पारू पाण्डे

अवाक् त्यो क्षण थियो
असाधारण र, खास थियो
अनपेक्षित मेरो उपस्थितिको
मिठो असमन्जस पन्छाउन सायद
दौडिरहेथे तिम्रा नयनहरू घरिघरि
झ्यालबाहिर फक्रिरहेका
सेता-राता गुलाबहरूमा !

उदाउँदो सूर्यले चम्केको अनुहारमा
असहजता लुकाउॅंदै अलि संकोच
मन्द मुस्काइरहेका ओठ
र, सँगै यात्रा गर्ने योजनाको
सुमधुर पर्खाइले द्रविभूत मन
प्रष्ट छचल्किरहेथ्यो गुलाबी कानहरूमा !

यस्तो थियो तिम्रो र मेरो पहिलो भेट
अलौकिक अनुभूति थियो
मनले मन छोएको थियो
लाजले हो या पुसे हुस्सुको तोडले कुन्नी
तिमी ‘रातो’ भएकी थियौ गुलाबजस्तै !

मान्छेहरूको उपस्थिति
न तिमीलाई पत्तो थियो
न मलाई वास्ता थियो
यात्रीहरूको भिड पनि
हाम्रा लागि एकान्त थियो

अनुभव नै त सर्वश्व रहेछ
लागिरहेथ्यो, सारा ब्रह्माण्ड तरंगित थियो
बिना शब्द तिमी गाइरह्यौ
बिना चाल म नाचिरहेँ
हाम्रा मुटुहरू केही दूरीमा बेतोड
रोमाञ्च प्रक्षेप गरिरहे

त्यो पल हामीले एकअर्कालाई
नजानेरै स्वर्ग रचिरह्यौँ
नहेरेरै एकअर्कालाई
नछोएरै तनको आवरणलाई
विदित भइरह्यौँ आत्मीय अनुभवको
सम्हालिरह्यौं
सम्हालिंदै पोखिइरह्यौँ !