्वलाई नै अधमरो बनाएर गयो
प्रेम मर्दैन तर यसलाई मार्नुपर्छ
मेरो अन्त्यजस्तै तिम्रो आरम्भ पनि बलियो हुनुपर्छ
अब यहाँ आउँछ यस पत्रको शेष
मेरो पत्रको शेष
तिम्रो ‘फिनिक्स’ को शेष
जीवनसाथी तिमीलाई
मेरो सबै प्यारको अवशेष ।

७) म तिम्री स्वास्नीलाई प्रेम गर्छु

– देवव्रत

एउटा ढुङ्गा थियो, एउटा देउता थियो
देउता ढुङ्गा भयो, ढुङ्गा देउता भयो
मान्छे मूर्ति, मूर्ति मान्छे
त्यस्तै कुनै अप्रासङ्गिक समयमा
भेट भएथ्यो तिम्री स्वास्नीसित ।

सिउँदोमा छर्किएर सौभाग्यको सुहाग
तिम्रो दीर्घायुको कामना गर्दै
मन्दिर गइरहेथिन् उनी,
ठीक त्यसैबेला
राँगा नारेर तिम्रो दैलोमा हाजिर भैसकेथेँ म
त्यतैकतै भेट भयो होला पहिलोपटक

आङैभरि निलडाम बोकेको एक उदास साँझ
भेरी किनारमा उभिइरहेकी उनलाई
सोधेको थिएँ- बग्दैबग्दै कहाँ जान्छ यो नदी?
जवाफमा भनेथिन्- मेरो आँखाको बाटो भएर कण्ठनेर गई रोकिन्छ।

कुनै एक काइ जमेको दिन
सखारै कर्णालीमा बगाएर छोरी
पुछिन् सिउँदो
खारेज गरिन् तिम्रो दीर्घायुको प्रार्थना
हिरासत कक्षमा कुनै अवसादबिना
दिइन् बयान- शान्तनुहरू त रोक्ने नै छन्
गंगाहरू रोकिनुहुन्न बगाउन आफ्ना सन्तानहरू ।

कुनै भत्किएको पर्खाल छेउ’छाउ’
देखेको थिएँ शरीरभरि कत्रिएका घाउ
आँखाभरि उर्लिएका तलाउ
मलाई त मन थियो त्यसैबेला
सुम्सुमाउन बर्खाले कुहिएका पैताला
आँट गरेर पुछिदिन आँशू तिम्री स्वास्नीका

सधैँ तिम्रो दैलोबाहिर उभिने म
आज तिम्री स्वास्नीसित
एकै छतमुनि छु
अब कुनै भय छैन हृदयमा
तिम्रो नजरमा – वेश्या, अधर्मी, एक पाखण्डी
म‌ एक वेश्यालाई प्रेम गर्छु
म एक अधर्मी पाखण्डी महिलालाई प्रेम गर्छु
म तिम्री स्वास्नीलाई प्रेम गर्छु
संसारले दुत्कारिरहँदा
म अँगाल्न चाहन्छु तिम्री स्वास्नीलाई ।