सुरेन्द्र शाही “गुलाब कान्छो”

१.
आँखाभरि आँसु भरेर प्रेम दिवस मनाउनु छैन।
गुलाबको हत्या गरेर प्रेम दिवस मनाउनु छैन।।
प्रेम दिवस जस्तै लाग्छन् मेरालागि त हरेक दिन,
कसैलाई भ्रम छरेर प्रेम दिवस मनाउनु छैन।।

२.
मायाप्रेमसँगै आपसमा ध्यान दिन सक्नु पर्छ।
समाजमा घुली अझै राम्रो ज्ञान दिन सक्नु पर्छ।।
दैनिक आइरहन्छन् यस्ता तमाम दिवसहरू,
दुई मुटु एकै बनाएर ज्यान दिन सक्नु पर्छ।।

३.
सावधान हुनु प्रेम दिवसमा नाटकेहरूबाट।
लुटिन सक्छ हेर्दाहेर्दै अस्तित्व पटकेहरूबाट।।
यौवनका ठिठा र ठिटीहरू जोगाऊ इज्जत आफैँ,
नानाथरी जाल बुन्ने फटाहा र चटकेहरूबाट।।

४.
जीवन भर साथ दिने प्रेमप्रेमी खोज्नु शुभकामना।
धेरै हुन्छन् गमलामा एउटै फूल रोज्नु शुभकामना।।
नछुटियोस् माया मुनामदनको जस्तै जोडिएर फेरि,
अथाह गर्नु मायाप्रेम बन्नु लैलामोज्नु शुभकामना।।

बाजुरा