प्रेम दिवस

न तिमीसँग साँचो थियो
न तिमीले ढोकाको घण्टी बजायौ
न त जुत्ताको आवाज आयो
एकैचोटि घरभित्र तिमी आयौ

फेरि त्यत्रो अपराध गरेर पनि
नडराई मसँग आँखा जुधायौ, अनि
अनगिन्ती बेथा बोकेका ती आँखा
नबोली नै बुझेँ मैले, मनका तिम्रा सबै भाका

तिम्रा अपराधको लेखाजोखा राख्दै थिएँ
तिम्रा ती ढुकढुकीले बीचमै हिसाब सबै भुलाइदिए
अनि पो थाहा पाएँ,
तिमी त मेरो मनभित्रै आइसक्यौ

मेरो जीवनलाई सार्थक पनि तिमी आएर बनाएछौ ।

उत्तर

जीवन सरल हुँदो हो
सबै प्रश्नका उत्तर भैदिए
तर बाँच्न मजा त कौतुहलतामै रहेछ

तिम्रो माया कति छ होला है ?
नजानेकै उचित रहेछ

प्रेम जोख्ने यन्त्र नबनेकै बेस भएछ
हार्न मलाई पटक्कै मन छैन
अनि तिम्रो माया कम पनि स्वीकार्य छैन
त्यसैले त भन्छु,
सबै प्रश्नको उत्तर नभएकै सही रहेछ ।